पर्यटकको कसीमा पर्यटन वर्षः जीर्ण सम्पदा र अपूरो पूर्वाधार (भिडियाे सहित)

५ वर्षअगाडि यो क्षेत्र जाँदा मन्दिर सग्लै देखिन्थे। वरिपरी सफा सुग्घर पनि थियो । मन्दिर वरिपरिको खाली ठाउँमा पर्यटकको भीड लाग्थ्यो। 

भक्तपुरको पाँचतले दरवार र दरवार छेउमै बिहानदेखि घाम नअस्ताउँदासम्म सिगरेटको सर्को तान्दै बसिरहेका भेटिन्छन्, लालबहादुर महर्जन।

२००३ सालमा पाँचतले मन्दिर छेउ जन्मिएका उनी भक्तपुरलाई पुरै नेपाल सम्झिन्छन्।

भक्तपुरको दरवार स्क्वायरमा २० वर्षको उमेरदेखि विदेशीको चहलपहल देख्न थालेका उनी हिजोआज केही फुर्सदिला छन्।  भन्छन्,‘पहिला पो खेतबारीमा काम हुन्थ्यो। व्यस्त भइन्थ्यो। अहिले खाली जग्गा देख्नै मुस्किल छ। दिनभरी यतै रल्लियो साँमm घर फर्कियो। यति कै जिन्दगी वितिरहेको छ।’  

पर्यटन वर्षको पहिलो दिन अर्थात १ जनवरीमा देशभरीका प्रमुख पर्यटकीय स्थलमा विशेष कार्यक्रम गर्ने समाचारले म निकै उत्साही थिए। 

धार्मिक, सांस्कृतिक महत्व बोकेका स्थल साच्चिनै दुलही सिंगारिए झै सिंगारिएका होलान् भन्ने कल्पना गर्दै म भक्तपुर हानिएकी थिए। 

भक्तपुर जसलाई नेवारी भाषामा ‘ख्वप’ पनि भनिन्छ । सांस्कृतिक धरोहरको रुपमा नेपालको राजधानी मानिने भक्तपुरको दरबार स्क्वायर, राष्ट्रिय कला संग्रहालय, पाँचतले दरवार, पचपन्न झयाले दरबार, सिद्धिलक्ष्मी मन्दिर, न्यातपोल मन्दिर, दत्तात्रेय मन्दिर, तौमडी स्क्वायर निकै प्रसिद्ध धार्मिक स्थल हो। 

सोचे रंगशालाको उद्घाटनभन्दा पर्यटकीय स्थल घुम्नु नै जाति।  भत्किएका र खनिएका खाल्टाखुल्टी पछ्याउँदै पाँचतले दरवार छेउ पुगेर स्कुटी रोक्दा मन नै चसक्क भयो। जिर्णोद्धारको क्रममा रहेको मन्दिर यति बेला वस्त्र फुकालेको मान्छे जस्तो निर्वस्त्र देखिन्छ। 

५ वर्षअगाडि यो क्षेत्र जाँदा मन्दिर सग्लै देखिन्थे। वरिपरी सफा सुग्घर पनि थियो । मन्दिर वरिपरिको खाली ठाउँमा पर्यटकको भीड लाग्थ्यो। 

भक्तपुरको कला, संस्कृति अनि पुरानो शैलीका घर तथा भित्तामा कुदिएका काठका मूर्तिलाई नजिकबाट नियाल्न र यसलाई आफ्नो क्यामरामा कैद गर्न पर्यटकहरू बीच नै होडबाजी चल्थ्यो। 

तर यति बेला मन्दिर पुननिर्माण गर्ने भन्दै  भत्काइएको छ। भत्किएको मन्दिर आडैमा घाम तापेर बसेका स्थानीय भने काम गर्ने नेपाली तौरतरिका देखेर रनभूल्लमा छन्। 

पाँचतले दरवार छेउमा एउटै रंगको कपडा लगाएका महिलालाई भेटेपछि मैले सोधे–‘कहाँबाट आउनु भएको?’

उनीहरू स्थानीय व्यापारी रहेछन्। पर्यटन वर्ष घोषणा गरेको दिनदेखि उनीहरूले आफ्नो दर्ता नं राखिएको भिजिट नेपाल– २०२० लेखेको व्याज लगाउन सुरु गरेका रहेछन्। 

पर्यटन व्यवसायी सत्कार संघमा वर्षको ३ सय रुपैयाँ बुझाएपछि स्थानीयले सो क्षेत्र वरिपरी व्यापार गर्न पाउने रहेछन्। अघिल्लो वर्ष यो संख्या १ सय २५ को हाराहारीमा थियो। अहिले घटेर ७३ मा झरेको छ। 

व्यापार घटेपछि कोही विदेश पलायन भए, कोही अन्त्यै। 

‘पहिला विदेशी देख्ने वित्तिकै कसले बेच्ने भन्ने तछाडमछाड हुन्थ्यो तर अहिले संघले गर्दा हामीले आ–आफ्नो क्षेत्र छुट्याएर व्यापार गर्छौ,’ संघका टिम लिडर स्थानीय जानुका दर्शनधारी भन्छिन्,–‘पहिला व्यापार एकदम राम्रो थियो। अहिले पर्यटक पनि कम आउँछन्। आएपनि केही खरिद नगरि जान्छन्।’ 

