सोमबार, ०७ सेप्टेम्बर २०२६

राष्ट्रपतिद्वारा भोटेकोशीमा आएको बाढीबाट प्रभावित नुवाकोटको स्थलगत अवलोकन

News Image
• • •

राष्ट्रपति रामचन्द्र पौडेलले यही भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नुवाकोट जिल्लाको विभिन्न क्षेत्रको सोमबार स्थलगत अवलोकन गरेका छन्।

साथै उनले यहाँ रहेका बाढी प्रभावित र पीडितहरूसँग भेटघाट गरी उनीहरुको गुनासो समेत सुनेका छन्।

उनले नुवाकोटमा भोटेकोशीमा आएको बाढीको प्रभाव एवम् त्यसबाट सृजित क्षतिको जिल्ला सुरक्षा समितिबाट जानकारी लिए। सो अवसरमा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीसहितका समितिका सदस्यहरूले रसुवा बाढीले जिल्लामा पुर्‍याएको धनजनको क्षतिबारे विवरण प्रस्तुत गरेका थिए।

साथै, प्रमुख जिल्ला अधिकारी रेग्मीले बाढी पीडितको खोज, उद्धार, राहत, पुनर्स्थापना तथा तत्काल निर्माणका सम्बन्धमा भइरहेका कामबारे पनि राष्ट्रपति पौडेललाई जानकारी गराए।

सो क्रममा राष्ट्रपति पौडेलले नुवाकोटस्थित बाढी प्रभावितहरु रहेको होल्डिङ सेन्टरको समेत अवलोकन गरे। त्यहाँ बाढीबाट प्रभावित नागरिकहरुले भोटेकोशीमा आएको अकल्पनीय बाढीले पुर्‍याएको धनजनको क्षतिबारे जानकारी गराएका थिए। साथै, खोज, उद्धार र राहत एवम पुनर्स्थापनाका लागि सरकार र सहयोगदाता सरोकारावालाले अझ तदारुकता देखाउनुपर्ने बताएका थिए।

राष्ट्रपति पौडेलले आजै बाढी प्रभावित क्षेत्रमध्ये नुवाकोटको त्रिशुलीमा रहेको नेपाली सेनाको क्याम्प तथा रसुवा बाढीप्रभावित क्षेत्रको पनि अवलोकन गरेका छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!