मृत्युलाई जितेर फर्किएकाे दिन (फाेटाे फिचर)

वास्तवमा हेली पुग्ने हताराेका बीच बाटाे ठम्याउन नसक्दा म बाक्लाे हिउँ परेकाे ठाउँमा फसेकाे थिए। मैले त्यति बेला एउटा खुट्टा टेकेकाे मात्र के थिए, कम्मरसम्म भाँसिन पुगेँ। जति म बाहिर निस्कने काेशिस गर्थे त्यति नै फस्दै गएकाे थिए।

नेपालकाे उच्च हिमाली भेगमा लगातारकाे हिउँले यहाँको जनजीवन अस्तव्यस्त भएको छ। घोडा,खच्चर र याकले हिमपातकै कारण अघाउने गरि घाँस खान नपाएको पनि साता दिन बितिसकेको छ।

यसपालि शिवरात्रीभन्दा दुई दिनअघि यस्तै हिमाली भेग उत्तर गाेरखाकाे ल्हाे जाने अवसर जुर्‍याे। वास्तवमा हिमाली भेगकाे जनजीवन कति कष्टकर छ, त्याे बुझ्ने अवसर पनि थियाे,मेराे लागि। मैले काठमाडाैंमा बस्दा सधै सुन्दै आएकाे कुरा, नेपालकाे हिमाली भेगमा बिरामी परेकाे बेला सिटामाेल पनि खान नपाएर मानिसहरु मर्छन अरे! 

हुनत मेराे घर दार्चुला भएका कारण अरु अनुभवबाट म अन्जान छुइन्। तर, चीनकाे सिमा जाेडिएकाे ल्हाे मेराे लागि नयाँ अनुभव थियाे। 

म यस्तै धादिङको सल्यानटारबाट हेली चढेर गत साता ल्हो हिडेको थिए। तर माैसमकाे खराबीले गर्दा उत्रिनु पर्‍याे, ल्होभन्दा निकै तल स्यो गाउँमा। हेलिकोप्टर हामीलाई बीचैमा छोडेर सल्यानटार फर्कियो। हेलिकोप्टरमा मसँगै थिए, नुमरुङका एक स्वास्थ्यकर्मी नोर्बु। 

उनले नै मेराे उद्धार गरे। बाटोभरी थुप्रिएकाे बाक्लाे हिउँको डल्ला। हिड्नै गाह्राे पर्‍याे हिड्न। तर पनि उनीसँग गफिदैं ३ घण्टा लाएर उनको गाउँ नुमरुङ पुग्दा उकालाे चढेकाे पत्तै पाइन। हिउँकाे बाटाेमा हिड्नु पर्ने बाध्यता र भाेलिपल्ट आकाश खुल्ने कल्पनाका बीच राती सुतेकाे पनि थाहा भएन।  

तर, भोलिपल्ट अवस्था झन् गम्भीर  बन्यो। भारी हिमपातका कारण म मात्र होइन, चिसोले कठ्याङ्ग्रिएर गाउँले पनि बाहिर निस्किन सकेनन्। दिनभरीको हिमपातले घरको छत मात्र देखिएकाे थियाे। यस्ताे बेला मनमा भय हुने नै भयो। घरभित्र बाक्लो ज्याकेट,टाउकोमा दुईथरीका टोपी,जसले आँखा मात्र देखिएको थियो, यसले पनि जाडो कम गर्न नसकेपछि कोठाभित्रै आगो बालेर शरीर तताउँन थाले। 

आगनमा गाईवस्तुलगायत याक, घोडा र खच्चर सुस्ताएका थिए। केही मानिस छतमा परेको बाक्लो हिउँ फाल्न व्यस्त देखिन्थे भने केही गाईवस्तुका लागि घाँसको जोहो गरिरहेका थिए। बिहानैदेखि परेको हिउँ ७ बजेमात्र रोकियो। यसपछि बल्ल मेरो स्वास फर्कियो। 

