आइतबार, ०५ अप्रिल २०२६

रास्वपाद्वारा नवनिर्वाचित सांसदहरूका लागि दुईदिने अभिमुखीकरण कार्यक्रम आयोजना

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूका लागि दुई दिने विशेष अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ। 

प्रत्यक्ष तथा समानुपातिकतर्फबाट निर्वाचित सबै सांसदहरूलाई अनिवार्य उपस्थित हुन निर्देशन दिँदै पार्टीले आगामी चैत ३ र ४ गतेका लागि कार्यक्रम तय गरेको हो।

​ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा आयोजना हुने उक्त कार्यक्रम पूर्ण रूपमा आवासीय हुने पार्टीले जनाएको छ।

महामन्त्री कविन्द्र बुर्लाकोटीद्वारा जारी आन्तरिक सूचना अनुसार कार्यक्रम अवधिभर सांसदहरूका लागि खाना र आवासको व्यवस्था 'सेयरिङ' आधारमा पार्टीले नै गर्नेछ।

चैत ३ गते बिहान १० बजेबाट सुरु हुने यस अभिमुखीकरणमा सांसदहरूलाई 'बिजनेस क्याजुअल' पोशाकमा उपस्थित हुन भनिएको छ।

​पार्टीले कार्यक्रमलाई निकै मर्यादित र अनुशासित बनाउन कडा आचारसंहिता समेत लागू गरेको छ। कार्यक्रम सञ्चालन भइरहेको हलभित्र मोबाइल फोन प्रयोग गर्न पूर्ण रूपमा निषेध गरिएको छ। 

त्यस्तै, कार्यक्रम स्थलमा परिवारका सदस्य, साथीभाइ वा अन्य कुनै पनि पाहुनालाई आमन्त्रण नगर्न र बाह्य व्यक्तिसँग भेटघाट वा फोटो खिच्ने जस्ता गतिविधि नगर्न समेत सांसदहरूलाई निर्देशन दिइएको छ।

​सांसदहरूसँग आउने सवारी चालक वा अन्य सहयोगीहरूको भोजन र आवासको प्रबन्ध भने सम्बन्धित सांसद स्वयंले गर्नुपर्ने र उनीहरूलाई होटल बाहिर वा अन्य स्थानमा व्यवस्थापन गर्न आग्रह गरिएको छ। 

संसदीय अभ्यास, पार्टीको राजनीतिक कार्यदिशा र आगामी योजनाका विषयमा सांसदहरूलाई प्रशिक्षित गर्न यो कार्यक्रम आयोजना गरिएको रास्वपा स्रोतले जनाएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!