नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग ‘ब्रेक थ्रू’

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ छिचाेलिएकाे (ब्रेक थ्रू) छ। सोमबार एक औपचारिक कार्यक्रमबीच सुरुङ ‘ब्रेक थ्रू’ गरिएकाे हाे।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वीच थिचेपछि धादिङ र काठमाडौँ दुवैतर्फबाट खनिएको सुरुङ एकआपसमा छिचोलिएको हो।

धादिङको सिस्नेखोला र काठमाडौँको चन्द्रागिरि नगरपालिका–१ मा रहेको टोटीपाखामा सुरुङ जोडिएको छ।

समारोहमा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलगायतका उच्च अधिकारीको उपस्थिति थियो। यस्तै सङ्घीय सांसद एवं प्रदेश सांसदहरुको उपस्थिति थियो।

नागढुङ्गाको घुमाउरो सडक र जामबाट आजित भएका नागरिकलाई उक्त सुरुङमार्ग निर्माण भएपछि थप सहज हुनेछ। आज छिचोलिएको सुरुङमार्गमा एक वर्षपछि नियमितरुपमा सवारी आवागमन हुने सम्बद्ध आयोजनाले जनाएको छ

सो सुरुङमार्गको कूल लम्बाई दुई हजार छ सय ८८ मिटर छ। यसअघि नै आपतकालीनरुपमा प्रयोग गरिने सुरुङ भने गत साउनमा नै ब्रेक थ्रु गरिसकिएको छ।

सुरुङभित्रको सडक ढलान, बत्ती जडान, अक्सिजन पाइप जडानलगायतका कामका लागि भने केही समय लाग्नेछ। आयोजनाको कूल लागत झण्डै रु २२ अर्ब बराबर छ । जापानी निर्माण कम्पनी हाज्मा एन्डो कर्पोरेशनले सो सुरुङमार्ग निर्माणको जिम्मा पाएको थियो।

प्रकाशित मिति: : 2024-04-15 14:32:00

प्रतिकृया दिनुहोस्