वीरगञ्जमा दाइजोमा सुनको सिक्री नपाएकाे भन्दै बेहुला मण्डपबाटै भाग्न खोजेपछि...

पर्साकाे वीरगञ्ज महानगरपालिकामा कार्यरत एक कर्मचारीले दाइजोमा सुनको सिक्री नपाउँदा बिहे नै रद्द गरेका छन्।

वीरगञ्ज महानगरकाे स्वास्थ्य शाखामा कार्यरत कम्प्युटर अपरेटर उमेश साहले दाइजोमा सुनको सिक्री नपाउँदा बिहे नै रद्द गरेका हुन्।

साेमबार राति जन्तीसहित बिहे गर्न वीरगञ्ज रानीघाट गएका साहले विवाह मण्डपमा बेहुली पक्षबाट सुनको सिक्री नपाउँदा बिहे रद्द गरेपछि बेहुलालाई प्रहरीले पक्राउ गरेकाे छ।

बाराको कलैया उपमहानगरपालिका-४ घर भएका साहले दाइजोमा नगद १२ लाख, मोटरसाइकल खरिद गर्न ३ लाख २५ हजार, एक थान ल्यापटप, एक थान सुनको औँठी र सुनको हनुमानी माला बिहेअघि नै बेहुली पक्षसँग दाइजोको रूपमा लिएको बेहुली पक्षले बताएका छन्।

बाराको कलैया उपमहानगरपालिका-४ का बच्चलाल साहका छोरा वर्ष २६ का उमेश साहको वीरगञ्ज- २४ रानीघाटका एकजना उनकै स्वजातिको छोरीसँग फागुनमा २८ गते जन्ती लागेर बिहे हुने निश्चित भएको थियो।

सोहीअनुसार साेमबार साँझ बेहुली पक्षका आफन्तहरु उनको घर अगाडि जन्तीको स्वागतको लागि जम्मा भएका थिए। निर्धारित समयमा सोमबार राति बेहुलासहित जन्ती आयो। द्वार पूजापछि स्वयंवर बरमालाको परमपरा पनि पूरा भएको थियो। उक्त विधि पश्चात विवाहको विधि पूरा गर्नका लागि विवाह मण्डपमा पुग्दा बेहुलाले विभिन्न बहाना बनाउँदै सुनको सिक्री नपाएपछि विवाह नै बहिष्कार गरेका हुन्।

द्वार पूजा बरमाला भइसक्दा पनि मात्र ५० हजारको सिक्री नपाउँदा बेहुला विवाह मण्डपबाट भाग्न खोज्दा झडपसमेत भएको प्रहरीले जनाएको छ। बेहुली पक्षले जति सम्झाउँदा पनि बेहुला बिहे गर्न नमानेपछि कुटपिट सुरु भएको थियो। स्थानीयको खबरअनुसार लगत्तै प्रहरी चौकी श्रीपुरबाट घटनास्थल पुगेको प्रहरी टोलीले बेहुलासहित केही जन्तीलाई नियन्त्रणमा लिएको थियो।

पर्सा प्रहरी प्रवक्ता डिएसपी कुमार विक्रम थापाले घटनाको पुष्टि गरेका छन्। प्रहरी चौकी श्रीपुरले घटनामा संलग्न ५ जनालाई नियन्त्रणमा लिएको छ। 'म भर्खर काठमाडाैँबाट आएको छु, पीडितको तर्फबाट अहिलेसम्म जाहेरी आएको छैन, तथापी घटनासम्बन्धी अनुसन्धान भइरहेको छ,' प्रवक्ता तथा डिएसपी थापाले भने।

यसरी घर अगाडि आएर पनि बिहे नभएर जन्ती फिर्ता गएको कारण सामाजिक प्रतिष्ठामा असर परेको भन्दै बेहुली पक्षले आपत्ति जनाएका छन्।

प्रकाशित मिति: : 2024-03-12 14:41:00

प्रतिकृया दिनुहोस्