मङ्गलबार, १० मार्च २०२६

एन्फा मुख्यालयमा लगाइएको ताला खुल्यो, चैत ३० मा ‘ए’ डिभिजन लिग उद्‍घाटन गर्ने सहमति

News Image
• • •

नेपाल फुटबल खेलाडी संघले आफ्ना मागहरू पूरा नभएको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा)को मुख्यालयमा लगाएको ताला खुलेको छ।

खेलाडी संघसँग सहमति भएपछि ताला खुलाइएको एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए।

एन्फा र खेलाडी संघबीच भएको सहमतिबारे जानकारी दिन आजै पत्रकार सम्मेलन पनि गरेको छ। सम्मेलनमा एन्फा र नेपाल फुटबल खेलाडी संघबीच ए डिभिजन लिगको उद्घाटन खेल आउँदो ३० चैतमा गर्ने सहमति भएको जानकारी गराइएको छ।

खेलाडी संघले राखेका मागहरूको अन्य बुँदामा पनि सहमतिमा पुगेको शाहले जानकारी दिएका छन्।

खेलाडी संघका अध्यक्ष विक्रम लामाले लामो समयको संघर्षपछि एन्फा लिग गराउने विषयमा स्पष्ट भएको बताए।

‘लामो समयको सडक संघर्षपछि एन्फाले लिग गर्छौं भन्ने धारणा राख्नुभयो र मिति पनि तोक्नुभयो। यसअघि गर्छौं–गर्छौं भने पनि मिति तोकिएको थिएन। हामी लगातार संघर्ष गर्दै अन्ततः ताल्चा लगाउने स्थितिमा पनि पुगेका थियौं’ उनले भने।

विसं २०७९ मा पछिल्लो संस्करणको ए डिभिजन लिग भएपछि नयाँ सिजन सुरु हुन सकेको छैन। ए डिभिजन लिग सुरु नभएको १००० दिनभन्दा बढी भइसकेको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!