४५ वर्षसम्म क्रिकेट खेल्ने गेलको इच्छा

उनलाई कहिलेसम्म क्रिकेट खेल्ने योजना छ भनेर सोधिएको प्रश्नमा भने, ‘४५ नम्बर राम्रो छ। मैले ४५ को लक्ष्य राखेको छु।’

वेष्ट इन्डिज क्रिकेट टिमका बिस्फोटक प्रारम्भिक ब्याट्सम्यान क्रिस गेलले तत्कालै आफूले सन्यास लिने विषयमा विचार नगरेको बताएका छन्। उनले क्रिकेट खेल प्रति आफू पागल भएको र अझै लामो समय खेल्न चाहेको बताएका छन्। 

सन् २०१९ को अन्तिम महिनातिर विश्राम लिएका गेल हाल बंगलादेशमा आयोजना हुने बंगलादेश प्रिमियर लिगअन्तर्गत चटोग्राम च्यालेजर्स टिमबाट प्रतिनिधित्व गर्दै छन्। 

उनले आफ्नो थुप्रै समर्थकले आफूले अझै क्रिकेट खेलेको हेर्न चाहेको बताएका छन्। ‘म भित्र क्रिकेटका लागि उस्तै भोक छ, जतिबेला मैले खेल्न सुरु गरेको थिए। त्यसैले जहिलेसम्म सम्भव हुन्छ खेल्न चाहन्छु,’ उनले भने। 

गेलको उमेर ४० पुगिसकेको छ। उनी अहिले विभिन्न देशमा गएर क्रिकेट खेलिरहेका छन्। ‘मेरो शरीरले साथ दिएको छ। मलाई लाग्छ जति उमेर बढ्दै जान्छ, त्यति म जवान हुन्छु,’ उनले ठ्ट्यौली पारामा भने। 

उनलाई कहिलेसम्म क्रिकेट खेल्ने योजना छ भनेर सोधिएको प्रश्नमा भने, ‘४५ नम्बर राम्रो छ। मैले ४५ को लक्ष्य राखेको छु।’

गत वर्ष एकदिवसीय विश्व कप समाप्त भएपछि गेलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने अड्कल काटिएको थियो। तर, उनले सन्यास लिएनन्। विश्व कपपछि उनी वेष्ट इन्डिज टिमको सदस्य छैनन्। तर, विश्वभरिको फ्रेन्चाईज क्रिकेटमा उनको माग ठूलो छ। 
 

प्रकाशित मिति: : 2020-01-10 11:16:17

प्रतिकृया दिनुहोस्