जाडो यति बढेकाे थियाे। यसैका कारण राती सुत्न खोज्दा निन्द्रा लागेन। कतिबेला सुतिए छ, त्याे पनि थाहा भएन। भोलिपल्ट बिहान ५ बजे उठेर बाहिर हेर्दा मनै फुरुङ भयो। हिउँपरे पछिको निश्चल आकाश अनि सेताम्मे हिमालको दृश्यले मलाई अर्के लोकमा पुर्यायो। घर पनि उत्तिकै सुन्दर देखिन्थे। 

त्याे दिन हेलिकाेप्टर चलेन। जसले गर्दा मलाई नुमरुङ गाउँ घुम्ने अवसर जुर्‍याे। हिमाली भेगको जनजीवन राम्रोसँग बुझ्ने अवसर प्राप्त भयाे।

नुमरुङका हरेक बासिन्दा बच्चादेखि बृद्धसम्म सबै बाक्लो लुगामा थिए। उनीहरु सबै आ–आफ्नो काममा व्यस्त देखिन्थे। कोही हिजोराति परेको हिउँ सफा गर्न व्यस्त थिए भने कोही गाईबस्तुलाई घाँसको जोहो गरिरहेका थिए।

त्यहाँ फसेकाे तेस्राे दिनपछि हेलिकोप्टर आउने हल्लासँगै मन केही फुरुङ भयाे। केही दिनको हिमपातले टेलिफोन अवरुद्ध थिए। जसका कारण कसैलाई सम्पर्क गर्न पनि पाएको थिइन। तीन दिनअघि छोडेको गाउँ स्योकै हेलीमा हेलिकाेप्टर आउँछ भन्ने सुनेको म बिहानै त्यता लाग्ने हतारोमा थिए। तर केही भेउ पाइन। गाउँबाट एक्लै जाने स्थिति पनि थिएन। त्याे पनि म जस्ता अनाडीका लागि। 

तर, गाउँमै रहेका ६० वर्षीय एक पाका व्यक्ति मेरो बाध्यता बुझेपछि मसँगै तल हेलीसम्म जान तयार भए। बाटोमा उनले भनेको कुरा अहिले पनि मेरो कानमा ठोकिरहेको छ। हिउँले पुरिएको बाटोमा हिड्दा उनी ढाड्स दिइरहेका थिए–‘म छुनि आत्तिनु पर्देन।’

नुमरुङबाट स्याे झर्दा बाटाेमा २ घन्टा घनघोर जंगली बाटो हिड्नु पर्छ। त्यसमा पनि बाक्लो हिउँ र बाटोको मुनि बूढीगण्डकी बगिरहेकाे छ।  

हामी दुई नुमरुङ र लिको बीचमा रहेको बर्जम भन्ने ठाउँ पुग्दा उनी अलिक अगाडी बढिसकेका रहेछन्। मैले भेउ पाउन सकिन। यसपालि हिउँदमा पटकपटक परेको हिमपातले उत्तरी गोरखाको जनजीवन थप कस्टकर भयाे। यो स्थानमा चटान जस्तो ठूलो पहाडबाट झरेको हिउँपहिरोले गर्दा बाटो अबरुद्ध हुन पुगेको छ। चट्टाने बिरुवाका साथै माटोको ढिस्का समथर भागमा छरपस्ट भएको देखिन्छ। जसका कारण बटुवा हिड्ने बाटो परिवर्तन भएका छन्। अचेल गाउँले यही हिउँपहिरो माथि बाटो बनाएर हिडिरहेका छन्। त्यो बनेको कृतिम बाटो हिड्न निकै गाह्रो छ।

त्यही पनि गाउँलेहरु वल्लो गाउँबाट पल्लोमा पुग्न यही हिउँमाथिको बाटो भएर जानुपर्छ। माथिबाट खसेको हिउँपहिरोले करिब दुई सय मिटर समथर भाग मासेको छ। गएको महिना आएको पहिरोले दुई चौरी मर्नुका साथै छेउमा रहेको घरमाथिको छाना पहिरोको बेगले उडाएर लगेको थियो। 

बाह्रैमास जाडो हुने भएकाले यहाँका घरको चुलोमा आगो बलिनै रहन्छ। बर्जमकी एक महिला हिउँ पहिरोमाथि साना साना दाउराको ठूटो संकलन गर्दै गरेकी भेटिइन्। मलाई देख्ने बितिकै उनले सोधिन्–‘ औषधी छ।’

मेराे प्रतिप्रश्न थियाे– ‘किन चाहियो आमा।’ 

उनले भनिन्– ‘हिउँको चिसोले ज्वरो आएको छ। त्यही भएर औषधी मागेको।’ 

उनको मुहार फुङ्ग उडेको थियो। सिथिल पनि देखिन्थिन्। जब मैले झोलाबाट सिटामोल झिकेर दिए, उनको अनुहार हिजो राति परेको हिउँपछि जसरी आकाश खुलेको थियो र हिमाल सुन्दर देखिन्थे, त्योभन्दा ज्यादा खुलेको र हँसिलो देखियाे। 

आमैको खुलेको अनुहार देखेर म पनि दंग परेँ। आफूलाई भाग्यमानी सम्झेँ। अनुभव गरेँ– एउटा सिटामोलको महत्व हिमाली क्षेत्रमा कति ठूलो हुँदाे रहेछ। 

आमैलाई सिटामोल दिएपछि मलाई एकछिन हेर्न मन लाग्यो–उनले के गर्ने रहेछिन्। उनले पानी बिनै सिटामोल खाँदै दाउराको भारी ढुंगामा टेक्दै सुसेल्न थालिन्। उनको अनुहार देखेर मलाई आफ्नै प्यारी स्वर्गबासी आमाको याद आयो। मुसुक्क हाँसे अनि हेलिकोप्टर भएतर्फ लागे। मलाई छिटै पुग्नु पर्ने बाध्यता थियो। तर गाउँबाट सँगै हिडेका ती पाका मान्छे कता छुटे पत्तै पाइन।

भर्जम गाउँबाट ठाडै उकालो हिड्नु पर्ने बाध्यता, त्यसमा पनि हिउँले पुरिएकाे बाटाे र अनकन्टार जंगलबीच म रनभूल्लमा परेँ। उकालो चढ्दै गर्दा दाउराको भारि बोकेकी त्यही आमाकाे याद मेराे आँखामा झलझली आइरहेकाे थियाे।

उकालो चढेर हेली पुग्नु पर्ने बाध्ता यस कारण पनि थियाे– त्याे छुटेमा अझै कतिदिन हिउँमा बस्नुपर्ने अवस्था सिर्जना हुन सक्थ्याे। त्यसैले म ठाडो उकालोमा पनि बयल पंखी घोडा जस्तै कुदेर जादैथिए। तर, बाटाेकाे अलमलका बीच कति बेला हिउँमा फसेछु पत्तै पाइन। 

हिउँ परेका कारण चिसोकाे सिरेटोले हान्ने नै भयाे। यसमा पनि करिब एक फिट बाक्लो हिउँकाे बाटाेमा हिड्दा जुत्तामा हिउँ पसेर खुट्टा चिसो थियाे। यत्तिकैमा कतिबेला हिउँमा फसेछु पत्तै पाइन। हिउँमा फस्दा मानिसहरुकाे अवस्था कस्ताे हुन्छ, सबैलाई भनिरहनु पर्ने विषय नै हाेइन। तर, जीवनमा पहिलाे पल्ट मृत्युलाई नजिकबाट देखेकाे मेराे अनुभव यहाँ सेयर गर्न चाहन्छु। 

