बसिरलाई अन्तर्राष्ट्रिय फौजदारी अदालत समक्ष बुझाउने सरकारको निर्णय

एजेन्सी

काठमाडाैं

सुडान सरकारले डार्फर नरसंहारको आरोप खेपिरहेका पूर्व राष्ट्रपति ओमार अल–बसिरलाई अन्तर्राष्ट्रिय फौजदार अदालतसमक्ष बुझाउन सहमति जनाएको छ।

सुडानको सत्तारुढ परिषदका एक सदस्यले बसिरमाथि डार्फर घटनामा युद्ध अपराधको आरोप लागेको जानकारी दिए। हेगस्थित अदालत (आइसिसी) ले बसिर र उनका अरु तीन जना सहयोगमाथि आमहत्या, मानवता विरुद्धको अपराध र युद्ध अपराधको आरोप लगाएको छ।

“आइसिसीले दोषी ठहर गरेका व्यक्तिहरु सबैलाई हेग पठाइनेछ,” परिषदका सदस्य मोहम्मद हस्सन अल–टाइसेले एक विज्ञप्ति प्रकाशन गरी जानकारी दिए। “सिफारिस गरिएकाहरुमा एक जना अल–बसिर र अरु तीन जना छन्।”

तर उनले यी चारै व्यक्तिलाई कहिले आइसिसी समक्ष हस्तान्तरण गरिन्छ भन्ने स्पष्ट गरे।

टाइसेले डार्फरका विद्रोही समूह समक्ष डार्फर क्षेत्रमा शान्ति कायम गर्न सरकारले वार्ता गरिरहेको जानकारी दिए। डार्फरमा सन् २००३ मा भड्किएको हिंसामा करिब तीन लाख मानिस मारिनुका साथै लाखौं मानिस विस्थापित भएका छन्।

टाइसेले डार्फरमा शान्ति स्थापना गर्ने सन्दर्भमा युद्ध अपराधको छानबिन गर्न एउटा विशेष अदालत गठन गर्ने बारेमा पनि विचार विमर्श भइरहेको बताए।

जुबामा जारी वार्तामा सहभागी विद्रोही समूहका एक सदस्यले पनि सरकारी तयारीका बारेमा जानकारी दिएका छन्।

वार्तापछि संवाददाताहरुसँग कुरा गर्दै विद्रोही प्रतिनिधिमण्डलका सदस्य निमिर मोहमद अब्दुरहमानले युद्ध अपराधका मुख्य दोषीलाई आइसिसी समक्ष हस्तान्तरण गर्ने सरकारी प्रयत्न सराहनीय रहेको बताउँदै अबका दिन शान्ति र न्यायका लागि सरकारले उचित कार्य गर्ने विश्वास व्यक्त गरे।

डार्फरमा अल्पसंख्यक अफ्रिकी समुदायले तत्कालीन अरब–समर्थित अल–बसिरको सरकार विरुद्ध सशस्त्र विद्रोह गरेका थिए। उनीहरुले अफ्रिकी अल्पसंख्यक समुदायमाथि बसिरको सरकारले आर्थिक र राजनीतिक रुपमा विभेद गरेको आरोप लगाउँदै आएका थिए।

सुडान सरकारका प्रवक्ता फैजल मोहम्मद सलिहले पनि पूर्व राष्ट्रपति अल–बसिर र उनका तीन सहयोगीलाई आइसिसी समक्ष हस्तान्तरण गर्न लागिएको एएफपीलाई जानकारी दिए।

बसिरको शासन विरुद्ध जनताले महिनौं प्रदर्शन गरेपछि गत वर्ष अप्रिलमा सेनाले बसिरलाई पदच्यूत गरेको थियो। करिब तीन दशक शासन गरेका बसिरलाई हाल भ्रष्टाचारको अभियोगमा दुई वर्षको सजाय सहित हिरासतमा राखिएको छ।

बसिर विरोधी प्रदर्शनकारीहरु, डार्फरका बासिन्दा तथा विद्रोही समूहहरुले बसिरलाई आइसिसी समक्ष हस्तान्तरण गर्न माग गरिरहेका छन्। आइसिसीले दोषी ठहर गरी पक्राउ पूर्जी जारी गरे पनि बसिरले आफू सत्तामा रहँदा रसिया र चीन समेतका कतिपय देशको औपचारिक भ्रमण गरेका थिए।

प्रकाशित मिति: : 2020-02-13 03:23:50

प्रतिकृया दिनुहोस्