भ्रमण वर्ष २०२० को उद्घाटन हुँदै, के के हुँदैछ?

अस्तव्यस्त हुँदैछ ट्राफिक, भारत र चीनका पर्यटन मन्त्रीहरु नेपालमा

सरकारले नेपाल भ्रमण वर्ष २०२० को प्रारम्भ बुधबारदेखि गर्दैछ। अपरान्ह ४ बजे राजधानीको दशरथ रंगशालाबाट राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ। कार्यक्रममा राष्ट्रपति भण्डारीसहित प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

भ्रमण वर्ष २०२० संयोजक एवं वरिष्ठ उद्योगी सुरज वैद्यले तीन घण्टासम्म चल्ने उद्घाटन भब्य हुने बताएका छन्। 

उनले विदेशी अतिथिहरुलाई राखेर उद्घाटनलाई भब्य बनाइने बताए । वैद्यले भारत र चीनका पर्यटन मन्त्रीहरु आइसकेको जानकारी दिए ।  

विभिन्न स्थानबाट र्यालीसहित दशरथ रंगशालामा पुग्ने कार्यक्रम रहेकाले ट्राफिक व्यवस्था अस्तव्यस्त हुनेछ । दिउँसोदेखि नै ट्राफिक समस्या हुनेछ।

भीआइपीहरुका लागि टुडिखेलमा पार्किङको व्यवस्था गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 

सुरक्षा व्यवस्था चुस्त पारिएको महानगरीय प्रहरी परिसरले जनाएको छ । प्रहरी मुख्यालयले समेत पनि जनशक्ति परिचालन गरेको प्रहरीले जनाएको छ । 

सातै प्रदेशले यो कार्यक्रमको उद्घाटन गर्दैछन्। मुख्य शहरमा भ्रमण वर्षलाई लक्षित गरी उद्घाटन गर्न लागिएको छ । सबै प्रदेशमा मुख्यमन्त्रीहरुले कार्यक्रमको उद्घाटन गर्नेछन् । 

काठमाडौंको दशरथ रंगशालामा हुने ‘भिजिट नेपाल २०२०’ को उद्घाटन कार्यक्रम पौने ५ घण्टासम्म हुनेछ। उद्घाटन कार्यक्रम नेपालको संस्कृति झल्कने नाचगानबाट सुरू हुनेछ।

रंगाशालामा चार बजेभित्र सबै पाहुनाहरु उपस्थित हुने छन्। उनीहरुको स्वागत सेलिब्रिटीहरुबाट गरिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मीको सहयोगमा राष्ट्रगान बजाइनेछ।

राष्ट्रगान सकिएलगत्तै बाजा सहित रंगशालामा भिजिट नेपाल २०२०को मानव साङ्लो बनाइनेछ। पौने पाँच बजे कुटुम्बको संगीतमा विभिन्न संघ संस्थाले परेड गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले स्वागत मन्तव्य राख्नेछन्। त्यसैगरी राष्ट्रपति विद्यादेवी भण्डारीले भिजिट नेपाल २०२०को उद्घाटन गर्नेछिन् भने त्यसलगत्तै भ्रमण वर्षका लागि राष्ट्रिय गीत समेत सार्वजनिक गर्नेछिन्।

साढे ५ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रमण वर्ष उद्घाटनमा मन्तव्य राख्नेछन्। पौने ६ बजेतिर भ्रमण वर्षको ‘यति मस्कट’को लन्च सँगै विभिन्न साँस्कृतिक कार्यक्रम पौने ८ बजे सम्म चल्ने तालिकामा उल्लेख छ ।

अन्त्यमा उद्घाटन कार्यक्रम अतिसबाजी पड्काइ ‘यो मन त मेरो नेपाली हो..’ बोलको नेपाली गीतसँगै उद्घाटन कार्यक्रम समापन गरिने जनाइएको छ। कार्यक्रम पौने ८ बजे सकिने अनुमान छ।

यस्तो छ कार्यक्रम

प्रकाशित मिति: : 2020-01-01 20:59:54

प्रतिकृया दिनुहोस्