तस्बिर आफैं बोल्यो कि बोलेन काइँला?

तस्बिर आफैं बोल्छ ...!

आमसञ्चारमा आज चरम श्रव्य-दृश्य मात्र हैन, एनिमेसनको युग चलिरहेको छ, तैपनि दृश्य-युगको बोलवाला हुँदाको यो भनाइ आज पनि प्रचलित छ। यो भनाइ अर्को एक चिनियाँ भनाइमा आधारित छ। भनाइ यस्तो छ- हजार शब्दले पनि भन्न नसक्ने कुरा एउटा तस्बिरले भन्छ।

तरसधैंभरि त्यस्तो हुँदैन अर्थात् तस्बिर बोल्दैन। कहिलेकाँहि तस्बिर पोलिसेमिक अर्थात् धेरै अर्थ दिने गरी बोल्छ त कहिलेकाँहि यसलाई ब्याख्या गरेर बोलाउनुपर्ने हुन्छ। त्यसको ब्याख्याका लागि सोच र कोण भएर मात्र पुग्दैन, सन्दर्भ पनि आवश्यक हुन्छ। सन्दर्भ भने समय र स्थानले बनाउँछ।

एक आमसञ्चारको विद्यार्थी हुनुको नाता मलाई विभिन्न समय र सन्दर्भका तस्बिरले ध्यानाकृष्ट गरिरहन्छ। कहीँ त्यस्ता तस्बिर देखें भने डाउनलोड गरेर राख्छु। मेरो लोभ हुन्छ, कुनैबेला सन्दर्भ मिल्यो भने फोटो स्टोरी बनाउँला।

आमसञ्चारमा फोटो स्टोरी बनाउने दुई तरिका हुन्छन्। आकारका हिसाबले पिरामिड र उल्टो पिरामिडमा बनाइन्छ भने शैलीका हिसाबले हार्ड सेल र सफ्ट सेल। हार्ड सेल भनेको त्यो शैली हो जसले मनलाई हैन, मस्तिष्कलाई छुन्छ। त्यसमा धेरै तथ्य हुन्छन् र त्यो सिधा भाषामा लेखिन्छ। जबकि सफ्ट सेल शैलीमा मष्तिष्कलाई हैन, मनलाई छुने प्रयत्न गरिन्छ। यो उल्टो पिरामिड आकारमा हुन्छ।

धेरै पहिले मैले यो तस्बिर डाउनलोड गरेको थिएँ। म त्यतिबेला कुन सन्दर्भमा बाँचिरहेका थिएँ, अहिले मैले बिर्सिए। तर, तस्बिरले मन छोएको हुनुपर्छ। अन्यथा मष्तिष्कमा छोएर चल्ने मान्छे हैन म।

आँखाले हेर्दा तस्बिरमा माथि अर्नल्डको प्रतिमा छ भने तल स्वयम् अर्नल्ड एउटा स्लिपिङ ब्यागमा सुतिरहेका छन्। अर्नल्ड स्वर्जनगर कुनैबेला संसारकै सबैभन्दा बलिया मान्छे मानिन्थे। अष्ट्रियनमूलका अमेरिकी उनी हलिउड स्टार हुन्। पछि राजनीतिमा प्रवेश गरेर सन् २००३ देखि २०११ सम्म क्यालिफोर्निया राज्यका गभर्नर पनि भए। उनै अर्नल्ड गभर्नर हुँदा एक होटलले बनाएको प्रतिमा हो, यो जसको उद्घाटन पनि उनी स्वयम्ले गरेका थिए। त्यतिबेला होटलले घोषणा गरेको थियो- अर्नल्डले चाहेको बेला जीवनभर होटलमा नि:शुल्क खान र बस्न पाउने छन्।

यो हार्डसेल फोटो स्टोरी हो। तर, यसको सफ्टसेल स्टोरी मन छुने छ।

गर्भनरबाट अवकाश लिएपछि एकदिन उनी त्यो होटलमा बस्नु पर्‍याे भनेर गए। तरजब उनी त्यहाँ बस्न आएको बताएहोटलको कर्मचारीले भन्यो- त्यो तपाईं गभर्नर हुँदाको कुरा हो, अहिले तपाईं त्यहाँ हुनुहुन्न। त्यसैले त्यतिबेलाको कुरा म जान्दिनँ। बस्ने भए सबै शुल्क तिरेर बस्नुहोस्।

यो सुनेर अर्नल्ड अचम्भित भए र दु:ख पनि माने। त्यसपछि एउटा स्लिपिङ ब्याग लिएर उनी त्यो आफ्नै प्रतिमामुनि गएर सुते। उनलाई प्रश्न गरियो- अर्नल्ड तपाईंले यो के गर्नु भएको हो?

