स्पाकाे नाममा याैन धन्दामा फसेका युवती भन्छन्– सरकारले कडाईं गराेस् (भिडियाे)

मेरो शरीर हेर्नुस् त, कति सानो छ? मोटामोटा मान्छेले जबरजस्ती गर्दा कत्ति गाह्रो हुन्छ, सोच्नुस् त।

ओठ निचोर्दा दुध निस्केला जस्तो देखिने यी सानीनानीले ४–५ जना महिला अगाडी आफूमाथि भएको यौन दुर्ब्यवहारको कुरा गरिरहँदा सबैको आँखा रसाए। झँट्ट हेर्दा उनी चिनियाँ युवती झैं देखिन्छिन्। उनको कपालको कट, ड्रेसअप र मेकअप हेर्दा कसैले पत्याउँदैन उनी नेपाली हुन् भनेर।  

आफ्नो घर नुवाकोट बताउने यी नानीको उमेर हो, १७ वर्ष। परिवारमा ३ दाजु र एउटा भाईसँगै आमाबुवा पनि छन्। घरको आर्थिक अवस्था एकदमै कमजोर भएकै कारण उनी राजधानीमा काम पाउने आशामा काठमाडौं प्रवेश गरेकी थिइन। 

याे पनि: जव ‘३६’ हुनुपर्नेमा ‘६३’ हुन्छ, अनि चुलिन्छ मुगाली आक्रोश

उनलाई धेरैले ठमेलमा काम पाइने सुनाएका थिए। घुम्दै जाँदा एकजनाले ठमेलको नर्सिङ चोकपछाडि रहेको एउटा स्पामा काम पाउने भन्दै ठाउँ देखायो। उनलाई त्यति बेलासम्म थाहा थिएन, स्पा भनेको के हो? यहाँ के काम गर्नुपर्छ? 

अनु नाम गरेकी यी किशोरीले विगत सुनाइन्, ‘साहुनी आन्टिले कामको बारेमा जानकारी गराएपछि सजिलो लाग्यो। मालिस गर्ने काम त होला भन्ठाने।’ 

उनी काम गर्न थालेको केही दिनमै छानाबाट खसे झैं भइन्। ‘ग्राहकको शरीर मालिस गर्ने भनेर काम थालेको त ग्राहकले नै हाम्रो शरीर मालिस गर्ने रहेछन्,’ निर्दोस अनुहारमा उनले भनिन्। उनकोमा चिनियाँ ग्राहक धेरै आउँछन्। त्यसैले स्पाकी सञ्चालिकाले उनलाई चिनियाँ जस्तै हुलिया बनाउन लगाएकी हुन्। 

याे पनि: कोरियाली राष्ट्रपतिद्धारा ‘रेड अलर्ट’ घोषणाः नेपाली कामदार अन्याैलमा

उनले पहिलो दिनको अनुभव पनि सुनाइन्, ‘अन्दाजी ४० वर्ष लाग्ने मोटो मान्छे मसाज गर्न आएको थियो। तर, उसको ध्यान मेरो शरीरमा रहेछ। मालिस गर्दा मेरो शरीर चलाउन थाल्यो।’ उनले यसबाट जोगिने आफूले उसको हात टोकिदिएको बताइन्। ‘म अतालिएर रुए। उसले मेरो घाटी अठ्यायो। म चिच्याए यसपछि केही मत्थर भएको उसको हात टोकिदिए। यसपछि उम्किन सफल भए’, उनले भनिन्। 

उनले यो घटना आफ्नो साहुनीलाई पनि सुनाएकी थिइन। तर, साहुनीले वास्ता गरिनन्। ‘मलाई बाच्न मन लागेन। मर्छु भनेर साँझ कोठामा ब्लेडले हात काटे। तर, काल नआई नमरिने रहेछ,’ उनले छियाँछियाँ परेको आफ्नो हातको दाग देखाउँदै रुन्चे स्वरमा भनिन्। 

याे पनि: के एमसीसी चीनलाई घेर्न र भारतलाई सार्वभौमसत्ता बेच्न ल्याइएको प्रोजेक्ट हो? (भिडियाे)

