बिएल संवाददाता
नेपाली चलचित्र निर्माणको सङ्ख्यात्मक वृद्धि, बढ्दो लगानी तथा राम्रो पारिश्रमिकका कारण यस क्षेत्रमा नयाँ अनुहार देखिन थालेका छन्।
अभिनयलाई करियर बनाउन चाहनेको सङ्ख्या बढ्दो चलचित्रबाट थुप्रै नयाँ अनुहार भित्रिँदै छन्। डेढ दशक अघि मात्र नेपाली चलचित्रमा अभिनेता राजेश हमाल, निखिल उप्रेती, रेखा थापा, विराज भट्टलगायत कलाकारको दबाब थियो। उनीहरुको पोस्टर देख्दा मात्र दर्शक हलसम्म पुग्थे। यद्यपि कथ्य र निर्माण शैलीमा परिवर्तन आएसँगै नयाँपुस्ताको आगमन बढिरहेको छ।
प्रदीप खड्का, अनमोल केसी, सलिन मान बानियाँ, धीरज मगर, सुहाना थापा, अदिति बुढाथोकी, मिरुना मगर, उपासना सिंह ठकुरी, साम्राज्ञी राज्यलक्ष्मी शाहलाई नयाँ पुस्ताको कलाकार भनिन्छ। उनीहरु निर्माता तथा निर्देशकको रोजाइमा पर्ने गरेका छन्। उनीहरुको उपस्थितिले व्यापारमा पनि प्रभाव पर्ने गरेको देखिएको छ।
व्यावसायिक सुरक्षाका कारण प्राय निर्देशकको रोजाइमा स्थापित अनुहार पर्ने देखिए पनि केही नयाँ अनुहारले चलचित्रमा पाइला टेकिसकेका छन् भने केही तयारीमा छन्। ‘नाइँ नभन्नु ल–६’ बाट आशिर्वाद क्षेत्रीले डेब्यु गरे।
व्यावसायिक रुपमा उनको सुरुआत सफल नभए पनि सम्भावना बोकेको कलाकारको रुपमा हेरियो। यही मङ्सिरको अन्तिम साता प्रदर्शन हुने चलचित्र ‘दुई कदम’बाट दुई नयाँ अनुहार इओन लिम्बू र सिमोन गिरीले अभिनयको सुरुआत गर्दै छन्।
अभिनेता लिम्बू चलचित्रसम्बन्धी अध्ययन गराइने अस्कर इन्टरनेशनल कलेजमा ‘ब्याचलर इन सिनेमा स्टडिज’मा अन्तिम वर्षमा अध्ययनरत छन्। उनले आफू सपनालाई साकार गर्न पाउँदा उत्साहित रहेको बताए।
‘डर, उत्साह, खुसी एकैपटक महसुस गरिरहेको छु। अध्ययनको क्रममा प्राप्त गरेको सिकाइलाई प्रयोग गरेको छु’, अभिनेता लिम्बूले भने, ‘पहिलो दिन नै गीतको छायाङ्कन भएकाले नर्भस थिएँ। सम्पूर्ण टिमले सहजता दिलाएपछि काम गरेँ। प्राप्त गरेको अवसरलाई पूर्ण रुपमा प्रयोग गर्ने कोसिस गरेको छु।’
उदय सुब्बाको निर्देशनमा तयार भएको चलचित्रमा अभिनेता लिम्बू र अभिनेत्री गिरीसँगै सुनिल थापा, कविता आले, सुरवीर पण्डित, प्रेम सुब्बा, गौरव पहारी, वुद्धि तामाङ लगायतका कलाकारले अभिनय गरेका छन्।
आगामी पुस २७ गते प्रदर्शन घोषणा गरिएको ‘पर्खी बसेँं तिमीलाई’ मार्फत अभिनयमा रक्षा बुढाथोकी र किरण श्रेष्ठले सुरुआत गर्दै छन्। दीपक श्रेष्ठले निर्देशन गरेको चलचित्रमा युवापुस्ताको प्रेम र त्यसमा आउने उतारचढावलाई चित्रण गरिएको अभिनेत्री बुढाथोकीले बताइन्।
‘मैले चलचित्रमा रिमेक गरिएको कालो चस्मा बोलको गीतमा नृत्य गरेँ। बाल्यकालमा स्कुलमा धेरै पटक उक्त गीतमा प्रस्तुति दिएको थिएँ’, अभिनेत्री बुढाथोकीले भनिन्, ‘अभिनयमा रूचि हुनेलाई अहिले सहज भएको छ। हामीले आफ्नो सपनाको बारेमा खुलेर घरमा भन्न सकेका छौँ।’
पुसमै प्रदर्शन हुने चलचित्र ‘चित्रा’मार्फत सन्तोष अधिकारीले पनि अभिनय सुरू गरेका छन्। नेपाली चलचित्रको अन्य विधामा सक्रिय रहेका अधिकारीले आफू सुहाउँदो भूमिका पाएकै कारण नयाँ यात्राको सुरुआत गरेको बताए।
‘मैले इभेन्ट गर्नुका साथै केही चलचित्रको निर्माण समेत गरेँ। साङ्गीतिक श्रव्यदृश्यमा काम गरिसकेपछि मलाई चलचित्रमा प्रस्ताव आयो। सक्छु भन्ने लागेर अभिनय गरे’, अभिनेता अधिकारीले भने।
निर्माण शैलीमा परिवर्तन आएसँगै चलचित्र भवनमा नयाँपुस्ता दर्शक बनेर छिरेझैँ चलचित्रमा पनि नयाँ पुस्ताको आकर्षण देखिन्छ। यसमा कोही पढेर आएका छन् त कोही परेर। तर जसरी आए पनि कामले प्रभावित गर्न सक्दा नेपाली चलचित्र क्षेत्र र नयाँ कलाकार दुवैको भविष्य उज्जवल रहेको निर्देशक पुर्नेन्दु झाले बताए।
‘नयाँपुस्ताले चलचित्रको विभिन्न विधामा रुचि देखाउनु र अध्ययन गरेर आउनुले यस क्षेत्रको भविष्य उज्वल रहेको सङ्केत गर्छ। उनीहरुको सक्रियताले नेपाली चलचित्र अझै परिवर्तन हुनेमा विश्वस्त छु। सफल र असफल जे हुँदा पनि निरन्तरता भने दिनुपर्छ’, निर्देशक झाले भने।
पहिलो निर्देशकीय चलचित्रमा अभिनेता सौगात मल्ल, निखिल उप्रेतीजस्ता स्थापित कलाकारसँग काम गरेका निर्देशक झाले तेस्रो चलचित्रमा नयाँ कलाकारलाई अनुबन्धित गर्ने बताए। उनले चलचित्रमा नयाँ अनुहारको आवश्यकता रहेको बताए।
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया