पर्यटन बोर्डको सिइओका लागि तीन जनाको नाम सिफारिस

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ)का लागि छनोट समितिले तीन जनाको नाम सिफारिस गरेको छ। अहिले कार्यकारी रहेका दिपकराज जोशीको कार्यकाल सकिन लागेपछि नयाँ सिइओ छनौटको प्रक्रिया अघि बढेको हो।

आइतबार बसेको छनोट समितिको बैठकले ९ जनाको नाम सिफारिस गरेको हो।  उपसमितिले काशिराज भण्डारी, दीपक बस्ताकोटी, दीपकराज जोशी, धनञ्जय रेग्मी, नवीन पोखरेल, बच्चुनारायण श्रेष्ठ, रोहिनीप्रसाद खनाल, सन्तोषविक्रम थापा र हिकमत सिंह ऐरको नाम छनोट गरेको थियो।

त्यसमध्येबाट सिफारिस हुनेमा डा धनन्जय रेग्मी,दीपक बस्ताकोटी र हिक्मत ऐर रहेका छन्। अब भोलि बस्ने बोर्डको बैठकले यी मध्ये एक जनालाई नयाँ सिइओ बनाउनेछ।

चार वर्षको कार्यकाल हुने पर्यटन बोर्डको सिइओले सेवा सुविधा तथा तलब आकर्षक हुन्छ। देशविदेश भ्रमणको अवसर। आकर्षक टिएडिए। पाँचतारे सुविधा जस्ता यो पदका आकर्षण हुन्। अहिलेकै अवस्थामा पनि करिब ३ लाख मासिक तलब हुने यो पदमा धेरैको आकर्षण छ। 

बोर्डको अध्यक्ष संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हुन्छन्। बोर्डमा सरकारी पाँच र निजी क्षेत्रका छ गरी ११ जना सञ्चालक समिति सदस्य रहने व्यवस्था छ।

सिइओ नियुक्त भएपछि सरकारी वा गैरसरकारी अन्य जिम्मेवारीबाट मुक्त हुनुपर्ने कानूनी व्यवस्था छ।

बोर्डको सिइओको प्रतिस्पर्धाका लागि निवेदन दिएका १७ प्रतियोगीमध्ये उनीहरुको शैक्षिक प्रमाणपत्र र अनुभवका आधारमा ‘सर्टलिस्ट’ गरिएको थियो।

सर्टलिस्टमा परेका नौ जनालाई विज्ञसहितको सहभागितामा समितिले प्रस्तुतीकरण र अन्तर्वार्ता लिएको थियो। समितिका दुई विज्ञका रूपमा पूर्व पर्यटनसचिव कृष्णप्रसाद देवकोटा र पर्यटन व्यवसायी सागर पाण्डे रहेका थिए।

बोर्डको सिइओ छनोटका लागि सिफारिस गर्न पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय, बोर्डका सञ्चालक समिति सदस्य पौडेल र कृष्णबहादुर महरा रहेको उपसिमित बनाइएको थियो। 

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव अध्यक्ष रहेको बोर्ड सञ्चालक समितिले सिइओ नियुक्त गर्ने व्यवस्था छ। समितिले बनाएको सिइओ छनोट कार्यविधि मातहत रही सिइओका लागि आवेदन माग गरेको थियो। गत मङ्सिर १८ गते प्रकाशित विज्ञापनपछि १७ जनाले आवेदन दिएका थिए।

प्रकाशित मिति: : 2020-01-20 05:28:48

प्रतिकृया दिनुहोस्