उनले स्पामा काम गर्दा कसैको सहयोग पाइनन्। काम गर्ने साथीहरूले उल्टै सम्झाउँथे, यस्तो हो यहाँ भनेर। ‘एक साथीले आफूलाई पहिलो दिन नै एकजना भारतीयले बलात्कार गरेको सुनाइन्। यसपछि म पनि चुप भए,’ उनले भनिन्। 

उनी यौन हिंसाबाट जोगिन ‘चेन्ज नेपाल’ नामक संस्थामा पुगेकी थिइन। संस्थाले उनलाई अन्य आवास गृहमा पठाउन पहल पनि गरेको थियो। तर, आफू काम गर्ने ठाउँबाट सामान लिएर भोलि फर्किन्छु भनेर निस्किएकी अनु पुनः फर्किनन्। उनको फोन पनि उठेन। 

अनु जस्तै ठमेलको अर्को स्पामा काम गर्ने सिन्धुपाल्चोक घर भएकी रुकुको अनुभव पनि त्यति मिठो छैन। अझ रुकुले त १५ वर्षको उमेर देखिनै मसाजमा काम गर्न थालेकी हुन्। हाल उनको उमेर २७ पुगिसक्यो। यो १२ वर्षको अन्तरालमा उनको शरीर ग्राहकले नसुम्सुम्याएको ठाउँ छैन। उनी भन्छिन्–‘त्यति गर्न नदिए ग्राहक आउँदैनन्। हामीले तलब हैन कमिसनमा काम गर्नुपर्छ। बाच्ने कसरी?’

याे पनि: भारतीय र नेपालीलाई जाेडेकाे दार्चुलाकाे जगेनी जात्रा (फाेटाे फिचर)

सुरुमा त उनलाई पनि मर्न मन लाग्थ्यो रे। अहिले बानी परिसकेको छ। ‘शरीरमा तेल लगाउने काम भनेर राखेपछि त्यसैबाट पैसा आउने होला भन्ने सोच्थे तर होइन रहेछ। आफ्नो शरीरमा खेल्न दिएपछि मात्र पैसा आउने रहेछ।’ 

गाउँमा आमाबावुलाई अहिलेसम्म छोरी स्पामा काम गर्छे भन्ने सुईको छैन। उनले धेरै पल्ट काम छोड्ने प्रयास नगरेकी होइनन्। तर, पढाई नभएका कारण अन्य जाने ठाउँ नहुँदा स्पामै थन्किनु परेको उनको दुखेसो छ। 

उनी स्पामा मसाज मात्र गर्ने वातावरण बने काम पनि सम्मानित हुने बताउँछिन्। खराब काम हुने स्पा तथा मसाज सेन्टरलाई सरकारले कडाई गरे आफूहरू जस्ता गाउँबाट आएका महिला सुरक्षित रहने उनले बताइन्। 

‘सरकारले सुरक्षाको प्रत्याभूति गर्ने हो भने स्पा र मसाज सेन्टरमा हुने विकृति आफै न्युन भएर जान्थ्यो,’ रुकुको अनुभव छ। 

अनु र रुकुजस्तै राजधानीका विभिन्न मसाज पार्लरमा बालिका, किशोरी तथा महिलामाथि विभिन्न किसिमका हिंसा र दुर्ब्यवहार हुने गरेको पाईन्छ। केही वर्ष पहिला मसाज पार्लरको नाममा खोलिएका यस्ता ठाउँमा यौन दुर्ब्यवहार बढि भएको घटना बाहिर आएपछि अहिले मसाज पार्लरलाई स्पाको नाम दिइएको छ। 

याे पनि: आफ्नैको घेराबन्दीमा प्रधानमन्त्री ओली

मसाज पार्लरमा काम गर्ने महिलाको निश्चित तलब हुदैन। कमिसनमा काम गर्नुपर्छ। जाडोे महिनामा ग्राहक हुदैनन्। कमाईं पनि कम हुन्छ। 

नुवाकोट घर भएकी २० वर्षीय दलित परिवारकी रिता मिजार एकजना छिमेकी दिदीको सल्लाहमा ठमेलको मसाजमा काम गर्न थालिन्। १८ वर्षको उमेरमा मसाजमा काम गर्न थालेकी रिता दिनमा ६ घण्टा मसाजमा काम गर्छिन्। आफूले काम गरेर बहिनीलाई पालेकी रिताले परिवारलाई मसाजमा काम गर्छु भनेकी छैनन्। 

