तनहुँकी गौली शिक्षण छोडेर ‘ड्रागन खेती’ मा

file photo
file photo

व्यास नगरपालिका–२ कालिका मार्ग निवासी कल्पना गौली १६ वर्ष शिक्षण पेसामा लागिन्। उनीसँग प्राविदेखि मावि तहसम्म अङ्ग्रेजी विषयमा अध्यापन गराएको अनुभव छ। गौलीले अध्यापनपछि घरमै बुटिक व्यवसाय सुरु गरिन्।

करिब १५ वर्षसम्म बुटिक व्यवसाय गरिसकेकी गौली यतिबेला भने व्यावसायिक कृषि पेसामा संलग्न भएका छन्। उनले व्यास नगरपालिका–५ ढोडेनीमा ‘ड्रागन फ्रुट’को खेती सुरु गरिन्।

प्रकृति र माटोसँग रमाउन र यही क्षेत्रलाई साधान केन्द्रको रुपमा स्थापित गराउन आफू यस व्यवसायतर्फ लागेको किसान गौलीको भनाइ छ। वार्षिक रु २० हजार बुझाउने गरी करिब नौ रोपनी जग्गा २० वर्षका लागि भाडामा लिएर व्यवसाय थालिकी हुन्।
‘अहिले त व्यवसायीहरु फार्ममै आएर लैजानुहुन्छ, पहिले गाडीमा बजारसम्म लैजानु पर्ने अवस्था थियो’, उनले भनिन। उनले प्रतिकिलो रु पाँच सयदेखि रु छ सयसम्म ड्रागन फ्रुट बिक्री गर्दै आएका छन्।

गौलीले गत वर्ष भारतको हैदराबादबाट दुई हजार एक सय वटा ड्रागन फ्रुटका बिरुवा ल्याएर फार्ममा पाँच सय पोल निर्माण गरी एउटा पोलमा चार वटाका दरले ड्रागन बिरुवा लगाएको थियो। ‘करिब रु ८० लाखमध्ये रु ४२ लाख ५० हजार ड्रागन फ्रुटको खेतीमा लगानी गरेको छु’, उनले भनिन, ‘फार्ममा ड्रागन फ्रुटका साथै च्याउ, मौरी, फलफूललगायतका बहुआयामिक किसिमले खेती गरेको छु।’

गौलीले यस वर्ष रु तीन लाखभन्दा बढीको ड्रागनका बिरुवा बिक्री गरेकी छिन्। प्रतिबिरुवा रु दुई सयदेखि रु पाँच सयसम्म बिरुवा बिक्री गरेको उनले बताइन। ड्रागनका बिरुवा लिन तनहुँलगायत विभिन्न जिल्लाबाट मानिस आउने गरेको उनको भनाइ छ।

किसान गौलीले व्यास नगरपालिका–३ मा ‘व्यास कोसेली घर’ समेत सञ्चालन गर्दै आएका छन्। स्थानीयस्तरमा उत्पादित अर्गानिक तरकारी, घरेलु सामग्री, घरेलु कपडालगायत सामग्री उक्त कोसेली घरमा बिक्री गर्ने गरेको उनले बताइन।

प्रकाशित मिति: : 2023-11-03 16:56:00

प्रतिकृया दिनुहोस्