मलाई एकछिन त जीवन यत्ति नै रहेछ भन्ने लाग्याे। दिमागमा केही आएन। परिवार सम्झे। नाबालक छाेरा र श्रीमती। बीचैमा मलाई छाेडेर अगाडी बढ्ने अधबैसै मानिसलाई सम्झिए। उ त्यसरी फटाफट नहिडेकाे भए, मेराे अवस्था याे हुने थिएन। आफूलाई आफ्नै अवस्थादेखि दया लाग्याे। 

वास्तवमा हेली पुग्ने हताराेका बीच बाटाे ठम्याउन नसक्दा म बाक्लाे हिउँ परेकाे ठाउँमा फसेकाे थिए। मैले त्यति बेला एउटा खुट्टा टेकेकाे मात्र के थिए, कम्मरसम्म भाँसिन पुगेँ। जति म बाहिर निस्कने काेशिस गर्थे त्यति नै फस्दै गएकाे थिए।

हिउँबाट निस्कने कुनै उपाय काम लागिरहेकाे थिएन। करिब १५ मिनेट हिउँसँग लडेपछि मलाई लाग्याे, मृत्यु अवश्यमभावी छ। मेराे मुटुकाे गति बढेर फुटला जस्ताे भएकाे छ। हिउँकाे चिसाेमा पनि निधारबाट चिटचिट पसिना आरहेकाे छ। उकालाे लाग्दा मुखबाट र्‍याल चुहिएकाे मेराे हालत अहिले घाँटीबाट थुक निल्न नसक्ने अवस्थामा पुगिसक्याे। ओठ र मुख सुकेर फुटला जस्ताे भइसक्याे। दिमाग बाहेक शरीरकाे अन्य भागले काम गर्न पनि छाेडिसकेका छन्। बाच्ने लाख उपाय गरिसके त्याे पनि काम लागेकाे छैन।

मेराे दिमागमा भने एउटा कुरा खेलिरहेकाे थियाे। शरीरले काम गरेपनि मस्तिष्कलाई मर्न दिनु हुँदैन। त्यसैले हिम्मत नहारी यताउति चटपटाइरहेकाे थिए। यतिकैमा मेराे देब्रे हातले हिउँभित्रकाे एउटा सानाे जरा भेटेकाे अनुभव गर्याे। मैले जरा अठ्याएर माथि जाने के प्रयास गरेकाे थिए, हिउँभन्दा करिव ५ मिटर तल पुगेर एउटा ढुंगामा डङरङ पछारिन पुगेछु। यति बेला मैले मृत्युलाई नजिकबाट नियाले।

तर, दैवकाे लिला। हिउँभन्दा ५ मिटर तल पछारिन पुगेकाे मैले उत्तानाे परेकाे अवस्थामा जब आँखा खाेले, आकाश मेराे माथि विशाल हद्य खाेलेर फैलिएकाे थियाे। म त अलमलिएकाे बाटाेमा पाे खसेकाे रहेछु। यसपछि मेराे स्वास आयाे। उभिएर चारैतर्फ हेरे। मलाई सुन्दर हिमाल पनि कुरुप लाग्न थाल्याे। तल बगिरहेकाे पवित्र बुढीगण्डकी पनि राजधानीमा बग्ने बागमतीभन्दा फाेहर लाग्न थाल्याे। 

ज्यान बचेकाेमा भगवानसँग प्रार्थना गरिरहेकाे थिए। हेलीका लागि विस्तारै उकालाे चढ्दा मनमा अनेकन कुरा खेलिरहेकाे थियाे। मेराे आत्मविश्वास पनि चुलिँदै गयाे। दुई घण्टामा पुगिने बाटाे एक घन्टामै छिचोले छु।

उकालो काटेपछि आफूलाई ठूलै योद्धा सम्झिए। साेचे– हतोत्साही भएको भए संकटबाट मुक्ति पाउन सक्दिन्थेँ। म समयमै हेली पुगे। म पुगेकाे १५ मिनटपछि हेलिकाेप्टर आइपुग्याे। मेराे खुशीको सिमा रहेन। 

 

प्रकाशित मिति: : 2020-02-29 23:42:00

प्रतिकृया दिनुहोस्