बुधबार, ०२ सेप्टेम्बर २०२६

कांग्रेसको आरोपः फिल्डमा देखिनुपर्ने सरकार फेसबुकमा देखियो

News Image
• • •

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले विपद्को बेला फिल्डमा देखिनुपर्ने सरकार सामाजिक सञ्जालमै अल्झिएको आरोप लगाएका छन्।

बुधबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले सरकार परिणाम दिन र प्राण जोगाउन भन्दा प्रचार मिलाउन लागेको बताए।

‘स्थलगत अवलोकन र उद्धारको पर्खाइमा पीडित परिवारका गन्थन सुनेपछि आज यो संसद्‍मा भन्न बाध्य भएको छु, सरकार सामाजिक सञ्जालमा अल्झियो। जोखिम समुदायमा समयमा पुग्न सकेन। सरकार परिणाम दिन र प्राण जोगाउन भन्दा प्रचार मिलाउन लाग्यो। फिल्डमा भन्दा फेसबुकको हल्लामा लाग्यो।’

आङ्देम्बेले सुरुङभित्र फसेका नागरिकको खोज तथा उद्धारमा भएको ढिलाइ अमानवीय र गम्भीर भएको आरोप लगाए। अझै पनि ६२ जिल्लाका ३९१६ नागरिक सम्पर्कविहीन भएको विवरण आएकोप्रति उनले सरकारको ध्यानाकर्षण गराए।

उनले सुरुदेखि नै सरकारी, निजी र आवश्यक परेको खण्डमा अन्तर्राष्ट्रिय प्रविधि र दक्ष टिमसहित उद्धारमा केन्द्रित हुनुपर्ने बताए।

‘खोज तथा उद्धार अहिले सबैभन्दा बढी खड्किएको विषय छ। अझै पनि ६२ जिल्लाका ३९१६ नागरिक सम्पर्कविहीन भएको विवरण आएको छ। समयक्रममा यो अझै बढ्न सक्छ। समयक्रममा यो अझै बढ्न सक्छ। सुरुङभित्र फसेकाका खोज तथा उद्धारमा भएको ढिलाइ अमानवीय र गम्भीर विषय हो,’ उनले भने।

आङ्देम्बेले कांग्रेस विपद्‍को समयमा सरकारको साथमा रहे पनि सरकारले गरेका सबै कामलाई आँखा चिम्लेर समर्थन नगर्ने स्पष्ट पारे।

‘विपद्‍मा सरकारको साथमा छौँ भन्नुको अर्थ सरकारले गरेका सबै कुरा माफ भन्ने पनि होइन। राम्रो काम गर्छ, साथ–समर्थन छ। बाटो बिराउँछ भने खबरदारी र प्रश्न पनि छ। खास सहयोग यही होइन र? जब ठीकठाक हुँदैन, हामीले मौनता साध्यौँ, खबरदारी गरेनौँ र प्रश्न गरेनौँ भने हामी जिम्मेवारी र कर्तव्यबाट विमुख रहेको ठहर छ। त्यसैले यो पूर्वाग्रह होइन, प्रश्न हो। हामी सरकारलाई कमजोर होइन, प्रभावकारी प्रश्न गरिरहेका छौँ। यो प्रचार होइन, प्राण बचाउने समय हो। नागरिकको जीवनसँगको प्रश्नलाई गालीको विषय होइन, आफैँभित्र समीक्षाको विषय बनाउनुहोला,’ उनले सरकारलाई र सत्ताधिन साथिहरुलाई आग्रह गर्दै भने।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!