राधाकृष्ण देउजा
अहिलेको प्रतिस्पर्धी विश्वमा सबै देशहरूले आ–आफ्नो पक्षमा संसारका अन्य देशहरूलाई राख्न खोज्नुलाई अन्यथा मान्न मिल्दैन र सकिन्न।
अनेकन असहमतिका वावजुद पनि देशहरूको बिचमा निरन्तर सम्बन्ध रहनु, राष्ट्र प्रमुखहरूको बिचमा छेडखानीका वावजुद पनि संवादमा निरन्तरता रहनु लगायतले पनि विश्वको वर्तमान अवस्थाको बयान गर्नेछ।
विश्वको त्यही सत्यताका बिचमा संसारका शक्ति राष्ट्रहरूले हरेक देशहरूमा आफ्नो सामरिक स्वार्थ विपरित नजाने र ध्रुविकरणको अवस्था आउँदा आफ्नो पक्षमा उभिने शासकहरूको अपेक्षा राख्दै सोही अनुसार काम गर्नु ठिक वा बेठिक भन्ने विषयमा छलफल हुन सक्छ तर त्यस्तो हुने र त्यसो गरिने सत्यलाई इन्कार गर्न सकिन्न।
यही यथार्थको सेरोफेरोमा नेपालमा छिमेकी भारत चीनदेखि अन्य देशहरूको चासो निरन्तर रहने सत्यलाई इन्कार गर्नै मिल्दैन तर त्यस्ताे भन्दैमा नेपालको आन्तरिक मामिलामा सदैव वाह्य भूमिका रहेको निष्कर्ष निकाल्ने काम भने किमार्थ सहि र उचित हुन सक्दैन।
हुन त नेपालमा जे हुँदा पनि त्यसमा भारतीय भूमिका देख्ने र एकाथरीले आफूलाई भारतले खेदेको अनि अर्कोलाई च्यापेको भाष्य बनाइने काम नियमित रुपमा हुँदै आएको छ।
आफ्नो निकट अनि परेको बेला सबै भन्दा पहिला सहयोग गर्ने छिमेकी देशलाई चाहिने भन्दा बढी विवादमा ल्याउने कामले त्यसो गर्नेहरूलाई के कति फाइदा वा घाटा भएको छ? त्यसको लेखाजोखा त समयले गर्दै जाला तर त्यस्तो कामले नेपाल भारत विचको कुटनीतिक सम्बन्धलाई सदैव अस्थिर राख्ने मात्रै हैन पछिल्लो समयमा जनस्तरमै पनि सम्बन्ध बिगार्ने काम गर्दै आएको छ।
अनि नेपालको सत्तामा रहेको बेला सत्तामा रहनेले भारतसँग निकट रहेको ठान्दै चीनलाई आवश्यकता भन्दा धेरै उपेक्षा गर्ने तर सत्ताच्युत हुने बित्तिकै चाहिं आफू चीनको मित्र भएकोले भारतको षड्यन्त्रमा सत्ताच्युत गरिएको काल्पनिक दाबी सहित चीनको निकट बन्न खोज्ने निच राजनीतिले गर्दा चीनले पनि समग्र नेपाललाई विश्वास गर्न नसक्ने अवस्था बनेको अर्को सत्य हो।
नेपाल जस्तो विकास उन्मुख देशका प्रमुख राजनीतिक शक्तिहरूबाट यत्तिको अपरिपक्क काम हुने देशको लागि कुनै हालतमा राम्रो हुँदै हैन तर पनि त्यो हुँदै आएको छ।
झन भाद्र २३ र २४ गतेको घटना पछि कुटनीतिक अपरिपक्कता अझै निकृष्ट रुपमा प्रकट हुने खतरा बढेको छ।
हामी सबैलाई थाहा छ, भाद्र २३ गते नेपालका नव युवाहरूले भ्रष्टचार निराकरण गर्दै सुशासन स्थापनाको माग राख्दै आयोजना गरेको शान्तिपूर्ण प्रदर्शनको विचमा स्वयम प्रदर्शनकारीहरू नै झस्कने ढंगले अनपेक्षित घुसपैठ र हस्तक्षेप हुन पुगेको थियो।
त्यस्तो अनपेक्षित हस्तक्षेप र घुसपैठले गर्दा सृजित भिडन्तले दर्जनौं नव युवाहरूको मृत्यु हुन पुग्यो भने त्यसैलाई देखाएर भाद्र २४ गते नेपालले इतिहासमा कहिल्यै नदेखेको आतंककारी हमलाको सामना गर्नपर्यो।
