बिहिबार, ०४ जुन २०२६

भुटानका खेलाडीलाई ‘टाइम आउट’ गराएपछि क्यानले माग्यो माफी

News Image
• • •

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली महिला राष्ट्रिय टोलीले भुटानी ब्याटरलाई ‘टाइम आउट’ गरेको घटनाप्रति माफी मागेको छ।

बिहीबार क्यान सचिव पारस खड्काले विज्ञप्ति जारी गर्दै भुटानी ब्याटरलाई  ‘टाइम्ड आउट’ गराइएको घटना आफूहरूले जोगाउन खोजेको क्रिकेटको मूल्य र भावनाअनुसार नभएको बताएका छन्।

क्यानले महिला टोलीले क्रिकेटको नियमअनुसार अपिल गरेको भए पनि खेल भावना केवल लिखित नियममा सीमित नहुने र सँधै आचरणको केन्द्रमा रहनुपर्ने बताएको छ।

क्यानले भुटान क्रिकेट तथा सम्बन्धित खेलाडी र अन्य सरोकारवालाप्रति क्षमायाचना प्रकट गरेको छ।

एसीसी महिला प्रिमियर कप अन्तर्गत नेपाल र भुटानबीचको खेलमा भुटानकी तेस्रो नम्बरकी ब्याटर रिट्सी छोडेन ९० सेकेन्डको निर्धारित समयभित्र क्रिजमा नआइपुगेपछि नेपाली टोलीले नियमअनुसार नै ‘टाइम आउट’को अपिल गरेका थिए।

अपिलअनुसार अम्पाएरले उनलाई आउट गरिदिए। सोही घटनामा क्यानले भुटानी टोलीसँग क्षमा मागेको हो।

यस्तो छ क्यानको विज्ञप्तीः

आजको खेलका क्रममा भुटानी ब्याटरलाई ‘टाइम्ड आउट’ गराइएको घटनाले नेपाल क्रिकेट संघ (क्यान)ले जोगाउन र प्रवर्द्धन गर्न खोजेको क्रिकेटको मूल्य र खेलभावनालाई प्रतिबिम्बित गर्दैन।

नेपाल क्रिकेट संघका तर्फबाट यस घटनामा महिला राष्ट्रिय टोलीको कार्यप्रति हामी हार्दिक क्षमायाचना व्यक्त गर्दछौं।

उक्त आउट क्रिकेटका नियमअनुसार भएको भए पनि खेलको भावना केवल लिखित नियममा सीमित हुँदैन भन्ने कुरालाई हामी स्वीकार गर्छौं। खेलभावना सधैं हाम्रो आचरणको केन्द्रमा रहनुपर्छ।

क्रिकेट विकासको चरणमा रहेको राष्ट्रका रूपमा हामी खेलभावना, पारस्परिक सम्मान र निष्पक्ष खेललाई उच्च प्राथमिकता दिन्छौं। यो घटनाले ती मापदण्डअनुसार व्यवहार हुन नसकेको हामी स्वीकार गर्दछौं र यसबाट उत्पन्न हुन सक्ने कुनै पनि निराशाप्रति दुःख व्यक्त गर्दछौं।

हामी भुटान क्रिकेट, सम्बन्धित खेलाडी तथा यससँग सम्बन्धित सम्पूर्ण सरोकारवालाप्रति हार्दिक क्षमायाचना व्यक्त गर्दछौं।

नेपाल क्रिकेट संघ मैदानभित्र र मैदानबाहिर दुवै स्थानमा इमान्दारिता, उच्च नैतिक मापदण्ड र क्रिकेटको भावनालाई कायम राख्न दृढ प्रतिबद्ध छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!