हामी छिम्केश्वरी घुम्यौं, तपाईँ नि?

तस्बिरः सुरेन्द्र

जिन्दगी भनेको नै यात्रा हो। आफैंमा एक यायावर बनिसकेपछि हिँड्नु मै आनन्द छ, घुम्नु मै मस्ती छ। आखिर जिन्दगीको सूर्यास्त भएपछि पुनः कहाँ भेटिन्छ र यस्तो जिन्दगी।

कहिले काहीँ आकस्मिक यात्राको प्रतिफल पनि मिठो हुन्छ। सयौं चोटि चितवन- बुटवल - काठमाडौं ओहोर दोहोर गर्दा होस या पोखरा- स्याङ्जा जाँदा, मुग्लिङ पुगेपछि मर्स्याङदी र त्रिशूली नदिको दोभानमाथि तनहुँको डाँडातिर सधैं मोटरको झ्यालबाट चियाउँथे।

काखमा बगिरहेको त्रिशूली र मर्स्याङ्दी नदी त्यहीँ माथि अग्लो र सुन्दर डाँडा। सधै मनमनै कल्पना गर्थेँ- त्यहाँ माथिको गाउँ र वरिपरिको दृश्य कस्तो होला?
सुनेको थिएँ- टुप्पोमा छिम्केश्वरी मन्दिर छ रे ।

केही वर्षअघि भिटोफले कोरिखा गाउँमा होमस्टेको भ्रमण गराएको थियो । त्यही बेला सुनेको थिएँ - यो डाँडैडाँडा नछोडी गए छिम्केश्वरी पुगिन्छ।

यसपल्ट भने दशैंमा त्यहाँ पुग्ने मौका जुर्‍यो। टीकाको भोलिपल्ट अचानक दमौलीका साहित्यकार सागर दाइले 'छिम्केश्वरी घुम्न आउनू है?' भनेर फोनमै छोटो निम्तो दिनुभयो।

धेरै अगाडि देखिको योजना पुरा हुने आशमा उत्साहित भएँ। निम्तो पाउनासाथ मित्र अमृत भादगाउँलेजीलाई तु फोन लगाएँ।

ससुरालीमा टीका थाप्न स-परिवार पोखरा गएका भादगाउँलेले बेलुकासम्म खबर गर्ने भने। तर, राति अबेरसम्म उनको फोन आएन।

भोलिपल्ट एकाबिहानै उनैले फोन गरेर म काठमाडौंबाट जाने र उनी पोखराबाट सिधै दमौली पुगेर सागर दाइकोमा भेट्ने निर्णय सुनाए।

उनकै निर्णय पर्खिरहेको म बिहान ८ बजे तिरै हतार-हतार झोलामा क्यामेरा, ल्यापटप र केही समान प्याक गरेर कलंकी हानिएँ।

दसैंको बेला गाडी पातलो चलेको थियो। जे पाउँछ त्यहीँ चढ्ने गरी तयार भएको मैले पोखरा जाने एउटा माईक्रो फेला पारेँ। त्यो पनि यात्रु कोचाकोच थिए। मलाई खलासी भाइले पछाडि बिचको सिट देखाए। अण्डाको खोलमाथि चट्टी राखेर बनाएको सिट रहेछ। यात्राको मज्जानै यही हो। जस्तो अवस्था छ त्यस्तै स्वीकार्नु।

दिउँसो साढे १ बजेनै म दमौली पुगेँ। सागर दाइलाई भेटेर खाजा-साजा खादाँसम्म अमृतजी आइपुगेका थिएनन्। उता डुम्रेमा हामीलाई ५ बजेदेखिनै जिप रोकेर कुरिरहेका थिए श्रीराम दाइ।

हामी त्यहाँ पुग्दा साँझको ६ बजिसकेको थियो।

त्यसपछि हामी चार सागर दाइ, भादगाउलेजी, आँबुखैरेनीका साहित्यकार श्रीराम भट्टराई र म बन्दिपुरको उकालो तिर गाडीमा हुईँकियौं।

पृथ्वी राजमार्गको पिप्लेबाट साँझपख उकालो लागेको जिप बन्दिपुरहुँदै तेर्सो बाहुन भञ्ज्याङ (१०१५मि) पुगेर खाजा खानका लागि केही बेर रोकियो।