खासमा भाद्र २४ गते जे भयो त्यसले नेपालको सार्वभौमसत्ता, स्वाधीनता र अस्तित्व माथि नै प्रहार भयो। यो सत्य हो तर यो सत्यसँग जोडिएको अर्को सत्य के हो भने त्यस दिन भएको घटनामा संलग्न सम्पूर्ण अपराधीहरू नेपाली नै थिए।
पक्कै पनि त्यस घटनाले नेपाललाई अस्थिर रहेको देख्न चाहने र त्यसबाट आफ्नो स्वार्थपूर्ति हुनसक्ने ठान्ने तमामलाई खुसी पर्यो होला तर जे भयो त्यो हुनुमा कुनै पनि अन्य देशको भूमिका थियो भन्ने कुनै ठोस प्रमाण कोहि कसैसँग छैन।
अनि बिना कुनै प्रमाण काल्पनिक तर्कहरू गरेर मित्र राष्ट्रहरूलाई दोष लगाउने र जनतामा भ्रम फैल्याउने काम किमार्थ सहि छैन र हैन।
भाद्र २३ र २४ गते जे भयो त्यसले तत्कालीन सरकार समेत विस्थापन भएको विषयलाई जोडेर पछिल्लो दिनहरूमा त्यसो हुनुको पछाडि खास गरेर अमेरिकाको भूमिका थियो भन्ने ढंगले व्यापक प्रचार गरिएको छ।
कुनै प्रमुख दल वा नेताहरुले आधिकारिक रुपमा त्यो नभने पनि अनेकन पात्रहरूमार्फत अनेकन तर्क सहित त्यस्ता विषयहरुमा चर्चा गरिंदै गराउँदै आइएको छ।
आफैं अमेरिकामा बस्ने भएकोले सतही तर्कहरुको आधारमा गरिएका त्यस्ता हल्लाहरूको व्यापारले त्यसो गर्नेले उनीहरूले पाउन खोजेको चर्चा त पाउलान् तर त्यसले नेपाल र अमेरिका विचको मित्रवत सम्वन्धलाइ अनावश्यक रुपमा कम्जोर पार्नेछ भनेर लेख्दै गर्दा कतिपयले अनावश्यक रुपमा गालीको बर्षात गर्ने सत्यताप्रति पंक्तिकार बेखबर छैन तर सत्य लेख्नैपर्छ।
सबै भन्दा पहिलो कुरा त स्वदेश तथा विदेशमा बस्ने तमाम नेपालीहरूले बुझेको र बुझ्न बाँकी रहेको भए बुझ्नै पर्ने सत्य के हो भने भाद्र २३ गते नव युवाहरूले भ्रष्टचार नियन्त्रण हुनुपर्ने भन्दै राखेको मागमा सिंगो देशको समर्थन थियो किनकि लामो समयदेखि नेपालमा भ्रष्टचारको जालो बढ्दो थियो र नियन्त्रणको कोशिस पर्याप्त थिएन।
अनि राजनीतिक दलहरुको आन्तरिक लोकतन्त्र देखि सत्ता केन्द्रित राजनीतिले जनतामा निराशा बढाउँदै लगेकोमा त्यो विस्फोटको चरणमा पुगेको थियो। त्यसैले भाद्र २३ गते सिंगो देश नव युवाहरूको साथमा थियो तर बिडम्वना भाद्र २३ को मध्य दिनपछि जे भयो त्यसले चाहिं सिंगो नेपाललाई स्तब्ध र त्रशित बनायो।
भाद्र २३ हुँदै भाद्र २४ गते पछिको अवस्था निर्माण हुँदासम्म छिमेकीदेखि मित्र राष्ट्रहरूसम्मले नयाँ परिस्थितिमा आफू अनकुल अवस्था निर्माण गर्न खोजेनन् होला भन्ने ठान्दा त्यो नादनी हुन सक्ला तर जे अवस्था बन्यो त्यसको निर्माण नै छिमेकीहरू वा मित्र राष्ट्रहरूले गरेका हुन् कि भन्ने हिसाबको तथ्यहीन कुतर्कहरू चाहिं अन्यायपूर्ण हुन्छ।
भाद्र २३ र २४ गते भएको घटनामा यो वा त्यो हिसाबले अमेरिकाको संलग्नता रहेको कुतर्क चल्दै रहेको अवस्थामा यो लेख्दै गर्दा आफू अमेरिकाको बासिन्दा भएकाले भनेको भन्दै गालीको वर्षा हुन्छ।
त्यो थाहा छ तर पनि समग्रतामा भन्दा आजको दिनसम्म प्रजातान्त्रिक विश्वको नेतृत्व गरिरहेको अमेरिकाले नेपालमा नव युवाहरूको आन्दोलनलाई हाइज्याक गर्दै नरसंहार र आतंक मच्चाउने शक्तिहरुलाइ साथ दियो होला भन्ने तर्क र आशँकाहरू चाहिं कहीं कतैबाट सत्य हो भन्ने लाग्दैन भनेर लेखिएन भने निडरता साथ लेख्ने आफ्नो प्रतिबद्धता प्रति अन्याय हुनेछ।
त्यसमाथि नेपालको नागरिकता पाउनुलाई नै आफ्नो जीवनको अन्तिम र महत्वपूर्ण इच्छा बनाएर मुश्किलले पाएको नेपाली नागरिकता च्यापेर संसार त्यागेकी बर्बरा एडम्सको नाममा खोलिएको फाउन्डेसनसँग जोडिएका केही स्वार्थी अपराधीहरूको कर्मलाई बारबरा फाउन्डेसनको नियतसँग जोडने अनि मित्र राष्ट्र अमेरिकाले युवा सशक्तिकरणको लागि सुरुवात गरेको युथ काउन्सिलको सदस्य रहेका केहीको भूमिकालाई लिएर युथ काउन्सिलको नियतमा नै सवाल उठाउने जस्ता कृतघ्न कार्य भैरहेको र त्यसप्रति जिम्मेवारी दल र नेताहरूले मौनता साँधी रहेको सन्दर्भमा कोही न कोही त बोल्नैपर्छ।
हो, संसारका अन्य देशहरु जस्तै अमेरिकाले पनि आफ्नो सामरिक स्वार्थ हेर्ने र आफूसँग सहकार्य गर्ने शक्तिहरूको हितमा उभिने काम गर्छ र गर्दै आएको छ।
सबैले आफ्नो देशको हित अनकुल कुटनीति अनुशरण गर्न पाउने अमेरिकाले नपाउने भन्ने हुँदै भएन। त्यसै अनुसार अमेरिकाले नेपालसँगको सम्बन्धलाई सदैव उच्च महत्व दिदैँ आएको छ।
आफूले उच्च महत्व दिएको मित्र राष्ट्रले आफुले गरेको सहयोग र साथको सम्मान गर्दै आफू प्रतिकुल काम नगरोस भन्ने आशा राख्दै काम गर्नुलाई अन्यथा मान्न मिल्दैन। तथ्यले अन्यथा प्रमाणित नगरुन्जेल हालसम्म प्रमाणित तथ्य के हो भने अमेरिका नेपालको असल मित्र हो।
अनि त्यो सत्यताको बिचमा नकारात्मकता बेचेर, अफवाह फैलाएर, देशै जलाउन भूमिका खेल्ने वा खेलेका शक्तिहरूसँग मित्र राष्ट्र अमेरिका वा छिमेकी मित्र राष्ट्रहरू चीन वा भारतले नै पनि सहकार्य गर्ला वा गरेको होला भन्ने ठान्नु मुर्खता हो।
अति सुक्ष्म अध्यन अनुसन्धान गरेर आफ्नो कुटनीति तय गर्ने जिम्मेवार देशहरुले नेपाली जनताले देशको स्वाभिमानसँग जोडिएको धरोहरहरू जलाउने कुपात्रहरूको पहिचान गर्नेछन् र तीनलाई छिट्टै दण्डित गर्नेछन् भन्ने नबुझेको होला भन्ने ठान्ने अल्पज्ञानी चाहिं कमसेकम नबनौं न।
अनि जनताको मनमा रहेको असन्तुष्टि र आक्रोशको जगमा टेकेर देश जलाउँदै अगाडी बढ्ने सोच भएका ठग, अराजक अपराधीहरूको निकृष्टता चिनेको दिन जनताले तीनलाई दण्डित गर्नेछन् र त्यो दिन आउन समय लाग्दैन भन्ने सत्य बुझेको अमेरिका, भारतलगायत देशहरूले ठग अराजक आतंककारीसँग हतारो गरेर हात मिलाउलान् भन्ने निष्कर्ष आफैंमा गलत र प्रतिउत्पादक हुन्छ।
त्यसैले दुरगामी रुपमा आफ्ना छिमेकी र मित्र राष्ट्रहरूसँगको सम्बन्ध मजबुत बनाउन भूमिका खेल्नुपर्ने दलहरू तीनका नेता र कार्यकर्ताहरूले चाहिं आफ्ना मित्र राष्ट्रहरूको नियतमाथि कुतर्कको आधारमा सवाल खडा गर्ने गराउनेहरूलाई बढावा दिने हैन निरुत्साहित गर्नुपर्छ।
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया