अस्ट्रेलियाई मिडियाविरूद्ध प्रहरी सर्च अभियान : न्युज कर्पपछि एबीसी निसानामा

अस्ट्रलियामा सर्च वारेन्ट जारी गरिएका पत्रकारहरू र संघीय प्रहरी एएफपीका प्रहरी अधिकृतहरू । तस्बिर : एजेन्सी

अष्ट्रेलियामा कन्जरभेटिभ प्रधानमन्त्री स्कट मोररिसनले दोस्रो कार्यकाल सुरू गरेलगत्तै संघीय प्रहरीले पत्रकारिताविरूद्ध 'सर्र्च अभियान' सुरू गरेको छ ।

मंगलबारदेखि सुरू गरिएको सर्च अभियानको पहिलो दिन न्यूज कर्प अस्ट्रेलियाकी राजनीतिक सम्पादक अन्निका स्मेथ्रस्टको क्यानबेरास्थित घरमा खानतलास गरिएको थियो । उनीविरूद्ध सन् २०१८मा अस्ट्रेलियन नागरिकको जासुसी गर्नदिने सरकारको योजना चुहाएको आरोप लगाइएको छ।   

सर्च अभियानको दोस्रो दिन संघीय प्रहरीले अष्ट्रेलियन ब्रोडकष्टिंग कर्पोरेशन (एबीसी) को सिड्नीस्थित मुख्यालयमै छापा मारेको छ। प्रहरी अधिकारीहरू समाचार निर्देशक ग्याभिन मोरिस र दुईजना रिपोर्टर डान ओक्स र साम क्लार्कका नाममा जारी गरेको सर्च वारेन्ट लिएर एबीसीको कार्यालय छिरेका थिए । 

प्रहरीको यो अभियान सन् २०१७ जुलाई १० देखि  प्रकाशित 'द अफगान फाइल्स' शिर्षकको श्रृंखलामा आधारित रहेको बताइएको छ । त्यो श्रृंखला 'अफगानिस्तानमा परिचालित अष्ट्रेलियाली विशेष सैन्यले गरेका भनिएका दुर्व्यवहार र गैरकानुनी हत्याका आरोप'सँग सम्बन्धित थियोे । एबीसीका अनुसार त्यो श्रृंखला अस्ट्रेलियाको प्रतिरक्षा मन्त्रालयका सयौं पृष्ठका गोप्य दस्तावेजमा आधारित थियो ।

प्रहरी छापापछि एबीसीका प्रवन्ध निर्देशक डेभिड एन्डरसनले यसलाई असामान्य घटना भन्दै आफू र आफ्नो संस्था आफ्ना पत्रकारका पक्षमा रहेको बताए । उनले जनताको सरोकार भएमा राष्ट्रिय सुरक्षा र गोपनियताका विषयमा आगामी दिनमा पनि बिना रोकतोक समाचार प्रकाशित गर्ने बताउँदै समाचार स्रोत सार्वजनिक नगर्ने पनि बताए ।

यसैबिच संघीय प्रहरीको यो सर्च अभियानको अस्ट्रेलियामा ठुलो विरोध भएको छ । अभियानको पत्रकार संघ, अन्य युनियन र मानवअधिकारवादी समूहहरूले निन्दा गरेका छन्। उनीहरूले यसलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरूद्धको कदम भन्दै अस्ट्रेलियाजस्तो प्रजातान्त्रिक मुलुकका लागि लज्जाको विषय भनेका छन्। 

तर, प्रहरीले भने आफ्नो कदमको बचाउ  गर्दै "सँधै स्वतन्त्र र निष्पक्ष रहेको" दावी गरेको छ । उसले भनेको छ- मंगलबार र बुधबारका छापा मार्ने कार्वाहीका बीच कुनै सम्बन्ध छैन  तर "दुवै घटना सन् १९१४ को अपराध सम्बन्धि कानुनको प्रावधान अन्तर्गत गोप्य सामग्री प्रकाशित गरेको भन्ने बेग्ला बेग्लै आरोपहरूसँग भने सम्बन्धित छन् ।" 

 

प्रकाशित मिति: : 2019-06-05 22:20:27

प्रतिकृया दिनुहोस्