‘को हुन् सुवास नेम्वाङका छोरा रास्वपाले चिन्दैन’

कमल प्रभात

काठमाडाैं
फाइल तस्बिर: रास्वपा सभापति रवि लामिछाने र सुहाङ नेम्वाङ
फाइल तस्बिर: रास्वपा सभापति रवि लामिछाने र सुहाङ नेम्वाङ

आगामी वैशाख १५ मा हुने इलाम क्षेत्र नं. २ को उपनिर्वाचन लागि दलहरुको दौडधूप जारी छ। दलहरुले सोही चुनावलाई नै एजेन्डा बनाएर छलफल गरिरहेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि सोमबार यही चुनावी विषयलाई लिएर छलफल गर्‍यो। छलफलपछि इलाम क्षेत्र नं. २ मा उम्मेदवारी दिने घोषणा गरेको छ।

पार्टी केन्द्रीय कार्यालय बालाजुमा सोमबार दिउँसो सम्पन्न केन्द्रीय समिति बैठकको निर्णय सुनाउँदै महामन्त्री एवम् प्रवक्ता मुकुल ढकालले भने, ‘रास्वपा इलाम- २ को उपनिर्वाचनमा सहभागी हुन्छ। कोहीसँग गठबन्धन गर्दैन।’

रास्वपा माओवादी नेतृत्वको गठबन्धन सरकारमा सहभागी छ। सरकारका गठबन्धन दलहरु चुनावमा पनि सँगै जान सक्ने अनुमान गरिएको थियो। यद्यपि, रास्वपाले आफ्नो ‘लाइन क्लियर’ गरेको छ। रास्वपाले सरकार सञ्चालनका लागि मात्र गठबन्धन गरेको बाँकी सबैमा एकल प्रतिस्पर्धा हुने महामन्त्री ढकालले बताए।

इलाम क्षेत्र नं. २ मा तत्कालीन एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ निर्वाचित क्षेत्र हो। नेम्वाङको गत भदौ २६ गते हृदयघातबाट निधन भएको थियो। उनको निधनपछि त्यस क्षेत्रमा उप–निर्वाचन हुन लागेको हो।

बुबाको निधनपछि सुवासचन्द्रका कान्छा पुत्र सुहाङ निम्वाङले राजनीतिक सक्रियता बढाएका छन्। बुबाको निधन हुँदा अस्ट्रेलियामा रहेका सुहाङ हाल एमालेको राजनीतिक कार्यक्रममा सहभागी छन्। उनै सुहाङले आइतबारमात्र आफू इलाम– २ को निर्वाचनमा उम्मेदवार बन्ने आकांक्षासहितको पात्र पार्टीमा बुझाएका छन्।

हालसम्मको राजनीतिक अवस्थालाई हेर्दा एमालेको तर्फबाट सो निर्वाचन क्षेत्रमा सुहाङ नै उम्मेदवार हुने देखिन्छ। भने, सत्ता गठबन्धनका अन्य दलहरु पनि सुहाङलाई सघाउने मनस्थितिमा छन्।

यही राजनीतिक धरातलमा रास्वपाले भने एकल प्रतिस्पर्धा गर्ने अर्थात् सत्ता गठबन्धनका अरु दलहरुसँग चुनावी गठबन्धन नगर्ने घोषणा गरेको छ। सह–प्रवक्ता रमेश प्रसाईंले रास्वपाले सुहाङ नचिनेको बताए।

‘को हुन् सुवास नेम्वाङका छोरा रास्वपाले चिन्दैन’, प्रसाईं भने, ‘श्रद्धय नेता सुवास नेम्वाङप्रति हाम्रो सम्मान छ। व्यक्तिगत रुपमा हामी सबै श्रद्धय नेतालाई सम्मान गर्छौँ तर राजनीतिक रुपमा सुवास नेम्वाङका छोरालाई चिन्दैनौँ।’ उनले रास्वपा नातावाद-कृपावादमा विश्वास गर्ने पार्टी नभएकाे बताए।

उनले इलाम– २ मा चुनाव जितेर संसदमा रास्वपाको सिट २२ पुर्‍याउने दाबी गरे।

रास्वपाले छामिसकेको इलामेलीकाे नाडी

रास्वपा इलाम– २ को उप–निर्वाचन प्रतिस्पर्धा गर्ने निष्कर्षमा आजैमात्र पुगेकाे भने होइन्, रास्वपाले अघिल्लो हप्ता (फागुन १९ गते) नै ६ जना सांसदलाई इलामका ६ स्थानीय तहमा पठाएर त्यहाँकाे धारणा बुझेकाे थियाे।

इलामको अवस्था बुझ्नका लागि रास्वपाले सोविता गौतमलाई इलाम नगरपालिका, गणेश पराजुलीलाई देउमाई नगरपालिका, मनिष झालाई माई नगरपालिका, अशोक चौधरीलाई चुलाचुली नगरपालिका, असिम शाहलाई फाकफोकथुम गाउँपालिका र हरि ढकाललाई माङसेबुङ गाउँपालिका पठाएको थियो।

‘हाम्रा ६ जना संसाद त्यहाँका ६ पालिकामा पुगरे धारणा बुझ्नु भएको थियो। त्यहाँ पुगेपछि हामीले निर्वाचन जित्न सकिने निष्कर्ष निकालेका थियौँ। त्यो निष्कर्ष आजको बैठकमा प्रस्तुत भयो र हामीले चुनावमा सहभागी हुने निर्णय गरेका हौँ,’ इलाम– २ को उप-निर्वाचनका लागि पूर्णकालीनरुपमा खट्ने जिम्मेवारी पाएका सह–महामन्त्री कविन्द्र बुर्लाकोटीले बिएल नेपाली सेवासँग भने।

त्यस्तै इलामबाट जनताकाे धारणा बुझेर फर्किएका सांसद गणेश पराजुलीले मतदाताले रास्वपाबाट त्यहाँकाे भूगाेल बुझेकाे याेग्य उम्मेदवारकाे अपेक्षा गरेकाे पाइएकाे बताए।

उनले रास्वपाप्रति जनभावना कस्ताे छ र कस्ताे भूमिका खेल्नुपर्छ भन्ने काेणबाट धारणा बुझ्ने काेसिस गरेकाे जानकारी दिए। ‘उम्मेदवार चाहिँ राम्राे दिनुपर्छ, परिवर्तनकारी भूमिका खेल्न सबै जनता तयार छन् भन्ने म्यासेज हामीले पाएका हाैँ’, सांसद पराजुलीले भने।

यद्यपि, जनताकाे धारणा बुझ्दाकाे समय र अहिलेकाे समयमा राजनीतिक परिघटनामा परिवर्तनले भएकाे थप ‘वर्कआउट’ गरेर अगाडि बढ्ने उनकाे भनाइ छ।

प्रकाशित मिति: : 2024-03-11 19:30:00

प्रतिकृया दिनुहोस्