मगर समुदायले भब्य रूपमा मनाए ‘माघे सकराती’ (तस्बिरहरू)

माघ १ गते देशभर माघे संक्रान्ति पर्व मनाइएको छ । मगर समुदायले भने यो पर्वलाई नयाँ वर्षको रुपमा समेत मनाएका छन्।

देशका विभिन्न भागमा बसोबास गर्दै आएका मगर समुदायले आफ्नो सांस्कृतिक र ऐतिहासिक महत्वको रुपमा यो पर्वलाई मनाएका छन्। मगर समुदायमा आफ्ना छोरी चेलीको पूजा गरी आशीर्वाद तथा दक्षिणा दिने चाडका रुपमा समेत माघे संक्रान्ति मनाउने गर्छन्। विभिन्न जिल्लाबाट काठमाडौं आई बसोबास गर्ने मगर समुदायले बुधबार काठमाडौंको टुँडिखेलमा सांस्कृतिक कार्यक्रम गरी माघे संक्रान्ति मनाएका छन् । कार्यक्रममा मगर समुदायको मौलिक नृत्य हुर्रा, कौडा, मारुनी, झ्याउरे, तप्पा र सालैज्यू, भूमे, पैस्यारूलगायतका नाचहरु र झाँकी समेत प्रस्तुत गरेका थिए ।

माघे संक्रान्तिका अवसरमा विभिन्न परिकारहरु बनाएर खाने प्रचलन अनुसार तरुल, सखरखण्ड, गिठ्ठा, भ्याकुर, खिचडी लागयतका परिकारहरु तयार गरी वितरण गरिएको थियो। टुँडिखेलमा भएको कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन तथा खानेपानी तथा सरसफाई मन्त्री विना मगर सहभागि भएका थिए।

महोत्वसको उद्घाटन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले विभिन्न जातजातिको मौलिक कला संस्कृतिमार्फत नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुर्‍याउनुपर्ने बताए। उनले समृद्ध नेपाल निर्माण गर्न विभिन्न समुदायको कला संस्कृति तथा चाडपर्वलाई विकास गर्दै लैजानुपर्नेमा जोड दिए।

नेपाल विविधतामा एकताले युक्त मुलुक भएको उल्लेख गर्दै उनले शान्ति, सद्भाव तथा भ्रातृत्वलाई प्रवद्र्धन गर्न थप एकताबद्ध भएर काम गर्नुपर्ने बताए। मगर र थारु समुदायले एकै स्थानमा माघे सकराती र माघी पर्व मनाएर एकताको सन्देश दिएको उनको भनाइ थियो। 

‘हामीले एउटै नारा, उद्देश्य र लक्ष्यलाई बोक्न सक्नुपर्दछ, त्यो भनेको समृद्ध नेपाल हो’, उपराष्ट्रपतिले भने, ‘आगामी दिनमा पनि सबै समुदाय एकताबद्ध भएर सबै चाडपर्वको संरक्षण, संवद्र्धन र विकास गर्न सक्नुपर्छ,’ महोत्सव दुई दिनसम्म चल्नेछ । 

त्यसअघि उनीहरुले आफ्नो मौलिक सांस्कृतिक सम्पदा झल्कने पहिरनका साथ काठमाडौंको भृकुटिमण्डपबाट सास्कृतिक र्‍याली निकालेका थिए। सरकारले माघ १ गतेलाई मगरको राष्ट्रिय पर्व घोषणा गरेको थियो। माघे सकरातीको अवसरमा मगर समुदायले गर्मी शुरू हुने दिनको रुपमा तरुल खाने गरेका छन्। माघेमा तोरण तार्ने, चेलीबेटीलाई पुज्ने, तरुल खाने, बटुक खाने चलन समेत रहेको छ।
माघे सकराती मगर समुदायका लागि छोरी, चेलीबेटीहरूको पर्व हो। त्यसैले यो चाड चेलिबेटिहरूको पूजा गरी मनाउने चलन रहेको छ।

 

 

 

तस्बिरहरूः सुरेन्द्र रानादेवेन्द्र बस्न्यात

प्रकाशित मिति: : 2020-01-16 00:07:04

प्रतिकृया दिनुहोस्