चितवनको बिशाल जितमा करणको उत्कृष्ट बलिङ बुटवल ८४ रनमै समेटियो

बिएल संवाददाता

पोखरा, पुस ३
पारस खड्का कप्तानीको टिम चितवन राइनोज

पोखरामा जारी दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पिपिएल) मा पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोजले लगातार दोस्रो फराकिलो जित निकालेको छ।

बिहिबार पोखरा रंगशालामा भएको लिगको आफ्नो दोस्रो खेलमा सोमपाल कामी नेतृत्वको बुटवल ब्लास्टर्सलाई ११९ रनको विशाल अन्तरले हराउँदै चितवले लगातार दोस्रो जित निकाल्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा सम्पन्न खेलमा पहिले ब्याटिङ गर्दै चितवनले दिएको २०४ रनको विशाल लक्ष्य पछ्याउने क्रममा बुटवलले १८.४ ओभरमा सबै विकेट गुमाएर ८४ रन मात्र बनाउन सक्यो।

सुरुवात देखि विकेट गुमाएको बुटवलको लागि शिभम सिंह ले सर्वाधिक ३३, भिम शार्कीले २१ तथा हरि बहादुर चौहानले १२ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

अफ्ताबुद्दीन एहमद २ रन, शंकर राना ५ रन, हर्ष टन्क १ रन, कप्तान सोमपाल कामि ३ रन, शेर मल्ल २ रन बनाएर आउट भए।

बुटवललाई सस्तोमा समेट्न चितवनका बलर करन केसीले ४ विकेट लिए। उनले ३.४ ओभरमा ११ रन खर्चिए। यस्तै रोहन मुस्तफाले २ तथा सन्नी पटेल, भुवन कार्की, बिक्रम सोब र बिक्रम भुसालले समान १/१ विकेट लिए।

यसअघि टस हारेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ३ विकेट गुमाएर २०३ रन बनाएको थियो।

चितवनको लागि युएईका खेलाडी रोहन मुस्तफाले सर्वाधिक ७० रन बनाए। अविजित इनिङ खेलेका मुस्तफाले ५६ बलमा ७ चौका र २ छक्का प्रहार गरे।

यस्तै कप्तान खड्काले ४० बलमा ६ चौका र २ छक्का मदतले ६३ रन बनाए। आरिफ शेखले १९ बलमा ३ चौका र ३ छक्का मदतले ४० रन बनाए।

सन्नी पटेल ४ रनमा अविजित रहंदा अघिल्लो खेलका प्लेयर अफ द म्याच बाबर हायात १ रनमा आउट भए।

उत्कृष्ट सुरुवात गर्ने क्रममा चिवनको लागि ओपनर रोहन मुस्तफा र पारस खड्काले ११.३ ओभरमा ११७ रनको ओपनिङ साझेदारी गरेका थिए। पारसलाई अफ्ताबुद्दीन एहमदले क्याच आउट गराएपछि बाबर हायातलाई पनि एहमदले लगत्तै पेभिलियन फर्काए।

तेस्रो विकेटको लागि मुस्तफाले आरिफ शेखसंग ६९ रनको साझेदारी गरे। आरिफ २० औं ओभरमा अविनाश बोहराबाट क्याच आउट भए।

बुटवलको बलिङ्गमा भारतीय क्रिकेटर अफ्ताबुद्दीन एहमदले २ विकेट लिए। अविनाश बोहराले १ विकेट लिए जसको लागि ४ ओभरमा ४० रन खर्चिए।

चितवनले पहिलो खेलमा डिफेन्डिङ च्यापियन पोखरा पल्टनलाई पराजित गरेको थियो। पहिलो खेलमा काठमाडौँ गोल्डेनलाई सुपर ओभरमा पराजित गरेको बुटवलले दोश्रो खेलमा पहिलो हार बेहोर्यो।

जितपछि चितवन मात्र लिगमा हालसम्म अपराजित टिम रहेको छ। चितवनको ४ अंक रहंदा अन्य सबै ५ टिमको समान २ अंक रहेको छ। सबै भन्दा कम नेट रन रेट सहित बुटवल हार पछि अंकतालिकाको पुछारमा पुगेको छ।

प्रकाशित मिति: : 2019-12-20 13:35:34

प्रतिकृया दिनुहोस्