कोरोना भाइरसका कारण कम्पन भएको विश्व अर्थतन्त्र

दिनेश खनाल

काठमाडाैं

कोरोना भाइरसका कारण यति बेला विश्व नै त्रसिद छ। याङ्जी खोलाको छेउमा बसेको हुवे प्रान्तको एउटा सुन्दर शहर उहानबाट फैलिएको कोरोना भाइरसले विश्व अर्थतन्त्रलाई नै चुनौति दिन लागेको छ। 

चिनियाँ सरकार कोरोना भाइरसलाई नियन्त्रणमा ल्याउन युृद्धस्तरमा लागेको छ। राष्ट्रपति सी चिनफिङले कोरोना भाइरसलाई दानवको संज्ञा दिँदै ‘मानवताका लागि रोगसँग युद्ध’ को घोषणा गरेपछि यो भाइरस चीनका लागि कति ठूलो टाउको दुःखाई भएको छ भनिरहनु नपर्ला। 

चीनमा कुनै रोगको रोकथामका लागि राज्य नै यसरी लागेको पहिलो घटना हो। यसअघि सन् २००३ मा पनि सार्सको भाइरस फैलिँदा चीनले यति ठूलो तदारुकता देखाएको थिएन। उहान शहर चीनको मुटु मानिन्छ। यसले चीनको सबै बाटोलाई जोडेको छ। 

हुवे प्रान्तमा ५ करोडको हाराहारीमा मानिस बसोबास गर्छन। जसमा उहानमा मात्र १ करोड १० लाख जनसंख्या छ। 

कामको सिलसिलामा गत डिसेम्बरमा म चीनमा हुँदा नै यो रोगको विषयमा गाइँगुइँ चलिसकेको थियो। यसको विषयमा चिनियाँ सरकारले डिसेम्बरदेखि नै अनुसन्धान सुरु गरिसकेको थियो। सार्सभन्दा पनि कडा र एक बाट १० जनामा सर्ने कोरोना भाइरसलाई नियन्त्रणमा राख्न असफल भएपछि चीन सरकारले जनवरी २० मा घोषणा गरेको हो। 

जनवरी २५ मा चिनियाँहरूले नयाँ वर्ष मनाउने गर्छन। तर, सरकारले पाँच दिनअघि नै कोरोना भाइरसको महामारीको घोषणा गरेपछि चीन मात्र नभएर विश्व नै अस्तव्यस्त भयो। 

चिनियाँ सरकारले कोरोना भाइरसको प्रभावलाई मध्यनजर गर्दै आफ्ना जनतालाई घरबाट बाहिर ननिस्कन आवहान गरेको छ। दैनिक उपभोग्यवस्तुको किनमेलका लागि सरकारले घरको एकजना सदस्यलाई २ दिनमा बाहिर निस्किने वातावरण मिलाएको छ। 

कोरोना भाइरसकै कारण अहिले चीनमा ६ करोडभन्दा बढी मानिसहरू घरमै बन्दी जस्तै बस्न बाध्य भएका छन्। एकबाट अर्कोमा छिट्टै सर्ने कारण चिनियाँ सरकार कुनै जोखिम मोल्ने अवस्थामा छैन। 

कोरोना भाइरसकै कारण चीनमा २४ सयभन्दा बढी व्यक्तिको निधन भइसकेको छ। ७४ हजारभन्दा बढी संक्रमित देखिएका छन्।

सरकारले पहिले क्वारेन्टिनका लागि १४ दिनको म्याद राखेको थियो। फागुन ४ गतेबाट यसलाई बढाएर २१ दिनमा पुर्‍याएको छ। भर्खरै मात्र क्वारेन्टिनबाट निस्किएको एकजना व्यक्तिमा ३५ दिनपछि कोरोना भाइरसको लक्षण देखिएपछि अवस्था थप तनावग्रस्त बन्न पुगेको छ। 
चीनमा धेरै व्यक्तिको रोजीरोटी दैनिक ज्यालादारीमा आश्रित छ। प्रायः व्यक्तिको आफ्नै सम्पत्ति छैन। त्यसैले उनीहरूसँग पैसा हुँदैन। यस्तो अवस्थामा स्थिति गम्भीर हुनु स्वभाविकै हो। 

तर, चिनियाँ जनतामा आफ्नो देशको नेताप्रति ठूलो सम्मान र आदर छ। खास गरेर राष्ट्रपति चिनफिङबाट बढी नै आशा राख्छन्। त्यसैले उनीहरू सरकारी निर्देशनको उल्लंघन गर्नैभन्दा पनि आफ्नो सतर्कताका लागि ल्याइएको नीति नियमलाई अक्षरक्ष पालना गरिरहेका छन्। 

तर, यति हुँदा हुँदै पनि कोरोना भाइरसको प्रभाव समूलरुपमा नस्ट नभइसकेको अवस्थामा यसलै ठूलो समस्या निम्त्याउँदै छ। 

चीन विश्व बजारका लागि नेपालको भाटभटेनी सुपरमार्केट भने जस्तै हो। विश्वले यहीबाट सुपथ मूल्यमा सामान खरिद गर्ने गरेका छन्। कोरोना भाइरसका कारण विगत डेढ महिनादेखि चीनमा फ्याक्ट्रीहरु राम्रोसँग सञ्चालनमा आएका छैनन्। 

दैनिक मजदुरी गर्ने चिनियाँ घरमा थुनिएको अवस्था छ। अबको दुई महिना सामानको प्रोडक्सन नहुने हो भने विश्व बजारमै यसको कम्पन देखिनेछ। विश्व उत्पादनको ठूलो हिस्सा चीनले ओगटेको छ। 

भारतमा सप्लाई हुने आधुनिक औषधीको ८० प्रतिशत व्यापार चीनमा छ। कोरोना भाइरसका कारण चीनबाट आउने स्याउलगायत खाध्यान्न नेपाल आउन छोडेको छ। यसले गर्दा अहिले नै स्याउको मूल्य आकासिन थालिसकेको छ। 

चीनसँग अब दुई महिनाका लागि सामानको स्टक छ। यसअवधिमा कोरोना भाइरस नियन्त्रणमा आएन भने विश्व बजारले नै यसको ठूलो मूल्य चुकाउनु पर्नेछ। त्यसैले मानवीय मूल्यसँग जोडिएको कोरोना भाइरसका कारण यति बेला चीन मात्र उच्च जोखिममा छैन, विश्व अर्थतन्त्र नै जोखिममा देखिएको छ।    

लेखक चीन मामिलाका जानकार हुन्।
 

प्रकाशित मिति: : 2020-02-20 07:22:04

प्रतिकृया दिनुहोस्