कांग्रेस महासमिति सदस्य निर्वाचन अवैधानिक भएको भन्दै उजुरी 

महेश नेपाली

काठमाडौं

जुम्लामा कांग्रेस महासमिति सदस्य निर्वाचन अवैधानिक भएको भन्दै केन्द्रीय निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेकाे छ।

जुम्लाका महाधिवेशन प्रतिनिधि द्वय गाेविन्द बहादुर शाही र भक्त बहादुर रोकायाले केन्द्रीय निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका हुन्।

उनीहरुले अधिवक्ता विकाश शाही अधिकृत भएको महासमिति सदस्य चयन निर्वाचन समितिले नेपाली कांग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाहीकाे निर्देशनअनुसार काम गरेका आराेप लगाएका छन्।

'निर्वाचन समिति सभापति कर्णबहादुर शाहीले गठन गरेपछि कार्यवाहक सभापतिलाई जिम्मेवारी दिइएको थियो। तर कार्यवाहक सभापतिलाई समेत थाहा नदिएर निर्वाचन प्रक्रिया अगाडि बढेकाे देखिन्छ,' निवेदक गोविन्द बहादुर शाहीले भने।

केन्द्रीय निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिन पाउने प्रावधान भएपनि महासमिति सदस्य निर्वाचन अवैधानिक भएको भनेर स्वीकार गर्न नसकिने प्रदेश सभापति ललितजंग शाहीले बताए।

'याे विषयमा मैले भन्दा पनि निर्वाचन अधिकृतले नै जवाफ दिनुहाेला। मलाई एकलौटी गर्‍यो भन्ने आराेपको खण्डन गर्छु,' उनले भने, 'यो केन्द्रीय कार्यालयको निर्वाचन हो, प्रदेशको कार्यक्रम भए मेरो निर्देशनमा चल्ने कुरा हुन्थ्यो। निर्वाचन विधि र प्रक्रियाअनुसार नै भएको छ।'

यता निर्वाचन अधिकृत शाहीले निर्वाचन प्रक्रियामा त्रुटि नभएको र निवेदकलाई पार्टीले पाँच वर्षका लागि अनुशासनको कारबाही गरेको हुनाले उजुरीका आधारमा उम्मेदवारी रद्द गरिएको बताए।

'उहाँहरुले उम्मेदवारी दिनुभएको थियाे। उम्मेदवारीउपर उजुरी पनि परेको हो। उहाँहरुलाई सफाइ पाएको चिठी ल्याउन पनि भनेका हौँ,' उनले भने, 'अनुशासन समितिले कारबाही फुकुवा गरेको प्रमाण ल्याउनुपर्नेमा कार्यवाहक सभापतिले सफाई दिएकाे कागजात ल्याउनुभयाे। त्यही आधारमा उम्मेदवारी खारेज भयो।'

यता दुबै जना निवेदकले निर्वाचनका क्रममा असहयोग गरेको आराेपमा कारबाहीको लागि सिफारिस गरे पनि २०८० श्रावण २६ गते केन्द्रीय प्रतिनिधि महेन्द्र शर्माको उपस्थितिमा जिल्ला कार्य समितिले निर्णय गरी कारबाही फुकुवा गरेर केन्द्रीय अनुशासन समितिलाई समेत जानकारी गराइसकेको बताएका छन्। यस्ताे अवस्थामा महासमिति सदस्यमा उम्मेदवारी दिन पाउनुपर्ने उनीहरुको तर्क छ।

निवेदक शाही र रोकायाले कार्यवाहक सभापति कार्मा बुढाले निर्वाचन अधिकृतसँग बुझ्दा कर्णाली प्रदेशका सभापति ललित जगं शाही र पूर्व केन्द्रीय सदस्य दिनबन्धु श्रेष्ठसँग सल्लाह लिई निर्वाचन तालिका निकालेको भनि गैर जिम्मेवार जवाफ दिएको भनेर निरिहता प्रकट गरेको आराेप लगाएका छन्।

जुम्लामा नेपाली कांग्रेस महासमिति सदस्य निर्वाचन तालिकाअनुसार मंसिर दुई गतेबाट निर्वाचन सुरु भएर पाँच गते सम्पन्न भएको थियो। निर्वाचनबाट ललित जंग शाही, जयहरी आचार्य, दिनबन्धु श्रेष्ठ, गौरीनन्द आचार्य, लंक व शाही, दिल ब. महत, लक्ष्मी प्रसाद आचार्य, रामदेवि खड्का, भगवती श्रेष्ठ, पुन्नकली महतारा र श्रीकृष्ण कामी निर्वाचित भएको निर्वाचन अधिकृत शाहीले बताए।

प्रकाशित मिति: : 2023-11-21 17:43:00

प्रतिकृया दिनुहोस्