दुर्गाराज बुढा र सुन माया बुढालाई गुरिल्ला म्याराथनको उपाधि

बिएल संवाददाता

रूकुम पश्चिम

२५ औं जनयुद्ध दिवसको अवसर पारे आयोजित ‘तेस्रो मौराखारा गुरिल्ला म्याराथन’ को उपाधि दुर्गाराज बुढा र सुनमाया बुढाले जितेका छन्।

शुक्रबार सम्पन्न सानीभेरी तेस्रो मौराखारा गुरिल्ला म्याराथनमा पुरुषतर्फको उपाधि मुसिकोट रूकुम पश्चिमका दुर्गाराज बुढाले जिते। बुढाले ५३ प्रतिश्पर्धीलाई पन्छाउँदै नगद ७५ हजार, कप र मेडलसहित पहिलो पुरस्कार जिते। उनले चार घन्टा ५४ मिनेटमा दुरी पूरा गरेका थिए।

यस्तै सानीभेरी, रूकुम पश्चिमका अर्जुन बस्नेतले दोस्रो हुँदै नगद ५० हजार र मेडल हात पार्दा गोरखाका भीम गुरूङ र जाजरकोटका दीपक कार्कीले तेस्रो र चौथो हुँदै १०-१० हजार राशीको  सान्त्वना पुरस्कार हात पारे। पाँचौमा सानिभेरी रुकुम पश्चिमको लक्षमण कुसारी भए।

त्यस्तै ३६ जना धावकलाई पछि पार्दै जुम्लाकी सुनमायाले नगद ५० हजार, कप र मेडल जितिन । उनले निर्धारित ३६ किलोमिटरको दुरी दुई घन्टा ५७ मिनेटमा पार गरिन् । तीन घन्टा नौ मिनेटमा दुरी पार गरेकी प्युठानकी हुमी बुढामगरले दोस्रो हुँदै नगद ३५ हजार र मेडल हात पार्दा रुकुम पश्चिम सानीभेरी गाउँपालिकाकी रुपा नकालले तीन घन्टा २५ मिनेट र सानीभेरी गाउँपालिकाकै मुवा भण्डारीले तीन घन्टा ४२ मिनेटमा दौड पूरा गर्दै सान्त्वना भई १०/१० हजार नगद जितिन् ।

म्याराथनमा पुरुषतर्फ ५४ जना र महिलातर्फ ३७ जना धावकले प्रतिस्पर्धा गरेको प्रतियोगिता व्यवस्थापक मौराखारा युवा क्लबले जनाएको छ । क्लबका अनुसार म्याराथनमा रुकुम पश्चिम र पूर्वसहित जाजरकोट, प्युठान, दाङ, बागलुङ, गोरखा, सिन्धुपाल्चोक र सिन्धुलीका धावकहरूले प्रतिस्पर्धा गरेका थिए । गाउँपालिकाले तत्कालीन माओवादी लडाकुहरूले सशस्त्र संघर्षका क्रममा प्रयोग गरेको बाटोमा म्याराथन सञ्चालन गर्दै आएको छ । मौराखारा तत्कालीन माओवादीले लडाकु उत्पादन गर्न प्रयोग गरेको ठाउँ हो ।

सानीभेरी गाउँपालिका, रूकुम पश्चिममा आयोजित ४८ किमी दुरीको गुरिल्ला म्याराथनको उद्घघाटन पूर्व गृह मन्त्री तथा प्रतिनिधि सभा सदस्य जनार्दन शर्माले गरेका थिए।

उनले खेलकुदलाई व्यवसायी बनाउने, खेललाई पर्यटनसँग जोडेर राष्ट्रको  विकासमा आर्थिक उन्नति गर्दै अगाडि बढाउनुपर्ने बताएका थिए।

पहाड, हिमाल र तराईलाई एकीकृत शूत्रमा बाँध्ने र शान्तिको प्रतिकको रूपमा गुरिल्ला म्याराथनलाई विस्तार गर्दै लगिनेमा उनी आशावादी थिए।

‘ऐतिहासिक र गौरवपूर्ण इतिहासको महान जनयुद्वको रफ्तारले ल्याएको उपलब्धिलाई संस्थागत गर्दै लैजानुका साथै गुरिल्ला म्याराथन (युद्ध पर्यटन ) को माध्यमबाट आफ्नो गाउँलाई समृद्ध बनाउन शिक्षा स्वास्थ्य, कृषि र पर्यटनलाई प्रविधि मैत्रि बनाउदैँ अगाडि बढ्नुपर्छ’, उनले भने।

सानीभेरी गाउँपालिकाका अध्यक्ष नर बहादुर पुन (तारा) ले मौराखारा एक जनयुद्वको बेलामा महत्वपूर्ण स्थल रहेको भन्दै यहीबाट फागुन १ गते २०५२ सालमा जनयुद्व सुरू हुँदा राडी प्रहरी चौकी आक्रमणको तयारी भएको स्मरण गराए।

ठूलि भेरी र सानी भेरीको संगमस्थल रिम्ना एक धार्मिक क्षेत्रसमेत हो। मौराखारामा जनयुद्वको बेला कृषि फार्म सञ्चालन गरेको थियो। भेरी नदिमा राफ्टिङमा सम्भावना, पाराग्लाडिङ, क्यानोनिङ, झरनाको मनोरम दृश्य हेर्न सक्ने , स्थानीय जात जातिको जिवनशैली, संस्कृति हेर्न सकिन्छ। त्यहाँ किवी र  सुन्तला फार्मिङ पनि सञ्चालित छ।

समुद्री सतहबाट ३ हजार मिटरको उचाईमा रहेको पर्यटकीय गन्तब्य मौराखाराबाट विभिन्न जिल्लाहरूको मनोरम दृश्यसमेत देख्न सकिन्छ ।

प्रकाशित मिति: : 2020-02-15 13:00:57

प्रतिकृया दिनुहोस्