नेकपाको आचारसंहिता– आफ्नो कमाइबाट राज्यलाई कर तिर्नू, कसैलाई तँ नभन्नु

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाल कम्युनिष्ट पार्टीले पार्टी सदस्यहरूका लागि आचारसंहिता जारी गरेको छ। नेकपाले पार्टी सदस्यहरूले आफ्ना छोराछोरीलाई कसरी सम्बोधन गर्नेदेखि मुलुकको हितका लागि के–के गर्ने भनेर  ११ बुँदे आचारसंहितामा जारी गरेको हो। 

संगठन विभागका प्रमुख वामदेव गौतमसहितको समितिले बनाएको आचारसंहिता केन्द्रीय सचिवालयले पास गरेपछि आइतबारदेखि मुलुकभर सर्कुलर गरिएको छ।

हालैमात्र जारी नेकपाको पार्टी आचारसंहितामा आफ्ना नेता कार्यकर्तालाई अनुशासनमा बाँध्न पार्टी कमिटीहरुमार्फत सर्कुलर जारी गर्दै आचारसंहिता कार्यान्वयनमा जोड दिएको छ। हाल नेकपाका ८ लाख पार्टी सदस्य रहेका छन्। पार्टी सदस्यता विस्तारको योजना अघि सारेको नेकपाले प्रतिसदस्य अरु थप चार जना बनाएर ३२ लाख सदस्य पुर्याउने योजना अघि सारेको छ। 

तर सदस्य संख्या बढाउनुअघि पार्टीले तयार पारेको विशेष परिपत्रमा नेता, कार्यकर्ता तथा सदस्यहरुले पालना गर्नुपर्ने आचारसंहिता तय गर्दै उनीहरुलाई संविधान, पार्टी विधान  र नियमावलीप्रति जवाफदेही बनाउने प्रयास थालेको छ।

संहिताको १ नम्बर बुँदामा पार्टी सदस्यहरूले आफ्नो कमाइबाट राज्यलाई कर तिर्न, जीवन निर्वाह गर्न र पार्टीलाई नियमित लेबी बुझाउन पनि भनिएको छ।

‘भ्रष्टाचार, कालोबजारी, गैरकानूनी कमिसन, करछली, अनियमितताजस्ता अपराध नगर्ने, गर्न नदिने तथा आफूसँग प्राप्त सूचना सरकारलाई उपलब्ध गराउने कर्तव्य निर्वाह गर्न नमूना बन्नुपर्छ’, नेकपाको आचारसंहितामा भनिएको छ। 

समाजमा रहेका कुरीति, रूढीवादी संस्कार, भेदभाव, छुवाछूत र महिलामाथि हुने हिंसाविरूद्ध सधैं खडा हुन पनि संहितामा सदस्यहरूलाई भनिएको छ। घरेलु श्रमिक नराख्न, पाँचवर्ष पुगेका बालबालिकालाई  अनिवार्य स्कुल पठाउन समेत नेकपाले भनेको छ।

यो आचारसंहिता लागु गराउन सबै तहका कमिटीलाई भनिएको छ।
संहिताको बुँदा नम्बर २ मा सबै तहका नेता, कार्यकर्ता र पार्टी सदस्यले परिवारमा कस्तो आचरण गर्ने भनेर उल्लेख गरिएको छ। जसमा कसैलाई तँ भन्न पूर्ण रूपले बन्द गर्नुपर्ने उल्लेख छ।

संहिताको बुँदा नम्बर २ मा सबै तहका नेता, कार्यकर्ता र पार्टी सदस्यले परिवारमा कस्तो आचरण गर्ने भनेर उल्लेख गरिएको छ। जसमा कसैलाई तँ भन्न पूर्ण रूपले बन्द गर्नुपर्ने उल्लेख छ।

यस्तै उक्त बुँदा मै पार्टी सदस्यहरूले  बेला बेलाबेलामा आफ्नो परिवारका सदस्यको बैठक बसालेर सबैलाई सल्लाह सुझाव दिनु पर्ने समेत भनेको छ।

‘बेलाबेलामा परिवारका सदस्यहरू सबै जुटेर पारिवारिक बैठक बसी हार्दिकपूर्ण वातावरणमा सबलै सबैलाई सल्लाह, सुझाव दिने र आलोचना गर्ने स्थिति निर्माण गर्नुपर्छ,’ नेकपाले जारी गरेको आचारसंहितामा भनिएको छ, ‘१६ वर्ष पुगेका परिवारका सबै सदस्यहरूका बीच दिनभरि गर्नुपर्ने घरका कामहरू सम्पन्न गर्न  कार्यविभाजन गर्नुपर्छ। कार्यविभाजन गर्दा सबभन्दा अफ्ठेरो काम आफूले लिनुपर्छ। परिवारका सदस्यहरू सबैसँगै बसेर खाना खानुपर्छ।’

आचार संहिताको अन्त्यमा पार्टीको सिद्धान्त, कार्यक्रम, नीति र विधान, नियमावली, निर्णय तथा आचारसंहिता पालना गर्नु प्रत्येक पार्टी सदस्यको कर्तव्य रहेको भन्दै  यसको पालना नगर्ने तथा पटक–पटक सचेत गराउँदा पनि नसुध्रने सदस्यलाई कानूनसँग सम्बन्धित सवालमा कानून बमोजिम, पार्टी अनुशासनसँग सम्बन्धित सवालमा पार्टी विधान, नियमावली र निर्णय बमोजिम कारवाही गर्नुपर्ने उल्लेख गरिएको छ। 

प्रकाशित मिति: : 2020-01-21 04:11:52

प्रतिकृया दिनुहोस्