मन्दिर वरिपरि विदेशी भन्दा नेपालीको चहलपहल बढी देखिन्थ्यो। पर्यटन वर्षको सुरुवाती दिनमा पर्यटकलाई आकर्षण गर्न दिनभरी त्यस्तो विशेष कार्यक्रम केहि देखिएन। अघिल्लो दिन साँझ स्थानीय नाच र सो दिन बिहान र्‍याली निकालिएको स्थानीयले बताए। पूर्वाधारको अवस्था हेर्दा एकपटक आएका मानिस अर्कोपटक आउँलान् भन्ने कतै लाग्दैन्थ्यो। त्यति लथालिङ छ, यहाँको अवस्था। 

पाँचतले दरवार छेउमै ४–५ जना साथीसँग बसेका लालबहादुर र उनका साथीलाई न पर्यटन वर्षको रन्को छ, न त जानकारी नै । भन्छन्, ‘आज पर्यटकले टिकट नकाटी आउन पाए रे।’

भक्तपुरको पर्यटकीय स्थल भ्रमण गर्ने पहिलो १२ जनाको समूहलाई सो क्षेत्रमा निःशुल्क प्रवेश गराइएको रहेछ। दिनभरी आउने पर्यटकलाई भने कुनै विशेष कार्यक्रम गरेको देखिएन। 

पाँचतले दरवारको निर्माण गर्न लागेको ३ वर्ष बितेछ तर काम भने जस्ताको त्यस्तै छ। दरवारको महत्व बुझेर आउने पर्यटकले बासले बेरेको यसको भत्किएको संरचना अनि भूईभरी थुपारिएको बासको घेराबाहेक हेरौ लाग्ने रोचक केही थिएन। 

दिनभरिको बसाईंमा विदेशी पर्यटक न्यून देखिए। बरु घुम्न आउने नेपालीको संख्या भने पहिलाभन्दा अलि थियो। कोही विदेशीसँग बोल्न खोज्यो कि उनीहरू तर्सिए झै भाग्न खोज्थे। मानाैं उनीहरुको मनमा नेपालीले ठग्छन् वा पैसा माग्छन् भन्ने भान परेको हुनुपर्छ। 

लथालिङ्ग अवस्थामा रहेको मन्दिर वरिपरि लालबहादुर र उनका साथी नभेटिएको भए त्यहाँ अडिएर समय बिताउने कुनै आर्कषक कुरा मैले भेटिन्।

लालबहादुरसँग गफिदैँ घामतापेर बस्नुको मजा भने बेग्लै थियो। 

विकाशको कुरा गर्दा लालबहादुरले चोटिलो जवाफ दिए, ‘सरकारले केही गर्दैन। घुषखान मात्र जान्या छ। यहाँको काम त जनताले मात्र गर्छन्।’
भक्तपुरमा आउने पर्यटकको तथ्यांक केलाउँदा गत वर्ष र अहिलेको अवस्था ओरालो लाग्दो भेटिएको छ। 

गत वर्ष मंसिरसम्म भक्तपुर आउने पर्यटकको संख्या २३ हजार ६ सय ३५ थियो भने यो वर्ष मंसिरसम्म २३ हजार ६ सय ८ मात्र रहेछ । 

लालबहादुरलाई मैले प्रश्न सोधे– ‘हिजोआज विदेशी कम देखिन्छन् नि?’ 

जवाफ आयो–‘हिजोआज चिनियाँ बढी आउँछन्। अम्रिकन कम भए। उनीहरू पनि बस्ने ठाउँ नभएर एकैछिनमा फर्किन्छन्।’ 

उनले मन्दिरको आँडमा राखिएको पोस्टर छेउ लगेर त्यहाँको हरेक धार्मिक र सांस्कृतिक महत्व मलाई अथ्र्याए। 

पोस्टरमा निकै सुन्दर देखिने भक्तपुरका धार्मिक, सांस्कृतिक तथा पूरातात्विक महत्वका सम्पदा भत्काएर लथालिङ अवस्थामा राखेर  पर्यटन वर्षको उद्घोष गर्दा नेपाल आउने पर्यटकले कस्तो सन्देश लिएर फर्किएलान? 

विरक्तिएर साँझ घर फर्किदा लोकन्थलीदेखि तीनकुनेसम्म सडकजाम थियो। यति बेला पर्यटन वर्षको उद्घाटन सकेर राष्ट्रपति फर्कन लागेको भन्दै ट्राफिकले चारैतिरको बाटो रोकेको रहेछ। लगभग ३ घण्टाको रस्साकस्सी पछि घर पुगे। भक्तपुर घुम्न जाने म मात्र जाममा परेको थिइन, अन्य स्वदेशी र विदेशी पर्यटक पनि त्यहाँ थिए।  

लालबहादुरले भनेजस्तै के सरकारले विदेशमा नेपालको मार्केटिङ गर्नकै लागि पर्यटन वर्ष मनाउन लागेको हो? यदि हो भने, अपूरो पूर्वाधार र जीर्ण सम्पदाका बीच नेपाल घुम्न आउने पर्यटकले कस्तो सन्देश बोकेर जान्छन्? यो पक्कै पनि सोचनीय विषय हो। 
 

प्रकाशित मिति: : 2020-01-13 02:52:34

प्रतिकृया दिनुहोस्