मेरी आमा भन्छिन्, 'जन्मिदा लगाउने भोटो र मर्दा बाँध्ने कात्रो दुवैमा गोजी हुँदैन, काइँला। गोजी नै नभएपछि आउँदा के ल्याइस र जाँदा के लान्छस्?'आज राति सपनामा पनि आमा त्यही भनिरहेकी थिइन्। उठेर फोन गरेको, ज्वरो आएको रहेछ। सयमाथि ज्वरोको पारो चढेकी आमाले उल्टै भनिन्,'मलाई केही भएको छैन,आफ्नो ख्याल राख्नु।'

अर्नल्डले भने, म यसो गरेर संसारलाई एउटा सन्देश दिन चाहन्छु-

'धन-सम्पत्तिपद, शक्ति, प्रतिष्ठा तपाईंको साथमा हुञ्जेल दुनियाँ तपाईंको साथमा हुन्छम्याउँम्याउँ गर्छ। तपाईंका गोडा मोल्छ, गोडा ढोग्छ। तर यी सबै कुरा अस्थायी हुन्, तपाईंसँग सधैंभरि रहदैनन्। सीमित समयका लागि मात्रै रहन्छन्। जब यी सबै केही समयपछि तपाईंबाट छुट्छन् अनि दुनियाँ पनि तपाईंबाट टाढा-टाढा हुँदै जान्छ। त्यही भएर पद, पैसा र शक्ति छ, भन्दैमा कहिल्यै घमण्ड गर्नु हुँदैन। यी सबै अस्थायी हुन्। तपाईं बर्तमानमा जे हुनुहुन्छसधैं त्यो रहनुहुन्न। त्यही भएर सबैलाई सम्मान गरेर मिलेर बाचौँसकेको सहयोग गरौं।' 

अर्नल्डले जे भने त्यो सबैले सोचेदेखि कति राम्रो हुन्थ्यो होला संसार। तर, के गर्ने हामी सबै यो सत्यलाई बिर्सन्छौँ र बर्तमानमा मात्र रमाउँछौं।

यो तस्बिर पछि विवादमा आयो। केहीले भने यो वास्तविक हैन, केहीले भने यो वास्तविक हो। अर्नल्डले यी दुवै भनेनन्। उनले यति भने, सन्देश सत्य हो।

यसको अर्थ स्पष्ट छ, हार्ड सेल स्टोरी सही नहोला। त्यो एउटा कुरा भयो। तर, यसको सफ्ट सेल स्टोरी भने सही हो।

अझै पनि हामी लेखिरहेकै हुन्छौँ- तस्बिर आफैं  बोल्छ। तर, अर्नल्डको यो तस्बिर वास्तविक हो कि काल्पनिक हो भनेर विवादमा आएपछि आमसञ्चारका केही पण्डितले भने, तस्बिर आफैं बोल्दैन, त्यसलाई बोली भरिदिनु पर्छ। त्यसका लागि त हामी भित्रको मान्छे बोल्नुपर्ने रहेछ।

मेरी आमा भन्छिन् - 'जन्मिँदा लगाउने भोटो र मर्दा बाँध्ने कात्रो दुवैमा गोजी हुँदैन, काइँला। यो कुरा सँधै दिमाखमा राख्नु। गोजी नै नभएपछि जाँदा के लान्छस् र?'

आज राति सपनामा पनि आमा त्यही भनिरहेकी थिइन्। उठेर फोन गरेको, ज्वरो आएको रहेछ। सयमाथि ज्वरोको पारो चढेकी आमाले उल्टै भनिन्, 'मलाई केही भएको छैन, आफ्नो ख्याल राख्नु ।'

०००

एकसय माथि उक्लेको ज्वरो बोकेर मेरी आमा अझै पनि तीन कोरी लाग्न लागेको मेरो चिन्ता गरिरहेकी छिन्। त्यसैले त म भन्छु, यो संसारमा दुईवटा मात्र सत्य छन्, आमा र मृत्यु। पहिलो सत्य मेरी आमा दोस्रो सत्य मृत्युबाट मलाई जोगाउन मेरो ख्याल गर्नु भनिरहेकी थिइन्। जब कि उनी आफैं दोस्रो सत्य जीर्ण शरीर लिएर मृत्युसँग पौठेजोरी खेलिरहेकी थिइन् ।

त्यसैले आमा महान हुन्छिन् । अपवाद बाहेक संसारका सबै आमा महान हुन्छन्।

एकछिन ऐँठन लाग्यो। त्यसपछि होशमा आएँ र अर्नल्डको तस्बिरको प्रसङ्गमा फर्केर आफैँलाई सोधें, तस्बिर आफैं बोल्यो कि बोलेन काइँला?

प्रकाशित मिति: : 2023-11-19 18:00:00

प्रतिकृया दिनुहोस्