सोमबार, ३१ अगस्ट २०२६

फुटबल इतिहासमा मेस्सी युगको अन्त्यः राष्ट्रिय टीमबाट लिए सन्यास

News Image
• • •

अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले राष्ट्रिय टोलीबाट २०७ खेल खेल्दै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्।

सोमबार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै मेसीले आफूले अर्जेन्टिनाको जर्सीका लागि सधैं सबै कुरा दिएको उल्लेख गर्दै राष्ट्रिय टोलीबाट सन्यास लिएको घोषणा गरेका हुन्।

मेस्सीले लेखेका छन्, ‘यो निर्णयले मलाई पीडा दियो र अझै पनि मनको गहिराइमा पीडा भइरहेको छ। तर अब समय आएको छ भन्ने मैले बुझेको छु। म तपाईंहरूलाई कसम खाएर भन्छु, मैले सधैं आफ्नो सम्पूर्ण क्षमता दिएँ। पछिल्ला केही वर्षमा हामीले सबै कुरा जितेका बेला मात्र होइन, त्यसअघि पनि मैले यो जर्सीका लागि सधैं संघर्ष गरेँ र मैदानमा आफ्नो सबैथोक दिएँ। तपाईंहरूलाई खुसी बनाउन र फुटबलमार्फत अर्जेन्टिनी भएकोमा गर्व महसुस गराउन मैले सधैं प्रयास गरेँ।’

 उनले राष्ट्रिय टोलीमा आफ्नो यात्रा निकै भावुक रहेको उल्लेख गर्दै आफूले अब दिनुपर्ने केही बाँकी नरहेको र नयाँ पुस्ताका प्रतिभाशाली खेलाडीहरू राष्ट्रिय टोलीमा आउँदै गरेकाले उनीहरूलाई अवसर दिनुपर्ने पनि मेसीले बताएका छन्।

‘मैले आफूसँग भएको सबै कुरा दिएँ। अब दिनका लागि मसँग केही बाँकी छैन। साथै, केही उत्कृष्ट युवा खेलाडीहरू पनि अघि आइरहेका छन्, जो राष्ट्रिय टोलीमा रहने अवसरका हकदार छन्।’

उनले आफूले अन्तर्राष्ट्रिय खेलजीवनबाट सन्न्यास लिने विज्ञप्ति विश्वकपको फाइनल भएको दुई दिनपछि, जुलाई २१ मै लेखिसकेको खुलाएका छन्। पिता जर्जको गत महिना निधन भएपछि भने उक्त विज्ञप्ति सार्वजनिक गर्ने र अन्तर्राष्ट्रिय खेलजीवन अन्त्य गर्ने यो नै सही समय भएको आफूलाई लागेको उनले बताएका छन्।

पिताको निधनपछि लेखेको विज्ञप्तिमा उनले ‘अब धेरै समय खेलिरहने कि नरहने भन्ने विषयमा केही शंका’ रहेको बताएका थिए। उनले स्पेनविरुद्धको विश्वकप फाइनलमा अर्जेन्टिनाको हारका क्रममा आफू शारीरिक रूपमा कति संघर्षरत थिए भन्ने पनि खुलासा गरेका थिए।

उनले लेखेका थिए, ‘मेरा खुट्टाले अब थप साथ दिन सकेनन्। यसपटक मैले आफ्नो शारीरिक सीमाभन्दा पनि माथि गएर आफूलाई धकेल्ने प्रयास गरेँ, तर सकिनँ।’

३९ वर्षमा सन्यासको घोषणा गरेका मेस्सीले सन् २००५ मा अर्जेन्टिनाको राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए। उनले सन् २०२२ मा विश्वकपको उपाधि जिताएका उनले यसै वर्षको भएको विश्वकप तथा सन् २०१४ को विश्वकपमा टोलीलाई उपविजेता बनाएका थिए। उनले अर्जेन्टिनाका लागि दुईपटक कोपा अमेरिका उपाधिसमेत जितेका छन्।

मेस्सी हाल इन्टर मियामीबाट खेलिरहेका छन्। उनीसँग क्लबको सम्झौता सन् २०२८ सम्म रहेको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!