बिएल संवाददाता
५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको रिट हेर्दाहेर्दैमा राखिएको छ।
बुधबार भएको सुनुवाइमा रिट निवेदकतर्फबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीसहितले बहस गरिसकेपछि अर्को पेसी वैशाख ३ लाई तोकिएको सर्वोच्च प्रशासनले जनाएको छ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका बेला गरिएको विवादास्पद नियुक्तिमाथि चार वर्षदेखि संवैधानिक इजलासमा मुद्दा अड्किएको छ।
संवैधानिक इजलासमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी छन्।
000
नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले राजावादीहरुको प्रदर्शनलाई कुनै महत्व दिन आवश्यक नभएको बताएका छन्।
प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको वकालत गर्दै माइतीघरमा गरेको प्रदर्शनलाई सम्बोधन गर्दै जनताले फ्याँकिसकेको राजतन्त्र फर्किन कुनै सम्भावना नरहेको बताएका हुन्।
कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफूहरूलाई छोटे राजा जस्तो देखाउन खोजेको उनकाे आरोप थियाे।
000
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुमत ल्याउन कुनै न कुनै पार्टीसँग मिल्नु पर्ने बाध्यता रहेको बताएका छन्।
बुधबार सानेपामा आयोजित कार्यक्रममा बाेल्दै देउवाले संविधानमा रहेको व्यवस्थाका कारण कुनै एक दलले बहुमत ल्याउन नसक्ने बताएका हुन्।
कुनै पनि दलको बहुमत नआउनुमा पार्टीको दोष नभई संविधानमा रहेको व्यवस्था कारण भएकाे उनकाे भनाइ थियाे।
000
ऊर्जा तथा जलस्रोतमन्त्री दीपक खड्काले उज्यालो नेपालको नायक नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नभएको दाबी गरेका छन्।
बुधबार राष्ट्रियसभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले उज्यालोको नायक कुलमान नभई भारत र निजी क्षेत्रलाई धन्यवाद दिनुपर्ने बताएका हुन्।
कुलमानले उद्योगको लाइन काटेर घरमा बिजुली दिएर लोडसेडिङ अन्त्य भएको हल्ला फैलाएको उनकाे आरोप थियाे।
000
राजावादी आन्दोलनका हर्ताकर्ता दुर्गा प्रसाईंले सोमबार ट्रकसहित बरामद भएको २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा माओवादीका नेताहरूको भएको दाबी गरेका छन्।
बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै उनले पैसा बोकेर चीन जाने क्रममा टोखाबाट बरामद भएको रकम तस्करीमा ठूलै नेताहरूको हात रहेको दाबी गरेका हुन्।
उनले त्यो रकम चीन जाने र चीनबाट सुन ल्याएर नेपालको बाटो हुँदै भारत तस्करी हुने दाबी समेत गरेका थिए।
000
नेपाली सेनाले संविधानप्रदत्त जिम्मेवारी पूरा गर्न कटिवद्ध रहेको बताएको छ।
राजवादी गतिविधि बढिरहँदा सेनालाई विवादमा तान्ने प्रयास भएपछि सेनाले यस्तो वक्तव्य जारी गरेको हो ।
सेनासँग जोडेर विभिन्न भ्रम फैलाइएको भन्दै सेनाले त्यसमा सत्यता नभएको बताएको छ।
राजवादीहरूले राजसंस्था जोगाउन सेना चुकेको बताइरहेका छन् भने कतिपयले राजसंस्था फिर्ता गराउन सेनाले समेत साथ दिने अभिव्यक्ति दिइरहेका छन् । यस्तो अवस्थामा सेनाले संविधानप्रति कटिबद्ध रहेको बताएको हो ।
000
त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरको स्ववियु चुनाव रोक्न उच्च अदालतले आदेश दिएको छ।
बुधबार न्यायाधीश डालकुमार खड्काको इजलासले नेविसंघका नेता विष्णुबहादुर बडैलाको दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै निर्वाचन रोक्न अल्पकालिन अन्तरिम आदेश दिएको हो।
चैत ८ गतेको निर्वाचन रोक्न आदेश दिएको अदालतले चैत ७ गतेका लागि दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।
000
सेतो मछिन्द्रनाथ मन्दिर पुननिर्माणका लागि नेपाललाई भारतीय राजदूतले २४ किलो चाँदी हस्तान्तरण गरेका छन्।
बुधबार असनमा बन्दै गरेको सेतो मछिन्द्रनाथ मन्दिर पसिरमा आयोजित एक कार्यक्रमकाबीच उक्त चाँदी हस्तान्तरण गरिएको हो।
भारतीय दूतावासका प्रथम सचिव अविनाशकुमार सिंहले २४ किलो चाँदी सेतो मछिन्द्रनाथ मन्दिर पुननिर्माणका लागि हस्तान्तरण गर्न पाउँदा खुसी लागेको बताएका थिए।
000
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको आपराधिक समूह सदस्य भनेर देश निकाला गरिएका सयौं आप्रवासीको मुद्दा हेरिरहेका संघीय न्यायाधीशलाई महाभियोग लगाउने भनेपछि प्रधानन्यायाधीश जोन रोबर्ट्सले त्यसको निन्दा गरेका छन्।
भेनेजुएलाको आपराधिक समूह भन्दै २ सय ५० भन्दा बढी आप्रवासीलाई ट्रम्पले देश निकाला गरेका थिए।
अमेरिकाको संघीय अदालत अन्तर्गतको वासिङ्गटन डिसीमा रहेको जिल्ला अदालतका प्रमुख न्यायाधीश जेम्स बोजबर्गले १४ दिनका लागि उनीहरूलाई देश निकाला नगर्नु भन्ने अस्थायी आदेश गरे पनि ट्रम्प सरकारले उनीहरूलाई निकालेको थियो।
ट्रम्प सरकारले अदालतको आदेश नमानेको भन्दै न्यायाधीश जेम्स बोजबर्गले त्यसबारे जबाफ मागेका छन्।
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया