चीनको बिआरआईलाई काउन्टर दिन एमसीसी आएको हो?

नेपालकाे वैदेशिक सहयाेगकाे इतिहासमा अमेरिकाले दिन लागेकाे अहिलेसम्मकै ठूलाे अनुदानलाई लिएर विकाश प्रेमी नेपाली खुसी छन्। तर, केही व्यक्ति तथा समूह राजनैतिक कुरा गरेर भ्रम छर्न उद्धत छन्। 

डा. उत्तम गौली

बाल्टिमाेर (अमेरिका)

नेपालमा अहिले अमेरिकाले दिने भनिएकाे ५० कराेड अमेरिकी डलर सहयाेग अनुदानकाे विषयलाई लिएर चर्चा चुलिएकाे छ। एमसीसीमार्फत नेपालकाे सडक र उर्जा क्षेत्रमा अमेरिकाले गर्न लागेकाे लगानीलाई लिएर यति बेला बहस केन्द्रित छ। नेपालकाे वैदेशिक सहयाेगकाे इतिहासमा अमेरिकाले दिन लागेकाे अहिलेसम्मकै ठूलाे अनुदानलाई लिएर विकाश प्रेमी नेपाली खुसी छन्। तर, केही व्यक्ति तथा समूह राजनैतिक कुरा गरेर भ्रम छर्न उद्धत छन्। 

यसअघि विदेशी बैक तथा संस्थाबाट सरकारले भारी मात्रामा ऋण लिएर प्रत्येक नेपालीकाे काँधमा ऋण बाेकाउँदा पनि यति ठूलाे बहस भएकाे थिएन। तर, अमेरिकाले अनुदानकाे रुपमा दिने यति ठूलाे सहयाेगलाई लिएर नकारात्मक र गलत सूचना जनमानसमा फैलाउन खाेज्नु र फिर्ता गर्नु नपर्ने र कुनै नेपालीकाे काँधमा ऋणकाे भार नपर्ने परियाेजनाकाे विषयमा शंका उब्जाउन खाेज्नु आफैमा दुर्भाग्य र नेपालकाे विकाश नचाहने तत्वकाे उक्साहटमा याे काम भइरहेकाे बुझ्न गाह्राे छैन। 

याे पनि: अमेरिकाको समृद्धिमा नेपालको पनि अंश लाग्छ

वास्तवमै याे विडम्बनाकाे विषय हाे। एमसीसी नेपालमा आउने सन्दर्भमा याे जत्तिकाे पारदर्शी काम अहिलेसम्म भएकाे छैन भन्दा गलत अर्थ लाग्दैन। सम्झौताको प्रतिलिपि जो सुकैले जहिलेपनि हेर्न मिल्नेगरी इन्टरनेटमा राखिएको छ। सरकारले नेपाली भाषामै उल्था गरेको दस्तावेज पनि उपलब्ध गराएको छ। अरु सबै छाडौं अमेरिकी राजदूतले समेत नेपाली भाषामा यो कुरा बुझाउँदै हिंँडेका छन्।

अब सबैलाई अचम्म लाग्न सक्ला, यति पारदर्शी हुँदा हुँदै पनि र नेपालकाे इतिहासमा पहिलाे पल्ट यति ठूलाे मात्रामा अनुदान रकम देश विकाशमा भित्रिँन लाग्दा पनि विराेध किन भइरहेकाे छ त? मैले नेपालमा एकजना भाईलाई याे विषयमा सोधेको थिएँ। 

उसले चेतावनीयुक्त भाषामा मलाई खबरदारी गरायाे–“हेर्नुस् तपाईं अमेरिका बस्ने मान्छेलाई केही थाहा छैन। यसमा ठूलो खेल छ!”

उसले बौद्धिक सम्पत्ति, लेखापरीक्षण, अमेरिकी क़ानून लागु हुने आदी कुरा फररर भन्दै गयो। मलाई लाग्याे– उसले उल्टा बुझेको रहेछ। या भनौं जानाजान उल्ट्याउन चाहनेहरुको टिभी अन्तर्वार्ता बढी नै हेरेको रहेछ।

नेपालले अमेरिकासँग सहयाेग लिन हुँदैन भन्ने उसकाे लामाे तर्क सुनेपछि मेराे अनुमान रह्याे– महरा दाईले युवानमा किनेका मान्छेको कुरा भाईले धेरै सुनेको हुनुपर्छ।

याे पनि: साम्राज्यवाद र इण्डो-प्यासिफिक

मैले यी कुरा बुझाएँ। सम्झाैंताकाे एक–एक बुँदामाथि दफावार छलफल भयाे।  छलफलको एक अंश यस्तो थियो।

‘उसाे भए सेना ल्याउने कुरा किन गरियो त?’–भाईले सोध्यो। 

अमेरिकी कानुन ले सैन्य, प्रहरी, मिलिसिया आदिको तालिममा एमसीसीको रकम खर्च गर्न निषेध गरेको छ। एमसीसी सम्झौंताको दफा २।७ (क) मा स्पष्ट यो कुरा उल्लेखित गरिएको छ। 

भाइले आफै सम्झौंता हेरेपछि मात्रै मान्यो। तर पनि धेरै मान्छे र मीडिया समेतले सम्झौंता नपढिकनै अमेरिकन आर्मी नेपाल आउने भनेर हल्ला पिटिरहेका छन्। उसले आफ्नो बुझाईमा टाउको हल्लायो। 

उसले फेरि भन्याे– ‘कुरा यत्तिमात्र कहॉं हो र दाई। यहॉं सम्झौंतामा नलेखिएको हल्ला पनि छ नि त।’ 

‘के छ त्यस्तो,’ मैले सोधें। 

उसले भन्याे–‘यो चीनको बिआरआईलाई काउन्टर दिनको लागि अमेरिकाले ल्याएको हत्कण्डा हो रे नि।’

मैले एमसीसी को ऐन २००३ मै बनेको तर बिआरआई २०१३ मा आएको बताएँ। 

उसको अझै चित्त बुझेन। अर्को प्रश्न तेर्स्यायो–‘अनि यो एमसीसी आईपीएससँग जोडिएको हो कि होइन त?’

मैले भने– ‘अमेरिकाका सबैकुरा कुनै न कुनै रुपमा जोडिन्छन्। त्यो किन सान्दर्भिक भयो र यहॉं?’ 

याे पनि: कसरी जन्मियो एमसीसी? किन काम गर्दैछ नेपालको ऊर्जा र सडक क्षेत्रमा ? (भिडियाेसहित)

‘अमेरिकी अधिकारी कार्ल रोजर्सले नै जोडिएको छ भनेका छन् रेन्त’– प्रतिप्रश्न गर्यो केटोले।

एकछिन मलाई पनि ताज्जुब लागेर आयो। होइन भनु भने हो। हो भनु भने होइन। फेरी उसले त कार्ल रोजर्सकै स्टेटमेन्ट माथी टेकेर सोधेको छ। 

अनि मैले उसलाई सोधें –‘हाम्रो खानेमुख र मलत्याग गर्ने मलद्वार जोडिएका हुन्छन् कि नाई?’ 

‘छ्या कस्तो कुरा गर्नुहुन्छ दाईले’, उसले भन्याे।

मैले सम्झाए–‘हाेइन, तिमीहरु नै त्यस्तै कुरा गर्दैछौ त! हेर यी सबै कुराहरु कहिं न कहिं कुनै न कुनै प्रकारले जोडिएका हुन्छन् तर यिनीहरुका आ–आफ्नै किसिमका विशिष्ट कामहरु हुन्छन्। नेपालको मूल चासो सैन्य गठबन्धनमा नमिसिने भन्ने कुरा त लिखित रुपमै सम्झाैंतामा लेखिसकेपछि हाम्रो हकमा लागु हुने त यो सम्झाैंता नै हो नि, हैन र ?’

‘हुन त हो। तर अमेरिकाले सम्झाैंतामा लेखे बमोजिम नै गर्छ भनेर कसरी विश्वास गर्ने?– उसले भन्याे। 

मैले भने–‘ उसाे भए यो पृथ्वी नामक ग्रहमा कुन देशको विश्वसनीयता कति छ तिमीलाई थाहा छ त?’

‘म पत्ता लगाउँछु नि’– भाईले यो प्रश्नलाई गृहकार्यको रुपमा लिएको छ। हेरौं भाइले के पत्ता लगाउँछ। मेरा भाइहरु धेरै स्मार्ट छन्। लागे भने खत्रै गर्छन् र ठीक कुरा पहिल्याउने क्षमता राख्छन्। उनीहरुले सिरीया, ईराक र अफ़ग़ानिस्तानको कुरा चाहिं पत्ता लगाइसकेका छन्। तर, ती देशका भनिएका चित्र र भिडियोहरु सोसल मीडियामा हालेर नेपाली जनतालाई तर्साउनेहरु नाङ्गिन थालिसकेका छन्। 

याे पनि: अमेरिकाले यस कारण खोजेको हो, संसदबाट एमसीसीको अनुमोदन (भिडियोसहित)

मेरो भाइसँगको कुरा बुवाले पनि सुनिरहनुभएको रहेछ। फोनकल सकिनै लाग्दा बुवाले केही बोल्न खोज्नुभयो। बुवाले अमेरिका घुमिसक्नुभएको छ। भाइले बुवालाई सोधिहाल्यो– बुवा तपाईंलाई अमेरिका हामी नेपालीको मित्र हो जस्तो लाग्छ? 

बुवाले गीताको श्लोकबाट जवाफ दिनुभयो:

उद्धरेदात्मनात्मानं नात्मानमवसादयेत् 
आत्मैव ह्यात्मनो बन्धुरात्मैव रिपुरात्मनस्

अर्थ बुझाइदिनुस्न बुवा, बुहारीले सोधिन्। 

आफूलाई आफ्नै दिमागको शक्तिबाट उचाल्नुपर्छ र आफूलाई तल खस्न दिनुहुँदैन, किनकि हाम्रो दिमाग हाम्रो मित्र हुन सक्छ तर आफैंको शत्रु पनि हुन सक्छ। बुवाले शार्दूल विकृडित छन्दमा मीठो काव्यात्मक शव्दले टुङ्ग्याइदिनुभयो: आफै हो आफनु मित्र, आफै हो शत्रु आफनु!

(लेखक अमेरिकास्थित माेर्गन विश्वविद्यालयका सहायक प्राेफेसर हुन्।) 

प्रकाशित मिति: : 2020-02-17 22:33:51

प्रतिकृया दिनुहोस्