सिधाकुराका प्रकाशक र सम्पादकविरुद्ध ‘साइबर अपराध’मा मुद्दा

Break n Links
Break n Links

सिधाकुरा डटकमका अध्यक्ष र सम्पादकसहित तीन जनाविरूद्ध ‘साइबर अपराध’मा मुद्दा दायर भएको छ। 

सरकारी वकिलको कार्यालय काठमाडौँले सिधाकुरा डटकमका प्रकाशक युवराज कँडेल, कार्यकारी सम्पादक नवीन ढुंगाना र स्राेत भनिएका राजकुमार तिमल्सिनाविरूद्ध मुद्दा दायर गरेको हो।

उनीहरूलाई १ लाख रुपैयाँसम्मको जरिवाना र ५ वर्षसम्म कैद वा दुवै सजाय मागदाबी गरिएको छ।

सरकारी वकिल कार्यालयले झुटा प्रमाण बनाउन नहुने भन्ने कसुरमा उनीहरूविरुद्ध थप अनुसन्धान गर्नसमेत प्रहरीलाई निर्देशन दिएको छ।

‘भ्रष्टाचारका चार सय मुद्दा हराउने गोप्य डिल’ भन्दै सिधाकुरा डटकम नामक अनलाइनले सम्प्रेषण गरेको एउटा सनसनीपूर्ण समाचारले अदालत, अख्तियार हुँदै केही मिडिया हाउसमा एकैपटक हलचल ल्याएकाे थियाे।

सर्वोच्च अदालतका न्यायाधीश, वरिष्ठ वकिल, अख्तियारका प्रतिनिधि र दुई मिडिया हाउसका मालिकले सेटिङ मिलाएर भ्रष्टाचारसम्बन्धी मुद्दा प्रभावित पारेको दाबीसहितको समाचारभित्र उल्लेख गरिएकाे अडियाे नक्कली रहेकाे बताइएकाे छ।

अख्तियारले चलाउने गरेको ‘स्टिङ अप्रेसन’का एक सदस्यको हवाला दिँदै सिधाकुराले ‘द डार्क फाइल’ कार्यक्रममार्फत सार्वजनिक गरेको फेक सामाग्रीमा पूर्वप्रधानन्यायधीश चोलेन्द्र समशेर राणा, पूर्वन्यायाधीश डा. आनन्दमोहन भट्टराई, कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया र अन्नपूर्ण पोष्टका अध्यक्ष क्याप्टेन रामेश्वर थापा गोप्य डिलमा सहभागी रहेको दाबी गरिएको थियाे।

यसअघि सिधाकुराविरुद्ध सर्वोच्च अदालतमा दायर भएकाे अदालतको अवहेलना मुद्दामा सर्वोच्चले ‘सिधाकुरा डटकम’का प्रकाशक कँडेल र कार्यकारी सम्पादक ढुंगानासँग बयानसमेत लिएकाे थियाे। 

प्रकाशित मिति: : 2024-06-28 14:15:00

प्रतिकृया दिनुहोस्