बालेनज्यूले विकृत अभिव्यक्ति दिने छुट कतिञ्जेल पाइरहने?

अनिता लामा

काठमाडौं

काठमाडौँ महानगर मेयरज्यूको स्टन्ट र मेयर्स फोरम पाँचौ बैठकको सत्यतथ्य!

काठमाडौँ महानगरका मेयरज्यू समयमै बैठकमा आउनुभयो। बैठकमा सबैको आसनग्रहणपछि स्वागत मन्तव्य बैठक आयोजना गर्ने बूढानीलकण्ठ नगरपालिकाको तर्फबाट मैले राखेँ। त्यसपछि राष्ट्रिय गान गाइयो। त्यसपछि फोरमका अध्यक्षज्यू ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनज्यूले बैठकको एजेण्डा प्रस्तुत गर्नका लागि सहजकर्तातर्फ रूलिङ गर्नुभयो। त्यतिबेलै काठमाडौँ महानगरका प्रमुख बालेन्द्र साहज्यूले ‘एकछिन एकछिन’ भनेर हात उठाउनुभयो।

बैठकका अध्यक्षज्यूले ‘एजेण्डामाथि जाउँ अनि त्यसमाथि व्यापक छलफल गरौँ’ भन्ने प्रस्ताव राखिरहनुभएको बेलामै काठमाडौँ महानगरका प्रमुखज्यू जुरूक्क उठ्नुभयो र ‘मैले बोल्न नपाउने’ भन्नुभयो। बैठकका अध्यक्षज्यूले ‘मेयर फोरमको सचिवालयले एजेण्डा निर्धारण गरेको र पहिला एजेण्डामाथि नै प्रवेश गरौँ त्यसपछि बोल्ने हो, बोल्न नदिने भनेकै छैन’ भन्नुभयो। लगत्तै काठमाडौँ महानगरका मेयरज्यू बोल्न नदिने भन्दै छिटोछिटो बैठक हलबाट बाहिरिनुभयो।

बैठक एजेण्डामा प्रवेश भयो। नेपवेष्टले आफ्नो प्रस्तुति दिएपछि घनिभूत छलफल भयो। सबै प्रमुख, उपप्रमुखले नेपवेष्टको आधिकारिकता, त्यसमाथि उठिरहेको आशंका, प्रश्न र योजना कार्यान्वयनको विश्वसनीयता, लगानी आदिमाथि धेरै प्रश्नहरू गर्नुभयो। नेपवेष्टमाथि सबै पालिकाका प्रतिनिधिले यस्तरी सिधैं प्रश्न एवम् प्रस्तुति गरी अन्तरक्रिया गर्न पाएको यही अवसर रहेछ।

नेपवेष्ट भने काठमाडौँ महानगरसँगको समन्वयमा मात्रै आफूलाई निर्धारण गरिरहेको रहेछ। नेपवेष्टले पनि बिस्तृत रूपमा काठमाडौँ उपत्यकाभरिका सबै पालिकामा आफ्नो कुरा राख्ने एकपटक अवसर खोजेको रहेछ। त्यहीँ त्यही बेलामा हामी धेरैले यो कुराको विषयमा जानकारी पायौँ।

बैठकमा प्रस्तुति र प्रश्नहरू मात्रै भयो, निर्णय सिफारिस केही गरिएको छैन। १३ वर्षसम्म अल्झिएको जटिलताको विषयमा सुसूचित मात्रै हुने काम भयो।

तर, मेयर बालेन्द्र साहज्यूले यो बैठकको विषयलाई लिएर दिनुभएको आपत्तिजनक अभिव्यक्तिप्रति उक्त बैठकको मात्र साक्षी एवम् जिम्मेवार सदस्यको हैसियतले खेद प्रकट गर्दछु। बैठकको न्यूनतम मर्यादा पालना नगर्ने, गर्नै नपर्ने अवस्था सिर्जना गरिदिई ‘सबै चोर, देश बेचुवा, काठमाडौँ बिक्रीमा छैन’जस्तो विकृत अभिव्यक्ति दिने छुट उहाँले कतिञ्जेल पाइरहने?

नेपवेष्टसँगको विषय टुङ्ग्याउन स्वयम् काठमाडौँ महानगर बढी जिम्मेवार हुनुपर्ने बुझियो। तर, महानगर प्रमुखज्यूको यस्तो अराजक गैरजिम्मेवार स्टन्ट मात्रै कतिञ्जेल हेरिरहने, सुनिरहने?

(लामा बूढानीलकण्ठ नगरपालिकाकी उपमेयर हुन्।)

प्रकाशित मिति: : 2023-11-02 14:23:00

प्रतिकृया दिनुहोस्