कोरिखा होमस्टे यहीँबाट बाँयातिर छुटिन्छ। साँझ ढल्किँदै थियो। त्यही बेला श्रीराम सरले ‘ऊ त्यही पर बादलले ढाकेको डाँडा हो हाम्रो गन्तब्य भनेर देखाए।

कच्ची बाटोहुँदै गाडी हुईकिँदै थियो, बिस्तारै रात पनि पर्दै थियो। कहिले हल्का उकालो त कहिले तेर्सो, साल घारीको जङगलको बिच बाटो हुँदै हाम्रो यात्रा अगाडि बढ्यो।

घलेडाँडा नपुग्दै झमक्कै रात पर्यो। त्यहीँबेला ड्राइभर भाइ राजकुमारले बाटो अल्मलिएछन्। साहुलाई फोन गरेर बाटो पत्ता लगाए। हाम्रो गन्तब्य भोटेस्वाँरा अझै ३० मिनट जति लाग्ने उनले बताए।

त्यसपछि भीरको बाटो हुँदै जिप हुइँकियो। 'दिनमा भए सातो जाने भीर छ', श्रीराम दाईले डर देखाउँदै थिए। दायाँ छेउको सिटमा सागर दाइ बसेका थिए, भीरदेखि डराउने उनी पनि म जस्तै थिए। धन्न अध्यारो भएकोले भीर देखिएन। 'थ्याङ्क्स गड,' मन मनै भगवानलाई धन्यवाद दिएँ।

भोटेश्वाँरा पुग्दा रातको साढे ८ बजेको थियो। हाम्रो बास बस्ने ठाउँ मुखिया बा (मैते गुरुङ) को घर थियो। केही बेर खोजेपछि बास बस्ने ठाउँ पुग्यौं। हामी त्यहाँ पुग्दा दमौलीका एक हुल युवा म्युजिक घन्काउँदै, तरकारी पकाउनमा व्यस्त थिए।

मुखिया बा'की बुहारीले हाम्रा लागि खाना र तरकारी पकाइदिने भइन्। तर, कुखुरा चाहीँ आफैं पकाउनुपर्ने भनिन्। गज्जबको सिस्टम लाग्यो। आफ्नै तरिकाले मासु बनाउन पायौं। त्यसपछि श्रीराम दाइ र म कुखुरा मर्मत गर्न तिर तम्सियौं, सागर दाइले पकाउने जिम्मा लिए। भादगाउलेजी निद्राले हाई काढ्दै थिए।

सागर दाईले दुई थरि मासुको परिकार बनाउने भए - भुटुवा र झोल मासु। तरकारी पाकेपछि नारेपा र भुटुवाको स्वादमा रात बितेको पत्तै पाइएन।

७० वर्ष कटेका मैते गुरूङ 'मुखिया बा' निकै जोशिला थिए। उनका पुराना गफमा हामी भुलियौं। नारेपाको सर्कोसँगै उता युवा भाइहरू गितार र म्युजिकको तालमा रमाइरहेका थिए।

मुखिया बा'ले हामीलाई खानपिन र नारेपा जति गरे पनि रातिनै गर्न सुझाए।

बिहान केही नखाई चोखो भएर मन्दिर दर्शन गर्न जानुपर्ने उनले सुझाए। रात निकै छिप्पिसकेको थियो, लामो यात्राले थाकेको ज्यान भुसुक्कै निदाइएछ।

बिहानी घामको किरणले हामीलाई न्यानो स्वागत गर्यो। हामी पनि हात मुख धोएर चोखो भएर छिम्केश्वरी उक्लने तयारीमा लाग्यौं।

प्राय मन्दिर जाने तिर्थालुहरु १५०० मिटर उचाइमा रहेको गुरूङ गाउँ भोटेश्वाँरामा बास बस्न आइपुग्छन्।

डुम्रेबाट सिधै लाब्धी हुँदै जिपमा यहाँसम्म बास बस्न आईपुग्छन्। तर, हामी डुम्रेबाट बन्दिपुरहुँदै आयौं।

छरपस्ट घर भएका गाउँमा गुरूङ समुदायका बसोबास छ। वरिपरिका घरमा होमस्टे छन्। यहाँ खानपिन र बास बस्नेको राम्रो ब्यवस्था छ।

तर, अलि समयमा आउँदा स्थानीयलाई अर्गानिक खानपिन र बासको ब्यवस्था गर्न सहज हुन्छ। हामी त्यो दिन निकै ढिला पुग्यौं। तर पनि आत्मीय सत्कारसहित हामीले बास पायौं।

बिहान साढे ६ बजेतिर हामी ४ जना उकालो लाग्यौं। अर्को समूहको भाइहरु पछि पछि थिए। ६ जनाको समूहका दुई जना गले। उकालो चढ्न सकेनन्। उनीहरु फर्के।

ढुङगा माटाले बनेका घर हेर्दै, कोदोबारीको हरियाली भएर उकालो चढ्यौं। बिस्तारै यात्रा अगाडि बढ्दै गयो।

ठाउँ ठाउँमा आराम गर्नका लागि प्रतिक्षालय बनाइएको रहेछ। घाम बिस्तारै छिप्पिदै थियो, पर परसम्म देखिने डाँडा र समथर भूभागको दृश्य लोभलाग्दा थिए।

बिस्तारै भुईँ कुहिरोले ढाक्दै थियो। करिब १ घण्टा हिँडेपछि, उत्तर तिर लामो हिमालको लर्कन देखापर्‍यो।

आहा! त्यो मनोरम दृश्यले सबैको ध्यान तान्यो। तर, हामी अलि ढिला भएछौं। बादलले हिमाल छेक्दै थियो। जति जति माथि उक्लिँदै गयो, हिमाल झन झन सेता देखियो।

तर, सूर्योदयको लागि उपयुक्त समय हामीले छुटायौं। हैट! अलि बिहानै आउनुपर्ने रहेछ - थक थक लाग्यो। केही ढिला भएछ।

छिम्केश्वरी मन्दिरको दर्शन

छिम्केश्वरी मन्दिर पुग्दा बिहानको साढे ८ बजेको थियो। वाह! चारैतिरको दृश्य निकै मनमोहक थियो।

त्यहाँ पुग्नेवित्तिकै आँखै अगाडि हिमाल टल्किए। धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, लमजुङ, मनास्लुदेखि गणेश हिमालसम्मको लर्कन थियो। हरिया डाँडामाथि मडारिएको भुइँकुहिरोमाथि टलक्क टल्केका हिमाल साच्चै रमाइलो थियो। आँखाभरि, मनभरि र क्यामेराभरि खिच्यौं हामीले। तर, जति खुल्नु पर्ने हो त्यति हिमाल खुलेका थिएनन्। यद्यपि मनमा एक किसिमको सन्तुष्टि मिल्यो।

उत्तर तिर तनहुँ र गोरखाका भूभागहरु धेरै परसम्म देखिदो रहेछ। अलि मुन्तिर भुईकुहिरोले बेसि धपक्कै ढाकेको थियो। दक्षिणतिर चितवनको समथर भुभागलाई कुहिरोले सेतो कपास जस्तै ढाकेको थियो।

छिम्केश्वरी तनहुँ जिल्लाको सबैभन्दा अग्लो भूभाग, समुन्द्र सतहबाट २१५० मिटर अग्लो डाँडामा छ। महाभारत पर्वत श्रृंखलाको पनि अग्लो डाँडा भन्दै थिए सागर दाइ।
धार्मिक आस्थाको केन्द्र छिम्केश्वरी प्राकृतिक सौन्दर्यले पनि उत्तिकै सुन्दर रहेछ।

पोखरा र बन्दिपुरको ओझेलमा परेको पर्यटकीय ठाउँको प्रचार प्रसार र पूर्वाधार विकास गर्नसके तनहुँकै उत्कृष्ट गन्तब्य बन्न सक्छ छिम्केश्वरी। यसमा स्थानीय र प्रदेश सरकारको ध्यान जान जरूरी छ।

छिम्केश्वरी माताको मन्दिर बन्ने क्रममा रहेछ। पिल्लर ठड्याइसकेको रहेछ। बीचमा देवीको प्राचीन शीला छ। शीलामाथि त्रिशूल, घन्ट, दियो, पाला आदि चढाइएको थियो।
छिम्केश्वरीलाई बोका र परेवा मात्र बलि दिइँदो रहेछ। तिर्थालु उनलाई सम्झेर भाकल गर्दा रहेछन्। र, त्यो भाकल पुरा भएपछि परेवा चढाउन, पूजा गर्न र बोका चढाउन आउँदा रहेछन्। 

छिम्केश्वरी मन्दिरको बारेमा अनेक किस्सा छन्। कसैले छिम्के डाडाँमा ईश्वर बास बसेकोले छिम्केश्वरी नामकरण रहेको भनाई छ। अर्को किम्बदन्ती अनुसार छिम्केश्वरी, मनकामना र ईच्छाकामना तीन दिदी बहिनी हुन् भनेका छन्। कसैले ७ दिदी बहिनी मध्ये यिनी एक हुन् समेत भनेका छन्।

यहाँ भाकल गर्नाले मनोकंक्षा पुरा हुने विश्वासले तिर्थालुहरू परेवा र बोकाको बलि दिने चलन रहेछ। छिम्केश्वरीको दर्शनले सबैखाले मनोकांक्षा पुरा हुन्छ। सन्तान नहुनेको सन्तान हुन्छ। धन नहुनेले धन प्राप्त गर्छ। पदोन्नती हुन्छ। सुख र शान्ति मिल्छ भन्ने विश्वास छ।

लाब्दी गाउँका पूजारी धन बहादुर गुरूङका अनुसार यहाँ हरेक शनिबार र पञ्चमीमा तिर्थालुको भीड लाग्छ। वैशाख १ गते र फागु पूर्णिमाका दिन यहाँ ठूलो मेला लाग्छ।
छिम्केश्वरीको काखमा भोटेस्वाँरा, हिलेखर्क, लाब्दी र घलेडाँडा गरि चार गाउँ छन्। सबै गुरूङ गाउँ रहेछ। हिलेखर्कबाट तीन घन्टा उकालो पदयात्रामा छिम्केश्वरी पुगिन्छ। अन्य तीन गाउँबाट डेढ घन्टादेखि दुई घन्टामा टुप्पोमा पुगिन्छ। घलेडाँडाबाहेक बाकी सबै गाउँमा सामुदायिक होमस्टे सञ्चालित छन्।

यी चारवटै गाउँका एक–एक जना पूजारी रहेन ब्यबस्था रहेछ। सबै पूजारी गुरुङ समुदायका हुन्।

छिम्केश्वरी विकास समितिका अध्यक्ष तिल बहादुर गुरुङले छिम्केश्वरीलाई धार्मिक पर्यटनको गन्तब्य बनाउन आफू लागिपरेका बताए। एक वर्ष अगाडि समिति बनाएर काम भइरहेको उनले जानकारी दिए।

हामीले छिम्केश्वरी देवि सँगै नजिकै रहेको बनकालीको पनि दर्शन गर्यौं।

करिब २ घण्टा डाँडामा बिताएका हामीले त्यहाँको प्राकृतिक सुन्दरताको भरपुर आनन्द लियौं। यहाँ एक रात बस्दा सूर्योदय र सूर्यास्त दुबैको मजा लिन सकिन्छ।

फर्किँदा बनकाली मन्दिर नजिकबाट अर्को बाटो ओह्रालो लाग्यौं। सागर दाइ र म अलि पछि हिँड्डै थियौं। अमृतजी र श्रीराम दाइ निकै अगाडि हिँडेछन्।

हामी भने उनीहरूले बाटो बिराए होला भनेर स्याउ र मुलको चिसो पानी पिउँदै र बिसौनामा आराम गर्दै बिस्तारै ओरालो झर्यौं। करिब १ घण्टामै हामीले कच्ची सडक भेट्टायौं।

हिलेखर्क सामुदायिक होम्सटे

तेर्सो बाटोहुँदै घलेडाँडा पुग्दा भुईकुहिरोले फेरि ढाक्यो। दिउँसो १२ बजे हिलेखर्क पुग्दा दुई सहयात्री अघिनै पुगेर खानपिनको ब्यवस्थामा जुटेका रहेछन्। सार्है असल काम गरेछन्, खुसी लाग्यो, पेटमा मुसा दगुरेको निको भो। समयमै खाना तयार हुनेभयो। मन प्रफुल्ल भयो।

गाउँका ५ घरमा होमस्टे सुविधा छ। गाउँले सस्तोमा खाना र बास दिन्छन्। अर्गानिक खाना खुवाउँछन्। गाउँमा दुइटा घुमाउने घर रहेछन्। ढुँगा र माटोले बनेका र खरले छाएका घरमा पाहुनालाई बसाइन्छ।

गुरूङ समुदायको बसोबास रहेको गाउँ सुन्दर छ। स्थानीय त्यतिनै आत्मीय। हामीले होमस्टेका अध्यक्ष बाटुमाया दिदीकोमा खाना खायौं।

त्यसपछि जिपमा हिलेखर्क, सार्ते, कोट, गिरानचौर, समस्तिपुर , बरादिहुँदै पृथ्विी राजमार्ज निस्कियौं।

दमौलीका गीतकार तथा गण्डकी वाङ्मय प्रतिस्ठानका अध्यक्ष सागर उदास दाइ - सधैं रसिक र हसिँलो छन्।

हामी कन्सेप्ट नेपालको काव्य यात्रामा पोहोर साल खप्तड र यसपल्ट फोक्सुन्डो यात्रासँगै गरेका थियौं।

बेला बेला पत्रकार र साहित्यकारको टोलीलाई आफ्नो गाउँ ठाउँ घुमाएर गन्तब्यको प्रचार प्रसार गर्नमा उनले ठूलो गुण लगाएका छन्। उनले बन्दीपुर, टुटेपानी, तनहुँसुर, छाब्दीबाराही, मानहुँकोट, लिगलिगकोट लगायत गन्तव्यमा लेखक तथा पत्रकारलाई घुमाएर उनले उदाहरणीय काम गर्दै आएका छन्। विषेश गरी छिम्केश्वरी घुम्न निम्तो सबैलाई दिन छुटाउँदैनन्। उनीबाट अरुले पनि सिक्नुपर्छ।

यसरीनै सबैले आ-आफ्नो तर्फबाट योगदान गरे नेपाल समृद्धि हुन केही बेर लाग्दैन। मात्र उदार मन र दिल ठूलो हुनुपर्छ-धन्यवाद सागर उदास दाइ। यात्राभरी साथ दिएकोमा गीतकार तथा पत्रकार श्रीराम सरलाई पनि सादुवाद!

काठमाडौं र पोखरादेखि नजिकको गन्तब्य छिम्केश्वरी, पुग्नै पर्ने ठाउँ रहेछ। जहाँ पुग्दा मनमा आत्मिक शान्ति र शरीरमा ऊर्जा मिल्छ। बन्दीपुर र आँबुखैरेनीबाट छिम्केश्वरी बेस क्याम्पसम्म पुग्ने सडक छिट्टै कालोपत्रे गरेमा छिम्केश्वरीमा चहलपहल बढ्नेछ। प्राकृतिक सौन्दर्य, गाउँले वातवरण र धार्मिक पर्यटकीयको गन्तब्यको विकासका लागि त्यसका लागि सम्बन्धित निकाय अघि सर्नुपर्छ।

भोलिपल्ट काठमाडौं फर्किँदा मुग्लिङ पुगेर फर्केर एकपल्ट माथि हेरेँ- सधै झै अडिग र चुपचाप थियो छिम्केश्वरी! मनमनै सफल यात्राको कामना गरेर अगाडि बढेँ।
हामी त छिम्केश्वरी पुग्यौं, तपाई कहिले जाने?

कसरी पुग्नेः

काठमाडौंबाट डुम्रे, बन्दीपुर, हिलेखर्क हुँदै भोटेस्वाँरा १५१ किमि। डुम्रेबाट हिलेखर्कसम्म जिप चल्छन्। अर्को विकल्प काठमाडौंबाट आँबुखैरेनी, बरादी हुँदै १३१ किमि। त्यस्तै आँबुखैरेनीबाट भोटेस्वाँरा १८ किमि। आँबुखैरेनीबाट जीप चल्छन्।

काठमडौंबाट डुम्रे या आबुखैरेनी १३० किमी । डुम्रे-बन्दिपुर- बाहुनभञ्ज्याङ-घलेडाँडाहुँदै भोटेश्वाँरा (२२ किमि)। डुम्रेबाट हिलेखर्कसम्म जिप चल्छन्। भोटेश्वाँराबाट २ घण्टा उकालो पैदलमार्गमा छिम्केश्वरी पुगिन्छ।

वरादी-समस्तिपुर-गिरानचौर-कोट-सार्ते-हिलेखर्क (१२ किमि)।

त्यस्तै आँबुखैरेनीबाट ढकालटार- भाँगे-धारापानी-लाब्दी (१८ किमि) जिपमा १.५ घण्टा, त्यसपछि २ घण्टा पैदलमार्ग।

सम्पर्कः

तिल बहादुर गुरुङ ९८४६५३८१३९
श्रीराम भट्टराई - ९८४६२१७५६५
सागर उदास - ९८५६०६०४२४

प्रकाशित मिति: : 2019-10-18 11:02:17

प्रतिकृया दिनुहोस्