टीका बस्नेतको ‘मार्क्सवाद र उत्तर आधुनिकतावाद’ लोकार्पण

पत्रकार लेखक टीकाबहादुर बस्नेतको ​मार्क्सवाद र उत्तर आधुनिकतावाद पुस्तकको एक समारोहबीच लोकार्पण गरिएको छ। शनिबार घोराहीमा आयोजित कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. यादवप्रकाश लामिछाने र बाम विश्लेषक रोशन जनकपुरीले पुस्तकको लोकार्पण गरे।

बिएन पुस्तक संसारका कार्यकारी निर्देशक सूर्य विसीको अध्यक्षता तथा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. लामिछानेको प्रमुख आतिथ्यता तथा बाम विश्लेषक रोशनको विशिष्ट आतिथ्यतामा पुस्तकको लोकार्पण गरिएको हो।

पुस्तकको लोकार्पण गर्दै उपकुलपति प्रा. डा. लामिछानेले लेखनमा समाज झल्किनुपर्ने बताए। मुलुकको परिवर्तनका लागि भूमिका खेलेका साहित्यकारहरु परिवर्तनलाई संस्थागत गर्न भूमिका खेल्नुपर्ने उनकाे भनाइ छ। ​मार्क्सवाद विश्वको उत्कृष्ट विचार धारा भएको भन्दै प्रा.डा. लामिछानेले यसैको आलोकमा विश्वमा थुप्रै परिवर्तन भएको बताए।

युवा पुस्तामा पठन संस्कृति हराउँदै गएको सन्दर्भ केलाउँदै लामिछानेले ​मार्क्सवाद र उत्तरआधुनिकतावाद पुस्तकले युवा पुस्तामा पठन संस्कृति विकास गराउनेमा विश्वास लिएको बताए। ‘युवा पुस्तामा पठन संस्कृति हराइरहेको सन्दर्भमा टीका जीले ​मार्क्सवादलाई सरल ढंगले बुझाउने गरी पुस्तक प्रकाशन गर्नुभएको छ। जो अत्यन्तै सह्राहनीय पक्ष हो’, लामिछानेले भने,  ‘लेखनीमा खडेरी उत्पन्न भइरहेको समयमा समालोचना विधामा टीका जीको प्रवेशले आशा दिलाएको छ। लेखनीमा निरन्तरता दिन म आग्रह गर्दछु।’

कार्यक्रममा बोल्दै बाम विश्लेषक जनकपुरीले ​मार्क्सवाद र उत्तरआधुनिकतावाद विपरित ध्रुवीय सिद्धान्त भएको बताए। उनले पुस्तकले सजिलै भ्रमहरु चिर्नेमा विश्वास ब्यक्त गरे।

उत्तरआधुनिकतापादी र उत्तर​मार्क्सवादीहरुले ​मार्क्सवादलाई कमजोर बनाउने अभिव्यक्ति दिने गरेकोतर्फ लक्षित हुँदै जनकपुरीले यसका विरुद्धमा ​मार्क्सवादीहरु एकजुट भएर लाग्नुपर्ने बताए।

पुस्तकको समीक्षा गर्दै राप्ती साहित्य परिषद्का अध्यक्ष डा. टीकाराम उदासीले समालोचना विधाको विकासमा बस्नेतको कृतिले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरे। समालोचनामा विधा चुनौतिको विधा भएको भन्दै उनले ​मार्क्सवाद र उत्तरआधुनिकतावाद पुस्तकका लेखक बस्नेतले समालोचकीय धर्म निर्वाह गरेको बताए।

उक्त अवसरमा दर्शनका अध्यता प्रमोद घितालले दर्शन र ​मार्क्सवाद बुझ्न चाहने पाठकका लागि उपयुक्त कृति ​मार्क्सवाद र उत्तरआधुनिकतावाद भएको बताए। कवि घनश्याम अस्तित्वले सहजीकरण गरेको कार्यक्रममा लेखक बस्नेतले लेखकीय मन्तव्य व्यक्त गरे।

प्रकाशित मिति: : 2024-01-27 21:57:00

प्रतिकृया दिनुहोस्