बेलुढुङ्गामा बढे पर्यटक

म्याग्दी र बागलुङको सिमानामा पर्ने पर्यटकीयस्थल बेलढुङ्गामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ। प्रचारप्रसार तथा पर्यटकीय पूर्वाधार बनेपछि बेलढुङ्गाको भ्रमणमा आउने पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको हो। बेनी नगरपालिका–३ भकिम्ली र बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेको सिमानामा अवस्थित बेलुढुङ्गा हिमशृङ्खला र ग्रामीण जनजिवनको अवलोकन गर्ने स्थल मानिन्छ। 
    
भकिम्ली र ओखलेका दुवै बस्तीबाट देउराली डाँडासम्म सडकको पहुँच पुगेको र त्यहाँबाट बेलढुङ्गाको ‘भ्यू पोइन्ट’सम्म चिटिक्कको पदमार्ग निर्माण भएपछि पर्यटकको आगमन बढ्दो क्रममा रहेको भकिम्लीका स्थानीय रत्न जिसीले बताए। 

उनका अनुसार, बेनी नगरपालिका र काठेखोला गाउँपालिकासँगै प्रदेश सरकारको साझेदारीमा बेलढुङ्गा पुग्ने सडक, प्रवेशद्वार, पदमार्ग र भ्यू पोइन्टलगायतका पूर्वाधार निर्माण भएपछि यो क्षेत्र थप चर्चा आएको हो। 

समुद्री सतहदेखि दुई हजार सातसय मिटर उचाइमा रहेको बेलढुङ्गाबाट देखिने सूर्योदय, दर्जन बढी हिमाल र ग्रामीणबस्ती जीवनशैली र भू–बनोटको अवलोकनका लागि आन्तरिक पर्यटकको आगमन उत्साहजनक रहेको भकिम्लीका स्थानीय पृथ्वीबहादुर पुनले बताए। यहाँबाट देखिने चुरेन, गुर्जा, धौलागिरि, मानामाथि, नीलगिरि साउथ, नीलगिरि नर्थ, अन्नपूर्ण प्रथम, तिलिचोपिक, बराहशिखर, माछापुच्छे«, गङ्गापूर्ण, लमजुङ हिमाल, मनास्लुलगायतका हिमाललाई एकैठाउँबाट अवलोकन गर्न सकिन्छ। 

    

प्रकाशित मिति: : 2023-11-29 15:41:00

प्रतिकृया दिनुहोस्