आइतबार, ३१ मे २०२६

चीनलाई हराउँदा नेपालको नाममा के–के बन्यो रेकर्ड?

News Image
• • •

एसियन गेम्स क्वालिफायर्समा टी–२० क्रिकेटको विश्व वरीयतामा ८९ औं नम्बरमा रहेको चीनमाथि १७ औं स्थानमा रहेको नेपालले फराकिलो अन्तरको जित निकालेको छ।

सिंगापुरमा नेपालले रेकर्डमाथि रेकर्ड बनाएको खेलमा चीनलाई २२१ रनको विशाल अन्तरले हराएको छ।

नेपालले दिएको ३१३ रनको लक्ष्य पछ्याएको चीन अन्तिम ओभर पूरा नखेली ९२ रनमै अलआउट भयो।

खेलमा नेपालले बनाएको ३१३ रन टी–२० मा तेस्रो उच्च स्कोर बनेको छ। नेपालले यसअघि मंगोलियाविरुद्ध ३१४ रनको स्कोर खडा गर्दै विश्वकिर्तिमान बनाएको थियो। यद्यपि उक्त स्कोर यतिबेला दोस्रो उच्च स्कोरमा सीमित भएको छ। नेपालको रेकर्ड जिम्बाबेले गाम्बियाविरुद्ध ३४४ रन बनाउँदै तोडेको थियो।

चीनविरुद्धक खेल विशाल रन अन्तरले जितेको नेपाल टी–२० अन्तर्राष्ट्रियमा दुईपटक ३ सय रन पार गर्ने पहिलो राष्ट्र बनेको छ।

त्यस्तै नेपालले एउटै टी–२० अन्तर्राष्ट्रिय म्याचमा सर्वाधिक २९ छक्का हानेको स्पेनको कीर्तिमानमा बराबरी गरेको छ। सर्वाधिक छक्का हान्ने तेस्रो रेकर्ड पनि नेपालकै नाममा छ। मंगोलियाविरुद्धको म्याचमा नेपालले २६ छक्का प्रहार गरेको थियो। दोस्रोमा रहेको जिम्बाबेले गाम्बियाविरुद्ध २७ छक्का हानेको थियो।

यता नेपालका ओपनर कुशल भुर्तेलले चीनविरुद्ध एकै ओभरमा लगातार ६ छक्का प्रहार गर्दै टी–२० मा यस्तो दुर्लभ ब्याटिङ गर्ने विश्वकै पाँचौं ब्याटर बनेका छन्।

यसअघि टी–२० अन्तर्राष्ट्रियमा चार ब्याट्सम्यानले मात्रै एक ओभरमा छक्का हानेका छन्। भुर्तेलको रेकर्डसँगै नेपालको नाममा टी–२० अन्तर्राष्ट्रियमा एकै ओभरमा ६ छक्का प्रहार गर्ने दुई ब्याटरको टीमको कीर्तिमान बनेको छ।

नेपालका दीपेन्द्रले २०२४ मा कतारविरुद्धको म्याचमा एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए।

उनीहरूबाहेक भारतका युवराज सिंहले (ईंग्ल्यान्डविरुद्ध), वेस्ट इन्डिजका केइरन पोलार्डले (श्रीलंकाविरुद्ध) र सामोआका डेरियस भिसरले (भानुआटुविरुद्ध) एकै ओभरमा छ छक्का हानेर कीर्तिमान बनाएका छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!