महेश चौलागाईं
यो पत्र लेख्न बस्दा हात काँपिरहेका छन्, मन भारी छ, तर शब्दहरू रोक्न सकिनँ। धेरै समय बितिसक्यो, तर तिम्रो सम्झनाहरू अझै पनि मेरो मुटुको कुनै कुनामा ताजै छन्। समयले धेरै कुरा बदलिदिन्छ भन्ने सुनेको थिएँ, तर केही अनुभूतिहरू यस्ता हुँदारहेछन्, जसलाई वर्षौंले पनि पुरानो बनाउन सक्दैनन्।
हामी पहिलो पटक भेटिएको दिन आज पनि सम्झिन्छु। सानो–सानो कुरामा हाँस्नु, एकअर्कालाई जिस्क्याउनु, भविष्यका मीठा सपना देख्नु—ती क्षणहरू मेरो जीवनका सबैभन्दा सुन्दर पल थिए। तिमीसँग हुँदा संसार नै सानो लाग्थ्यो। जस्तो लाग्थ्यो, हामी दुई जना भए पुग्छ। तिम्रो मुस्कान मेरो बिहान थियो, तिम्रो आवाज मेरो शान्ति, र तिम्रो साथ मेरो सुरक्षित आश्रय।
तर जीवन सधैँ हाम्रो इच्छाअनुसार चल्दैन रहेछ। सायद परिस्थिति हाम्रो पक्षमा थिएन। सायद हामी दुवै अपरिपक्व थियौँ। सायद समय नै गलत थियो। झगडा, गलतफहमी र मौनताले बिस्तारै हामीबीच दूरी बढाउँदै लग्यो। र एक दिन, जुन सम्बन्धलाई मैले सधैँको लागि सोचिरहेको थिएँ, त्यो केवल एउटा सम्झना बनेर रह्यो।

तस्बिरमा अतितका यादहरू
तिमी बिना बाँच्न सिक्न मलाई धेरै समय लाग्यो। राति–राति तिम्रा पुराना सन्देशहरू पढेर आँसु झार्ने बानी थियो। तिम्रा फोटोहरू हेर्दा मन भित्रैदेखि भाँचिन्थ्यो। ‘के उसलाई पनि मेरो सम्झना आउँछ होला?’ भन्ने प्रश्नले धेरै रातहरू निद्रा खोस्यो। तर मैले कहिल्यै तिमीलाई दोष दिइनँ। किनकि प्रेम भनेको केवल सँगै हुनु मात्र होइन रहेछ; प्रेममा त्याग पनि हुँदो रहेछ, स्वीकार पनि हुँदो रहेछ।
मैले बिस्तारै आफूलाई सम्हाल्न सिकेँ। आफूलाई बुझाएँ— सबै सम्बन्धहरू गन्तव्यसम्म पुग्दैनन्। केही सम्बन्धहरू केवल जीवनलाई पाठ सिकाउन आउँछन्। र अन्ततः म बाँच्न सिकेँ, तिम्रो सम्झनासँग पनि।
तर करिब १ वर्ष १० महिना ९ दिनपछि अचानक फेसबुक म्यासेन्जरमा तिम्रो सन्देश देख्दा मेरो मन फेरि पुरानै ठाउँमा पुगेको थियो। त्यसपछि हामीबीच करिब १५ मिनेट फोनमा कुरा भयो। त्यो १५ मिनेट मेरो लागि साधारण थिएन— त्यो त लगभग हराएको विगतसँग फेरि भेट भएको क्षण थियो।
तस्बिरमा अतितका यादहरू
तिम्रो आवाज सुन्दा मन एकाएक हल्का पनि भयो, तर त्यति नै भारी पनि। सानो–सानो कुरामा पुराना यादहरू फेरि जागे— हामी कहाँबाट कहाँ पुगेका रहेछौँ भन्ने महसुस भयो।
मैले सोचेको थिएँ— सायद यो कुरा अधुरा सम्बन्धहरू पूरा गर्ने सुरुवात हो। सायद हामीबीच बाँकी रहेका प्रश्नहरूको उत्तर भेटिन्छ। सायद समयले हामीलाई फेरि बुझ्ने मौका दिएको छ।
तर त्यो आशा धेरै बेर टिकेन।
फोनपछि फेरि मौनता आयो… र त्यसपछि तिमीले मलाई फेरि ब्लक गर्यौ। त्यो क्षणले मलाई पहिलेभन्दा धेरै चुप बनायो। यसपटक पीडा नयाँ थिएन, तर अनुभूति उस्तै पुरानो थियो— अधुरोपन, खालीपन र प्रश्नहरूको भीड।
मैले आफैँलाई सोधेँ— यदि फर्किनु नै थिएन भने किन आयौ? यदि बोल्नु नै थिएन भने किन त्यो १५ मिनेटको आवाज बनायौ? यदि फेरि हराउनु नै थियो भने किन पुराना घाउहरू एकपटक फेरि चलायौ?
सायद तिम्रो लागि त्यो केवल केही मिनेटको कुरा थियो। तर मेरो लागि त्यो विगतसँगको पूर्ण पुनः भेट थियो— जसलाई मैले धेरै संघर्षपछि मात्र पछाडि छोड्न सिकेको थिएँ।
म तिमीलाई दोष दिन चाहन्नँ। जीवनले सबैलाई आफ्नै निर्णय गर्ने अधिकार दिएको छ। तिमीले आफ्नो बाटो रोज्यौ, मैले आफ्नो। तर एउटा कुरा भने अवश्य भन्न चाहन्छु— कृपया फेरि नआउ।
किनकि कसैको जीवनमा फर्केर फेरि हराउनु केवल एउटा घटना होइन, त्यो मनभित्र धेरै समयदेखि सम्हालेर राखिएका भावनाहरूलाई फेरि एकपटक जिउँदो बनाइदिने प्रक्रिया हो।
आज पनि म तिमी सुखी रहोस् भन्ने चाहन्छु। तिम्रो जीवन सफल होस्, तिमीले चाहेका सबै खुसीहरू प्राप्त गर। तर मेरो जीवनको ढोका केवल सम्झनाहरू जगाउनका लागि नढकढक्याउ।
मैले धेरै मेहनत गरेर ती यादहरूसँग शान्तिमा बाँच्न सिकेको छु। फेरि त्यहीँबाट सुरु गर्ने साहस मसँग छैन।
त्यसैले यो कुनै गुनासो होइन, एउटा विनम्र अनुरोध हो—
बरु पुराना यादहरू ताजा बनाउन फेरि नआऊ।
अधुरा कथाहरूलाई अधुरै रहन देऊ।
किनकि कतिपय प्रेमहरू प्राप्तिका लागि होइन, जीवनभर सम्झन सिकाउनका लागि जन्मिएका हुन्छन्।
तिमी सम्झनामा सधैँ रहनेछौ, तर कृपया फेरि आएर ती सम्झनाहरूलाई पीडामा नबदलिदेऊ।
(उही एक पुरानो आवाज)
बालेनको अभिव्यक्तिपछि उब्जिएको परिस्थिति
‘प्रिय तिमीले एक्लो बनायौ’
गाउँ र आमाहरू
काभ्रे बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत, १६ घाइतेको धुलिखेलमा उपचार हुँदै
भोइस अफ नेपालदेखि ‘कर्णाली तिर’सम्मको : आवाज बनेका अर्जुन सुनार
ब्राजिललाई मोरक्कोको चुनौती
आजको मौसम : कोशी प्रदेशमा भारी वर्षाको सम्भावना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया