एनआरएनलाई सुधार्न : यसो गरे, कसो होला ?

चारतारे र हसिया हथौडा झण्डाकै मुनिकै आधार : एनआरएन अभियान घुम्दैफिर्दै रूम्जाटार । एक प्रतिकात्मक तस्बिर : ब्रेक एन लिंक्स ग्राफिक्स ।

एनआरएन अमेरिका र विभिन्न देशका एनसिसिहरुको निर्वाचनहरु सकिएका छन् र अहिले काठमाडौंमा नवौं विश्व शम्मेलन भैरहेको छ। सामाजिक संजाल सधैं एनआरएनले रंगिरहेकै हुन्छ।

कहिले धुमधामसित चुनाव लागेको हुन्छ त कहिले मनोनितको लर्को अनि कहिले मेला र कुम्भ मेलाहरू।शुभयात्रा, बेस्ट विसेस, शुभकामना र कन्ग्राचुलेशन लेखेर पनि हैरानैं हुन्छ।

एनआरएन भन्ने वित्तिकै समाजका लागि काम गर्ने एउटा सामाजिक संगठन भन्दा पनि तामझाम, खादामाला, भाषण, फोटो, पोष्टर, ब्यक्ति प्रचार, होटल, एयरपोर्ट, रेष्टुरेन्ट, ठूलठुला गफ र झैझगडाजस्ता नकारात्मक कुत्य फालिम लागेर उभिन्छन् दिमागमा। एनआरएनप्रति रुची घट्दै गएको छ मान्छेहरुमा।एनआरएनका बारेमा लेख्न, बोल्न र पढ्न म आफैंलाई नि जाँगर मर्न थालेको हो।

आममानिसलाई जस्तै मलाई पनि ‘कागलाई बेल पाक्यो हर्ष न विस्पत’ भने जस्तै भैसकेको अवस्था हो। तथापि यो सुखद कुरो भने हैन।

एनआरएन एउटा गरिमामय संगठन बनोस् भन्ने धेरैको चाहना थियो र अझै पनि छ। किनकि, सबैलाई प्रतिनिधित्व गर्ने यस्तो संस्थाको अत्यावश्यकता छ हामीलाई जसले प्रबासी नेपाली र मातृभूमि नेपालको हितमा धेरै काम गर्न सकिन्छ।म आफैं हिजो चुनाव लडेको मानिसको पनि केही त दायित्व बन्छ एनआरएनलाई सही बाटोमा हिडाउन। तर, अप्ठेरो भने छ बाहिरबाट सहयोग गर्न। किनकि यहाँ यस्तो सिन्डिकेट छ कि उनीहरूले चाहेका मानिसबाहेक  अरुलाई  ढिम्किनैं  दिदैनन्। उनीहरूले जिताउन चाहेकालाई जिताउछन् र हराउन चाहेकालाई जसरी पनि हराउछन् यसो गरेर उनीहरुलाई पनि आत्मतुष्टी बाहेक त केही मिल्दैन तर लाखौं-करोडौं मानिसको सपनामाथि भने तुसारापात भएको छ।

यो रोगबाट या भनौं समस्याबाट एनआरएनलाई मुक्त गरेर ‘हाम्रो एनआरएन राम्रो एनआरएन’ बनाउन के गर्नु पर्ला भन्ने बारेमा केही सुझाव यहाँ उल्लेख गरेकोछु।

सिस्टममैं सुधार्न पर्छ एनआरएन सुधार्नलाई। साँच्चिकै सबै प्रवासी नेपालीको प्रतिनिधिमुलक लोकप्रिय र गौरवशाली सामाजिक संस्था बनाउने हो भने निम्नानुसार सुधार गर्न जरुरी छ। यसले फू मन्तर कि बाचा जस्तो नभए पनि सजिलैसित एनआरएनमा अहिदे देखिएका समस्यालाई हल गर्न सहयोग गर्नेछ। सधैंभरी एनआरएनमा देखिदै आएको गाईजात्रा बन्द हुनेछ।

१) संस्थाको उद्देश्यः

एनआरएनको मुख्य उद्देश्य प्रवासी नेपालीका समस्याको समाधान र उनीहरूका आवश्यकताको सम्बोधन गर्नु हो । दोश्रो उद्देश्य हो, नेपालको समृद्धिमा सघाउने । तर धेरै नेपालकै गफ हुने गरेको छ नेपालको समृद्धि गर्ने मुख्य काम एनआरएनको हैन, नेपाल सरकारको हो । गर्न पनि सक्दैन र गरेको पनि छैन । तर, सघाउन सक्ने हैसियत पनि त बनाउनु पर्यो नि पहिला । तसर्थ एनआरएन ठूला कुरा मात्र गर्ने आडम्बरी क्लब जस्तो भएको छ । नामलाई भन्दा कामलाई प्राथमिकता दिनु पर्छ । अहिले बिकृतिको मुख्य जड भनेकै यही हो ।

एउटा सामाजिक संस्था कसैको ब्यक्तिगत प्रतिष्ठा, नाम र स्वार्थका लागि प्रयोग भैरहेको छ जसले एनआरएनलाई आम प्रवासी नेपालीको आशा र विश्वाशबाट धेरै टाढा पुर्याउदै लगेको छ ।

२. स्थानीय संस्था र कामलाई प्राथमिकता:

प्रवासमा ब्यक्ति-ब्यक्तिका समस्यामा साथ सहयोग कसले गरेको हुन्छ एनआरएनले कि स्थानीय संस्थाले ? उनीहरुका हरेक आवश्यकता अनुसार सांस्कृतिक, धार्मिक, स्वास्थ्य, इमिग्रेशन, खेलकुद, मनोरञ्जन, बालबच्चाका लागि नेपाली पाठशाला, सामुदायिक भवन र मन्दिरको निर्माण, मर्दा-पर्दा सहयोग कसले गरिरहेको छ प्रवासमा एनआरएन कि स्थानीय संस्थाले ? यसको उत्तर पनि हो- स्थानीय संस्थाले त्यसो हो भने एनआरएन के गरिरहेको छ र यो संस्था चाहियो त ?

म यो कुरा मान्छु कि एनआरएनभन्दा स्थानीय संस्थाको धेरै महत्व छ जस्तो कि हरेकलाई आफ्नो परिवारको पहिलो आवश्यकता र महत्व हुन्छ ।एनआरएन स्थानीय संस्थाको महत्व र यसले गरेका महत्वपूर्ण कामलाई नजरअन्दाज गरिरहेको छ । काम गर्ने कालु मकै खाने भालु भैरहेको छ । तर, एनआरएनको पनि आफ्नै स्थान छ जुन स्थानमा भुमिका खेल्न भने एनआरएन चुकिरहेको छ ।

एनआरएनले गर्नु के पर्थ्यो भने एनआरएनको मुख्य काम भनेकै स्थानीय संघ संस्थाका कामलाई ब्यवस्थित गर्न सहयोग गर्ने हुनुपर्थ्यो । यसमा नेतृत्व गर्नु पर्थ्यो । स्थानीय संस्था नैं एनआरएनका जग या आधारभूत संगठन हुन् भनेर उनीहरुलाई अधिकार र कर्तब्यमा बाँधेर परिचालन गरेर सम्पूर्ण प्रबासी नेपालीलाई एउटै मालामा गाँस्न सक्नु पर्थ्यो । एनआरएनले आवश्यक समन्वय, मुल्यांकन र प्रोत्साहन गर्नु पर्छ ।

नेपाली समाजमा भैरहेको अराजकता र अस्तब्यस्ताता हटाउन मद्दत गर्नु पर्छ । जो जे नाममा भए पनि सबै एनआरएन भन्ने भावनाको विकास गर्नुपर्छ । स्थानीय समाजमा गरेका योगदानको सही मुल्यांकनका आधारमा एनआरएनको नेतृत्वमा विकास गर्दै जाने परिपाटी विकास गर्नुपर्छ ।

स्थानीय समाजले नचिनेको या समाजिक काममा निस्कृय या बदनाम मान्छेलाई एनआरएनको नेतृत्वमा पाउँदा उक्त समाजले एनआरएनबाट के आशा गर्ने ? एनआरएनले हरेक समाजमा न्यायसंगत पुरस्कार र दण्डको ब्यवस्था लागु गर्न सक्नुपर्छ । एनआरएनको काम जनआधारित या स्थानीय संघसंस्थाआधारित भएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रवासी नेपालीको प्रतिनिधित्व गर्ने हो ।

समाजको आवश्यकता भनेकै आफ्नो ठाउँमा एउटा मात्र प्रभावकारी सामुदायिक संगठन र त्यसलाई आवश्यक परेको बेला सघाउने तथा राष्ट्रिय-अन्तर्राष्ट्रिय रुपमा प्रवासी नेपालीलाई प्रतिनिधित्व गर्न सक्ने एनआरएन ।

३. एनआरएनलाई राजनीति मुक्त गर्नेः 

पहिलो कुरो त अमेरिका जापान बसेर नेपालको राजनीति किन गर्नु ? यहाँ भातृ संगठन किन बनाउनु ? र गुट उपगुटमा विभाजित भएर नेपाली समाज किन भाँड्नु ?

ल ठीकै छ यसो नगरी खाएकै नपच्ने भएछ रे र लागेको नसा छुटाउनैं सकिएनछ रे तर किन एनआरएनजस्तो गैरराजनीतिक सामाजिक संस्थामा गिद्देदृष्टि लगाउनु ? राजनीतिक हस्तक्षेप किन गर्नु?

यो नेपाल र नेपालीमाथि ठूलो बेइमानी हो, गद्दारी हो, अपराध कर्म हो । एनआरएनलाई आफ्नो विधान अनुसार स्वतन्त्र भएर काम गर्न दिनुपर्छ । आफुलाई कांग्रेस या कम्युनिष्टको नेता कार्यकर्ता हुँ भन्नेले एनआरएनको नेतृत्वमा दावी गर्नै मिल्दैन । उसले उद्देश्यअनुरुप काम गर्नै सक्दैन या चाँहदैन । खुल्लेआम नांगो रुपमा भैरहेको यो हस्तक्षेप बन्द गर्नुपर्छ । एनआरएनलाई राजनीतिक प्रभावबाट मुक्त गर्ने समाधान पनि सजिलो छैन । किनकि यो भयंकर ग्रसित क्यान्सर रोगजस्तै भैसकेको छ ।

एनआरएनसित राम्रो विधान छैन र भएको पनि लागु गर्नु पर्दैन । नेतृत्वले मनलागी गर्छ । धाँधली गरेर भए पनि अरुलाई ढिम्किनैं दिदैन ।

यो पनि हेर्नुहोला 
सुरु भयो हाँडीगाँउ जात्रा
एनआरएनलाई गैर-नाफामूलक राजनीति, धर्म, जातीय, लैंगिक, क्षेत्रीय आदि सम्प्रदायबाट माथि उठेको स्वतन्त्र र मुक्त एक साझा समाजसेवी संस्था बनाउनैं पर्छ । हामीलाई एउटै एनआरएन चाहिएको छ नकि एनआरएन कांग्रेस, एनआरएन नेकपा या एनआरएन राजावादी । राजनीतिबाट स्वतन्त्र राख्नै पर्ने संस्था हो- एनआरएन ।राजनीतिक रुपमा विवादमा नआएका, राजनीतिक सकृयता नभएका तर समाजसेवीले नैं एनआएनको नेतृत्व गर्नुपर्छ ।

राजनीतिक आस्था हुनुलाई सामान्य मानवीय कुराको रुपमा माने पनि एनआरएनको उद्देश्य राजनीति, जात, धर्म, क्षेत्रबाट माथि उठेर सम्पूर्ण प्रवासी नेपालीका लागि काम गर्नुपर्ने हो । जति जति एनआरएन नेपालको राजनीति र गुटको विवादमा मुछिदै जान्छ, त्यति त्यति नैं यस संस्थाप्रतिको वितृष्णा बढ्दै जानेछ । यस भींडभित्र नजाने कति धेरै राम्रा मान्छेहरु पनि होलान् । सोझो मनले केही राम्रो गर्न भनेर आएका पनि होलान् । तर जव यिनले आफु वेवकुफ बनेको महशुस गर्नेछन् तव एनआरएनतर्फ फर्केर पनि नहेर्ने गरी भाग्नेछन् । यस्तै भैरहेको छ यहाँ । तसर्थ समाधान छिटै खोजौं, राम्रो एनआरएन हाम्रो एनआरएन बनाऔं ।

एनआरएनको विधानले पनि प्रस्टै ब्यवस्था गरेको छ- राजनीतिक पार्टी या यसको भातृसंगठनमा प्रत्यक्षरुपमा संलग्न नरहेको हुनुपर्ने र यदि त्यस्तो छ भने राजिनामा दिनुपर्ने भनेर । तर, राजीनामा त एउटा कागजी प्रकृया मात्रै न हो, राजीनामाले मात्र के हुन्छ यदि उसको चरित्रमा परिवर्तन नआउने हो भने ? 

४. संगठनात्मक संरचना र नेतृत्व बिकास:

एनआरएन जस्तो सामाजिक संस्थामा चुनावी प्रतिस्पर्धालाई निरुत्साहित गर्नु पर्दछ । समाजका लागि केही दिन जाने ठाउँमा केको प्रतिस्पर्धा ? सबैलाई अटाउन सकिन्छ काम र योगदानमा । तर, यहाँ त समाजलाई दिनभन्दा मान-प्रतिष्ठा कसले लिने भन्ने होडबाजी छ । प्रजातान्त्रिक अभ्यास गर्नु पर्दछ, निर्वाचन आयोग पनि चाहिन्छ तर सकेसम्म विवादरहित ढंगले निश्चित प्रकृया पुरा गरेर मानिसहरु जिम्मेवारीमा स्वत निर्विरोध निर्वाचित हुने ब्यवस्था पनि हुनसक्छ ।भन्नुपर्छ –जाप स्थानीयरुपमा सामािजक काम गर, जरुरत परेको ठाउँमा मानिसलाई र स्थानीय संस्थालाई सहयोग गर । स्थानीय संस्थालाई बिबादरहित र सामाजिक संस्थाको रुपमा विकास गर ।

समाजको आवश्यकता भनेकै आफ्नो ठाउँमा एउटा मात्र प्रभावकारी सामुदायिक संगठन र त्यसलाई आवश्यक परेको बेला सघाउने तथा राष्ट्रिय-अन्तर्राष्ट्रिय रुपमा प्रवासी नेपालीलाई प्रतिनिधित्व गर्न सक्ने एनआरएन ।

एनआरएनको नृतृत्वमा जान देशभरका मानिसले भोट हाल्नुपर्ने अब्यवहारिक सिस्टमलाई खारेज गरौं र क्ष़त्रीय कोटाका आधारमा स्थानीय तवरबाटै चिनेर/जानेर कसले कति आफ्नो समाजमा काम गरेको छ, सेवा गरेको छ भन्ने आधारमा सकेसम्म सर्वसम्मत नभए प्रत्यक्ष मतदान गरेर प्रतिनिधि निर्वाचित गरौं र तिनैं प्रतिनिधिबाट होस् कार्यविभाजन । संगठनमा सरल बिधि अपनाऔं । अनाबश्यक पद सिर्जना नगरौं र मनोनयनको अनुकम्पा बन्द गरौं कसले के पाउँने हैन समाजलाई के दिन सकिन्छ भनेर लागौं । यसो भयो भने मात्र हामीले चाहेको गरिमामय एनआरएन बन्नेछ ।

यो पनि पढ्नु हुन्छ कि ?

एनआरएन अमेरिकाका 'स्थायी झगडिया' एउटै प्यानलमा : डा. पौडेलको 'महासचिव' फेसबुकमा

प्रकाशित मिति: : 2019-10-15 07:31:40

प्रतिकृया दिनुहोस्