प्रचण्ड कुर्दै ओली-देउवा, काठमाडौं आउनेवित्तिकै छलफलको तयारी

फाइल तस्बिर
फाइल तस्बिर

सत्तारुढ दल कांग्रेस-एमालेका शीर्ष नेताहरू र प्रमुख प्रतिपक्षी दलका नेताबीच छलफलको तयारी भएको छ।

प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शान्ति प्रक्रियाको बाँकी कामबारे छलफल गर्ने तयारी भएको बालुवाटार स्रोतले बतायो।

प्रचण्ड यतिबेला तराई मधेस जागरण अभियानमा छन्। उनी आइतबार साँझ काठमाडौं फर्किने तयारीमा रहेको खुमलटार स्रोतले बतायो। स्रोतका अनुसार शीर्ष नेताहरूबीच टीआरसीको विषयमा मात्र छलफल हुनेछ। अन्य विषयमा माओवादीले छलफल नगर्ने स्रोतको दाबी छ।

बालुवाटार स्रोतले भने उनीहरूबीच टीआरसीको विषयका साथै पछिल्लो राजनीतिक घटनाक्रम र राजावादीहरूको सक्रियताबारे पनि छलफल हुने बताएको छ।

यसअघि टीआरसीकै विषयमा छलफल गर्न चैत ४ गते प्रधानमन्त्री ओलीका विज्ञ सल्लाहकार अग्नि खरेल खुमलटार पुगेका थिए। तर, शीर्ष नेताहरूबीच हालसम्म पनि छलफल हुन सकेको छैन।

प्रधानमन्त्रीका दूतहरू खुमलटार पुगेपछि सरकार परिवर्तनको हल्लासमेत चलेको थियो। राजावादीहरूको सक्रियता बढेपछि दलहरू राष्ट्रिय सहमतिको सरकार बनाउने तयारीमा रहेको चर्चा चलेको थियो।

तर, प्रचण्डको सचिवालयले भने तत्काल उक्त विषयमा छलफल हुने सम्भावना नरहेको दाबी गरेको छ।

प्रकाशित मिति: : 2025-03-23 12:29:00

प्रतिकृया दिनुहोस्