बाँकेको कोहलपुर नगरपालिका ६ की २२ वर्षीया सुमदरानी थारुको हत्या अरोपी शैलेन्द्र चौधरी फरार भएको १५ महिनापछि पक्राउ परेका छन्।
२६ वर्षीय चौधरी बर्दिया राजापुर नगरपालिका ८ का हुन्। उनीमाथि सुमदरानीको २९ वैशाख २०८० मा हत्या गरेको आरोप छ।
बाँकेकाे नेपालञ्ज उपमहानगरपालिका– ९ श्रद्धानगरमा कोठा भाडामा लिई बस्दै आएकी सुमदरानीको घाँटी रेटी हत्या भएको थियो। त्यसपछि फरार रहेका चौधरीलाई आज (असार १४ गते) बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।
चौधरीलाई बाँकेको जानकी गाउँपालिका १ पचपोखरास्थित नेपाल भारत सिमा क्षेत्रबाट पक्राउ गरेको बाँके प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक नारायण डाँगीले बिएल नेपाली सेवालाई जानकारी दिए।
उनीमाथि बाँके जिल्ला अदालतबाट दिन ५ म्याद थप अनुमती लिइ अनुसन्धान भइरहेको छ।
सुमदरानीको हत्या भएको लामो समयसम्म पनि हत्यारा पक्राउ नगरिएको भन्दै परिवारले आन्दोलन गर्दै आएको थियो। यसअघि काठमाडौँमासमेत सुमदरानीकी आमा अधिकारकर्मी रुवी खानसहित न्याय माग्न काठमाडौँ आएकी थिइन्।
यही असार १० गते सरकारसँग ५ बुँदे सहमतिपछि रुवी खानले आमरण अनसन स्थगित गर्दै आन्दोलन रोकेकी थिइन्।