‘सिन्धुघाँटी सभ्यता नै बौद्ध सभ्यता हो’

रघु परियार

काठमाडाैँ

सिन्धुघाँटी सभ्यताका हडप्पा तथा मोहनजोदडो नगरलाई हेर्दा त्यहाँ बसोवासको क्षेत्र तथा धार्मिक क्षेत्र छुट्टाछुट्टै अवस्थित रहेको पाउँछौँ। कपिलवस्तुको बनावटलाई हेर्ने हो भने पनि हामी यस्तै पाउन सक्छौँ। बुद्धको घर गनवरिया क्षेत्रमा थियो भने पिपरहवामा धार्मिक क्षेत्र। जसलाई पुरातत्वविद्हरूले स्तूपक्षेत्र बताएका थिए।

सिन्धुघाँटी सभ्यताबाट प्राप्त पीपलको पातको चिन्ह र गौतम बुद्धले पीपलको बोटमुनि बुद्धत्त्व प्राप्त गर्नु संयोग मात्र हुन सक्दैन। धम्मचक्रको स्वरूप, स्वस्तिक चिन्ह, मूर्तिको पहिरन तथा प्राप्त लिपिसमेत बौद्ध सभ्यतासँग मिल्दो देख्न सकिन्छ। यसकारण सिन्धुघाँटी सभ्यता बौद्ध सभ्यता थियो भन्न सकिन्छ। अब प्रश्न खडा हुन सक्छ कि गौतम बुद्धको काल २६०० वर्षयता मात्र मानिन्छ। तर सिन्धु सभ्यता ५००० वर्षअघिको मानिन्छ। गौतम बुद्धभन्दा अघिको काल कसरी बौद्ध सभ्यता भयो ? यो लेख यसैमा केन्द्रित रहेको छ।

२८ बुद्ध को थिए ?

गौतम बुद्ध बुद्धधम्मका संस्थापक थिएनन्, एक प्रवर्तक मात्र थिए भन्ने आधार नै २८ बुद्ध परम्परा हो। श्रमण परम्पराअन्तर्गत बौद्ध तथा जैन मतलाई प्रमुख मानिन्छ। जसरी जैन मतमा २४ तीर्थकारों को मान्यता छ। त्यसरी नै बौद्ध मतमा २८ बुद्धको मान्यता छ।

आठौँ शताब्दीको अन्त्यतिरबाट बाह्रौँ शताब्दीसम्म लगभग बौद्ध सभ्यता क्षतविक्षत पारिएको अवस्था भेटिन्छ भारतवर्षमा। बाह्रौँ शताब्दीमा नालन्दा विश्वविद्यालय जलाइसके पछि त बौद्ध ग्रन्थहरू पनि नामेट गराइए। त्यसपछि अतिक्रमणको सिलसिला झण्डै १९औँ शताब्दीसम्म रफ्तारमा भएको देखिन्छ।

अङ्ग्रेजहरूको उपनिवेशपछि मात्र फेरि खोज तथा अनुसन्धान शृङ्खला अघि बढेको देखिन्छ। यसबीचमा जति पनि इतिहासकार देखा परेका थिए– ती प्रायः सबैले बौद्ध सभ्यताको नजरअन्दाज गरेको देखिन्छ। यसको सिकार २८ बुद्ध परम्परामाथि पनि परेको देखिन्छ। यो वास्तविकभन्दा बढी मान्यताका रूपमा बढाइयो र पढाइयो। तर पछिल्ला खोज तथा अनुसन्धानले २८ बुद्धको पुष्ट्याइँ हुदै गइरहेको छ। ती नामावली यसप्रकार छन्ः

तणहंकर, मेधंकर, शरणंकर, दिपंकर, कोदन्ना, मम्गल, सुमन, रेवत, सोभित, अनोमादस्सी, पदुमा, नारद, पदुमुत्तारा, सुमेधा, सुजाता, पियदशी, अत्थादशी, धम्मदशी, सिद्धात्थ, तिस्सा, फुस्सा, विपश्वी,  सिखी, बेस्सभु, ककुसन्ध, कोणागमन, कस्यप, गौतम।

तथ्यप्रमाण

विश्वप्रसिद्ध भाषा वैज्ञानिक प्राडा राजेन्द्रप्रसाद सिंहको दुई पुस्तक ‘खोए हुई बुद्धकी खोज’ र ‘प्राचीन भारतके बौद्ध इतिहास’ प्रकाशित छन्। उहाँको अनुसार यदि एक बुद्धको काल औसत ५० वर्ष मात्र मान्ने हो भने पनि २८ बुद्धको १४०० वर्षकाल हुन्छ। यदि गौतम बुद्धको २६०० वर्षअघिको कालबाट १४०० वर्ष जोड्ने हो भने हामी सिन्धुघाँटीको सभ्यताको कालसम्म सजिलै पुग्न सक्छौँ। यो तथ्य सामान्य लागे पनि निकै वैज्ञानिक देखिन्छ।

