शनिबार, २८ मार्च २०२६

रविको सुझावपछि ओलीलाई मध्यरातमा पक्राउ गर्ने निर्णयबाट पछि हटेका थिए सुधन

News Image
• • •

जेनजी आन्दोलनमाथि गैरकानुनी दमन गरेको आरोपमा पक्राउ परेका पूर्व प्रधानमन्त्री केपी ओली अस्पताल भर्ना भएका छन्।

मुटुको चाल बिग्रिएपछि उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना गरिएको हो। उनको थप स्वास्थ्य परीक्षण भइरहेको छ।

यतिबेला एमाले निकट जनवर्गीय संगठनहरूले अध्यक्ष ओलीको पक्राउको विरोधमा देशभर प्रदर्शन थालेका छन्। एमालेले जेनजी आन्दोलनमा भएका घटनाबारे जाँचबुझका लागि बनेको कार्की आयोगको प्रतिवेदन खारेज गर्न माग गरेको छ।

ओली  र तत्कालिन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न गृहमन्त्री सुधन शपथ लिएसँगै सक्रिय भएका थिए। शुक्रबार मध्यरातमा दुईपटक प्रहरी उच्च अधिकारीहरूसँग छलफल गरेका सुदन ओली–लेखक पक्राउ नपरेसम्म रातभर प्रहरी हेडक्वार्टरमा बसेका थिए।

गृहमन्त्री गुरुङ उनी प्रहरी महानिरीक्षक दान बहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ, सशस्त्रका एआईजी गणेश ठाडा मगर उपत्यका प्रहरीका एआईजी ईश्वर कार्कीसहितको टोलीसँग छलफलमा थिए।

सुधनले उनीहरूलाई मध्यरातमै पक्राउ गर्ने तयारी गरेका थिए। तर, त्यसअघि उनले पार्टी सभापति रवि लामिछानेसँग सल्लाह लिएका थिए। शुक्रबार मध्यरातमा दोस्रो उच्चस्तरीय बैठक बस्नुअघि उनी बुढानिलकण्ठस्थित लामिछाने निवास पुगेका थिए।

सभापति लामिछानेले आफूमाथि राजनीतिक प्रतिशोध साँधेर मध्यरातमा पक्राउ गरिएको स्मरण गर्दै रास्वपा सरकार भने संयमित हुनुपर्ने बताएका थिए। उनले गृहमन्त्री गुरुङलाई बाँकी कारबाही कानुनबमोजिम गर्न सुझाव दिएपछि सुधन मध्यरातमा पक्राउ गर्ने निर्णयबाट पछि हटेका थिए।

यद्यपि उनी रातभर प्रहरी हेडक्वार्टरमै बसेको प्रहरी स्रोत बताउँछ। शनिबार बिहान ओली–लेखक पक्राउ परेपछि उनी त्यहाँबाट निस्केका थिए।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!