उनको हातको नङ लामो छ। नङ पाल्दा मसाज गर्न गाह्रो पर्छ। तर पनि उनी लामो नङ राखेर नै मसाज पार्लरमा काम गर्छिन्। भन्छिन्, ‘अरु कुराले मजा दिने भएपछि नङ लामो वा छोटो जे भए पनि खासै फरक पर्दैन।’

माओवादी द्धन्द्धकालमा गाउँबाट भागेर राजधानी प्रवेश गरेका बालिका तथा किशोरीको काम खोज्ने क्रम बढेपछि सन् २००१ देखि मसाज पार्लर, दोहोरी डान्सवारको व्यवसाय ह्वात्तै बढ्न थालेको हो। 

याे पनि: हुवावे भित्र्याउन विकल पौडेलले मन्त्रीलाई ५ करोड र गाडी घुस ‘अफर’ गरेको खुलासा

राजधानीका डान्सबार, मसाज पार्लरमा बालिका तथा किशोरी माथि हुने श्रम र यौन शोषणका घटना बाहिर आएपछि केही वर्षयता मसाज पार्लरको नाम परिवर्तन गरि स्पा राख्न थालिएको छ। स्पा भन्ने बित्तिकै त्यहाँ अनैतिक गतिवधि हुन्न भन्ने मानिसको बुझाई छ। तर राजधानीमा भएका केही स्पामा अहिले पनि सकेसम्म कम उमेरका बालिकालाई काममा राख्ने र उनीहरूलाई ग्राहकको ईच्छा अनुसार प्रयोगमा लगाउने गरेको पाइन्छ । 

सर्वोच्च अदालतले २०६५ मा जारी गरेको निर्देशिकामा मनोरन्जनको क्षेत्रमा काम गर्ने कामदार, ग्राहक र साहुले अपनाउनु पर्ने नियमको बारेमा उल्लेख छ। सो निर्देशिकालाई कार्यान्वयन गराउन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा अनुगमन तथा कारवाही समिति समेत गठन भएको थियो। महिला विकास कार्यालयको मातहतमा गठन गरिएको सो समितिले केही समय क्रियाशिल ढंगबाट काम गरेपनि संघीय संरचनासँगै महिला विकास कार्यालय खारेज भएपछि सो क्षेत्रमा हुने अवैध गतिविधि माथि कडा निगरानी हुन सकेको देखिदैन।

याे पनि: भिटेन उस्तै, फेरि गीतमा भन्न थाले– ‘मु‘’ss, ss‘‘न्डी’

पछिल्लो समय नेपाल प्रहरीले २०७५ सालमा स्थापना गरेको मानव बेचविखन ओसारपसार व्युरोले २०७६ साल बैशाखदेखि काम सुरु गरेयता राजधानीभित्र हुने आन्तरिक बेचविखनका घटनामा केही कमि देखिएकाे छ। प्रहरीले गैरसरकारी संघ–सस्थासँग पनि सहकार्य गर्दै आएको छ। यति हुँदा हुँदै पनि राजधानीका ठमेलमा रहेका स्पा नाम दिईएका मसाज पार्लरमा बालिका तथा किशोरीलाई  नियुक्तिपत्र  विना काममा लगाउने, तलब नतोकी कमिसनको भरमा काममा लगाउने, ग्राहकको ईच्छा अनुसार काम गर्न बाध्य बनाउने गरिन्छ। 

अनु रुकु र रिता जस्ता मसाज पार्लर वा स्पामा काम गर्ने  बालिका तथा किशोरी सानै उमेरमा यौन हिंसामा पर्छन् तर आफूलाई परिवार र साथीभाईले के भन्लान् भन्ने डरमा आफ्नो  वास्तविकता लुकाउँदा विस्तारै यौन कार्यमा लाग्न बाध्य हुन्छन् । 

प्रकाशित मिति: : 2020-02-27 03:15:59

प्रतिकृया दिनुहोस्