विपश्वी बुद्ध (जसको नामबाट बौद्ध सभ्यतामा विपश्वनाको प्रचलन चलेको थियो। विपश्वी बुद्धको पहिलो लिखित प्रमाण भरहुतको स्तूपमा भेटिएको थियो। जहाँ ‘भगवतो विपश्वनो बोधि’ लेखिएको छ। विपश्वी बुद्धको दोस्रो प्रमाण साँची स्तूपमा भेटिन्छ। साँची स्तूपमा सप्तबुद्धको प्रतीकात्मक चिन्ह अङ्कित छ। सबैभन्दा दायाँ गौतम बुद्ध र सबैभन्दा बायाँ विपश्वी बुद्ध। चिनियाँ यात्री फाहियानको यात्रावृत्तान्तमा पनि अन्य बुद्धहरूको चर्चा पाइन्छ। उनी भारत आउँदा विपश्वी बुद्ध बितेको १३०० वर्ष भइसकेको थियो। त्यसैले विपश्वी बुद्धको स्मारक उनले देख्न पाएनन्। तर गौतम बुद्धअघिका तीन बुद्ध (ककुसन्ध, कोणागमन र कस्यप) का स्मारक भने देखेका थिए।

फाहियानको यात्रवृत्तान्तमा कस्यप बुद्धको स्मृतिस्थल श्रावस्तीको पश्चिमतिर र ककुसन्ध बुद्धको स्मृतिस्थल श्रावस्तीको दक्षिण ( पश्चिमतिर देखेको उल्लेख गरेका छन्। सप्त बुद्धको अर्काे प्रमाण एलोराको गुफा सङ्ख्या (१२ मा पाइन्छ। सम्राट अशोकको निग्लिहवा अभिलेखमा आफ्नो राज्याभिषेकको १४औँ वर्षको अवसरमा निगाली गाउँ गएर कोणागमन (कनकमुनि) बुद्धको स्तूपको मर्मतसम्भार गरेको उल्लेख छ।

कोणागमन बुद्ध गौतम बुद्धभन्दा अलग र पहिलेका थिए। यसबाट के बुझिन्छ भने सम्राट अशोकभन्दा अघि पनि स्तूप परम्परा थियो। भरहूत स्तूपमा ककुसन्ध र कस्यप बुद्धको नाम पनि अङ्कित छ। जहाँ  ‘भगवतो ककुसन्ध बोधि’ र ‘भगवतो कस्यप बोध’ लेखिएको छ। नेपालको गोटिहवामा ककुसन्ध बुद्धको स्मारक रहनु अर्काे प्रमाण हो। इतिहासकारहरू सम्राट अशोक ककुसन्ध बुद्धको स्मारकस्थलमा आएको र उनको स्मृतिमा स्तम्भ खडा गरेको बताउँछन्।

बौद्ध मत

बोधिसत्व प्राप्त व्यक्तिलाई बौद्ध मतअनुसार बुद्ध मान्ने गरिन्छ। गौतम बुद्धअघिका बोधिवृक्षको विवरणमा दिपंकरदेखि सुरु भएर कस्यप बुद्धमा आएर टुङ्गिन्छ। दिपंकर बुद्धभन्दा अघिका तणहंकर , मेधंकर र शरणंकरलाई बोधिसत्व प्राप्त भएको थिएन भन्ने गरिन्छ। त्यसकारण बोधिवृक्षमा गणना गरिँदैन। भविष्यमा जन्मने बुद्धको समेत बौद्ध मतमा नामकरण गरिएको छ– मैत्रेयका रूपमा।

उपसंहार

संस्थापक र प्रवर्तकमा फरक छ भन्ने कुरा इतिहासकारहरूले नबुझ्नु प्राडा. राजेन्द्रप्रसाद सिंह आश्चर्यको विषय मान्नुहुन्छ। गौतम बुद्ध बुद्ध धम्मका एकजना प्रवर्तक मात्र थिए न कि संस्थापक। गौतम बुद्धभन्दा अघि पनि बुद्ध  थिए। सिन्धुघाँटी सभ्यता पूर्णरूपमा बौद्ध सभ्यता थियो र त्यसपछिका सभ्यता पनि बौद्ध सभ्यता नै थिए। जुन सभ्यताभित्र तक्षशीलादेखि नालन्दा जस्ता विश्वविद्यालय खडा भएका थिए। जहाँबाट विश्वभरका नागरिकहरू शिक्षा आर्जन गरेर फर्किन्थे। गौतम बुद्धको बुवा तथा ससुरा पनि बौद्ध अर्थात् श्रमण परम्पराकै थिए। गौतम बुद्धको ससुराको नाम सुप्पबुद्ध थियो। सुप्पबुद्ध बौद्ध नाम हाे।

इतिहासकार सिंहवद्र्धन सिंहका अनुसार ककुसन्ध बुद्धको समय इपू ३१०१ अर्थात् सिन्धुघाँटी सभ्यताको वरिपरि रहेको थियो। इतिहासकार एसके विश्वासले सिन्धु घाँटीबाट प्राप्त एक मूर्तिको वस्त्रविन्यास गौतम बुद्धको जस्तै भएको उल्लेख गर्दै सिन्धुघाँटीबाट प्राप्त मूर्ति पशुपतिको नभई ककुसन्ध बुद्धको भएको बताएका छन्। यी तमाम तथ्य र प्रमाणले भन्छ– बौद्ध सभ्यता हाम्रो सनातन सभ्यता हो। सिन्धुघाँटी सभ्यता बौद्ध सभ्यता हो। सत्यलाई स्वीकारौँ र बौद्ध सम्भ्यताप्रति गर्व गरौँ। नमो बुद्धाय।

प्रकाशित मिति: : 2024-02-17 14:54:00

प्रतिकृया दिनुहोस्

    Sahi ho 28 Buddha ko barema suneko thiye. Rw sindughati savyata Buddha savyata ho vanerw dheraile dabi Pani gariraheka xan.

    • एक महिना अगाडि
    • Mausam surkhali