मान्छे हेरेर गाडी भाडा निर्धारण !

कर्णालीको पीडा

 सडक यातायात पुगेपछि सहजताका साथ यात्रा गर्ने सपना देखेका यहाँका नागरिक चर्को भाडा तिर्न परेपछि निराश भएका छन् । जोखिमपूर्ण यात्राका साथैै व्यवसायीले मनोमानी भाडा असुल्दा विपन्न नागरिकलाई गाडी चढ्नै समस्या भएको छ ।
अधिकांश ग्रामीण सडकमा सञ्चालन हुने जिपले प्रतिकिलोमिटर ३८ रुपियाँसम्म भाडा लिने गरेको पाइएको छ । व्यवसायीले जाजरकोट–डोल्पा सडकको ७६ किलोमिटर दूरीमा पनि दुई हजार रुपियाँ भाडा लिने गरेको यात्रुको गुनासो छ । पैदल हिँड्दा एक दिनमा घरबाटै रोटी बोकेर बिनापैसै पुगिने ठाउँमा गाडी चढ्दा पन्ध्र सय तिर्न परेको नलगाड १३ का तेजबहादुर विकले दुःखेसो पोख्नुभयो ।
जिल्लाका दुई दर्जनभन्दा बढी ग्रामीण क्षेत्रमा रहेका सडकमा यातायातका व्यवसायीले मनोमानी भाडा असुल्ने प्रवृत्ति बढिरहेको छ । अधिकांश सडकमा ठूला गाडी नचल्ने भएकाले जिपले यात्रु हेरेर भाडा लिँदा विपन्न नागरिकलाई गाडी चढ्नै समस्या भएको छ । स्थानीय प्रशासनले निर्धारण गरेको भाडाभन्दा तीन गुणासम्म भाडा असुल्न थालेपछि यात्रु मर्कामा परेका हुन् ।
जोखिमपूर्ण यात्रा, त्यसमा पनि महँगो भाडा लिँदा गाडी चढ्नै अप्ठ्यारो भएको कुशे–५ का स्थानीय हरिबहादुर सिंहको भनाइ छ । उहाँले स्थानीय प्रशासनले भाडादर कायम गरे पनि अनुगमन नगर्दा यातायात व्यवसायीको मनोमानी बढिरहेको गुनासो गर्नुभयो । उहाँका अनुसार पाँच सिटे जिप (बोलेरो)ले १०÷१२ जना यात्रु बोक्दासमेत बाटोमा पर्ने प्रहरी चौकी मूकदर्शक बन्ने गरेका छन् ।

प्रकाशित मिति: : 2020-02-21 21:18:17

प्रतिकृया दिनुहोस्