बिएल संवाददाता
कुशल शिक्षक एवं कविको चिनारी बनाएका लक्ष्मण थापाले माघे संक्रान्तिका दिन आफ्ना जीवनदर्शन भरिएका कविता सुनाएर दर्शकको मन जितेका छन्।
पोखराको तन्नेरी साहित्यिक संस्था पुछारसिटे अभियानले आफ्नो पाँचौ एकल वाचन सृङखलामा उनलाई प्रस्तुत गरेको हो । कार्यक्रममा उनले १४ वटा कविता सुनाएर वाह ! वाही ! कमाए ।
मेरो एक मुठ्ठीको मुटुलाई
मुठ्ठीमा बोकेर
कहिले तारेभिरको उकालो चढिरहेँ
कहिले ओरालो झरिरहेँ ।
मेरो मुटु
मेरो देशको माटोले बनेको छ ।
आफ्नो मुटुलाई माटोसँग जोडेर लेखिएको ‘मुटु’ शीर्षक कविता सुनाउँदै उनी मञ्चमा पुगेका थिए। साहित्यकार सरुभक्तले उनलाई सयपत्रीको माला लगाइदिए। लगत्तै गजलकार दिपक समिपले कवि थापाको चिनारी पस्किए। दुई दशक भन्दा लामो समयदेखि गीत, गजल र कविता लेखनमा सक्रिय थापा पोखराका स्थापित स्रष्टा हुन् ।
माघे संक्रान्तिका दिन अभियानले श्रोता तथा दर्शकलाई घिउ, चाकु र तरुल खुवाएर कविता सुनाएको हो । अभियानका संयोजक कवि सञ्जिव पौडेलका अनुसार कार्यक्रममा थापाले जीवन दर्शन, मायाप्रेम र संघर्षका विषयलाई कवितामा पस्किए । उनले आफ्नो जवानीका क्षणहरू यसरी सम्झिएः
रातरातभर नसुतीनसुती बनाएका
शुभकामनाका रङ्गीन कार्डहरू
तिमीले कतै पट्याएर
पुरानो पुस्तकमा राखेकी छ्यौ कि ?
साहित्य सृजना र साहित्यिक पत्रकारितामा समेत संलग्न थापा ‘सिउँडी’ नामक साहित्यिक पत्रिकाको सम्पादक पनि हुन् । उनका ‘मनको मूच्र्छना’ र ‘पलापला’ दुई गजल सङ्ग्रह र ‘पर्खालबाहिर’ नामक मुक्तक सङ्ग्रह प्रकाशित भइसकेका छन् भने कविता सङ्ग्रह प्रकाशोन्मुख अवस्थामा छ।
कार्यक्रममा उनलाई एक एक वटा कविता वाचन गरेर कविद्वय सरस्वती श्रेष्ठ ‘सरू’ र अमृत सुवेदीले सघाए । कार्यक्रमको सञ्चालन कवि अल्पज्ञानीले गरेका थिए । संस्थाले असार पन्ध्रमा ‘दही चिउरासँग कविता’ र माघ १ गते ‘घिउ, चाकु र तरुलसँग कविता’ नाम दिएर वर्षमा दुईपटक एकल कविता वाचन कार्यक्रम निरन्तर गर्दै आइरहेको छ । साहित्य, शिक्षा र होमस्टे प्रबर्धनका क्षेत्रमा अग्रसर संस्थाले संस्कृतिसँग साहित्यलाई जोड्ने जमर्कोका साथ यस्तो कार्यक्रम आयोजना गरेको संस्थाका अभियन्ता सुरज उपाध्यायले बिएल नेपाली सेवालाई बताए ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया