कोरोना भाइरसका कारण इरानी सांसदको पनि निधन

एजेन्सी

तेहरान

कोरोना भाइरसको संक्रमणका कारण इरानमा एक सांसदको निधन भएको छ। इरानको सरकारी न्युज एजेन्सीले जनाएअनुसार गत साता अस्ताना असराफिसबाट चुनिएर आएका मोहम्मद अली रामाजानी दस्तकको निधन भएको छ। केही दिनअघि मोहम्मद अलीको शरीरमा कोरोना भाइरसको संक्रमण सकारात्मक देखिएको थियो। 

अलीको शनिबार बिहान अस्पतालमा निधन भएको हो। इरानको स्वास्थ्य मन्त्रालयले भर्खरै सार्वजनिक गरेको रिपोर्टअनुसार कोरोना भाइरसका कारण थप ४३ जनाको निधन भएको छ भने ५ सय ९३ मा थप संक्रमण फेला परेको छ। 

‘दुर्भाग्यपूर्ण रुपमा भन्नु पर्दा पछिल्लो २४ घण्टाको बीचमा थप ९ जनाले ज्यान गुमाइसकेका छन्’, कियानुस जाहानपुरले राष्ट्रिय टेलिभिजनलाई बताए, ‘अब मर्नेको संख्या ४३ पुगेको छ।’

यद्यपि इरानको स्वास्थ्य संस्थामा आवद्ध कर्मचारीले भने बीबीसीलाई २ सय १० जना मरिसकेको बताएका थिए। विदेशी समाचार एजेन्सीले इरान सरकारले कोरोना भाइरसको विषयमा समाचार संकलन गर्न नदिएको आरोप लगाउँदै आएका छन्। अझ अमेरिकाले यस विषयमा गम्भीर आपत्ति जनाएको छ। इरानी सरकारी मिडियाले भने देशको छवी बिगार्न बीबीसीले गल्ती रिपोर्ट फैलाइरहेको आरोप लगाएको छ। 
 

प्रकाशित मिति: : 2020-03-01 05:22:25

प्रतिकृया दिनुहोस्