जसलाई रहरै रहरले व्यस्त मोडल बनायो (भिडियाे)

जीवन बनिया

काठमाडौं

सानैबाट गीत संगीत र नाटकको अभिनयकलामा रूची राख्ने सनम कठायत पछिल्लो समयका व्यस्त मोडल हुन्।

पाँच सयभन्दा बढी गीतमा अभिनय गरिसकेका सनम आधुनिक गीतमा लभर ब्वायका रूपमा परिचित छन्।

डोटीको विकट गाउँ मुडभराका जन्मिएका सनम बाल्यकालमा स्वरसम्राट नारायण गोपालका गीत सुनेर हुर्किए। विद्यालयमा उत्कृष्ट हुने सनम अतिरिक्त क्रियाकलापमा सधै भाग लिन्थे। गीत गाएर मात्र होइन नाटक खेलेर पनि उनले स्कुलमा धेरै पुरस्कारहरू जिते।

डोटीको सारदा उच्च माविबाट २०६१ सालमा एसएलसी पास गर्ने बेलासम्म बिजुलीको उज्यालो नदेखेका सुमनले हेडमास्टर बुवाको प्रेरणाबाट लालटिनकै उज्यालोमा कखरा सिके।

मैले लाल्टिन बालेर स्कुले जीवन पुरा गरेको थिएँ। गीत  संगीत र अभिनयमा औधि रूची हुने मलाई बाबाले ब्याट्रीबाट बज्ने रेडियो किनेर ल्याइदिनु भएको थियो’, बिएल नेपालीसँग कुरा गर्दै सनमले भने, ‘गोठालो र बनपाखा जाँदा रेडियोमा बझ्ने गीत र नाटक सुन्थे, साथीभाइ जम्मा पारेर आफू पनि त्यस्तै गर्न खोज्थेँ।’

एसएलसी पछि सिद्धनाथ साइन्स क्याम्पस महेन्द्रनगरबाट आईएस्सी सकाएका उनले मेडिकल माइक्रोबायोलोजी विषय लिएर त्रिचन्द्र कलेजबाट बीएस्सी र एमएस्सी सकाए।

पढाइमा सधै अब्बल सनम स्कुल र कलेजका टपर विद्यार्थी हुन्। उनले छात्रवृत्तिमै औपचारिक पढाइ सकाए।

काठमाडौं बसाइ क्रममा उनले पढाइसँगैं रेडियोमा जागिरसमेत खाए। भ्वाइस अफ युथ, गोर्खा एफएमलगायतमा कार्यक्रम प्रस्तोताका रूपमा काम गरेका उनले टिभीमा समेत कार्यक्रम चलाए।

मनोरञ्जनमा आधारित कार्यक्रम सञ्चालन गर्थें । मेरो ‘जर्नी टु फिल्म’ नामको कार्यक्रम हिट थियो । रेडियोमा करिब ६ वर्ष बिताएपछि मोडलिङ यात्रा सुरु भएको हो । कार्यक्रम चलाउने क्रममा विभिन्न सांगीतिक हस्तीहरूसँग कुराकानी हुन्थ्यो। बीएस्सी दोस्रो वर्ष पढ्दै गर्दै २०६८ सालमा उनले म्युजिक भिडियोमा डेब्यू गरे।

वसन्त सापकोटाको संगीत र लोकेन्द्र कार्कीको शब्दमा निरूता सिंहले आवाज दिएको ‘लुट्यो तिमीले...’ बोलको गीतबाट सनमले अभिनय क्षेत्रको ढोका औपचारिक रूपमा खुलाए। निर्देशक राजन श्रेष्ठले अफर गरेपछि अभिनय गर्न राजी भएका उनलाई यो क्षेत्रमा आउन र टिक्न धेरै संघर्ष गर्नुपरेन।

‘पहिलो पटक अभिनय गर्दा डर लागेको थियो। तर, अभिनयपछि भिडियो हेर्दा रमाइलो लागेको थियो’, उनले बिएल नेपाली सेवाको संवादमा बताए।

त्यसपछि आठ वर्षदेखि यही क्षेत्रमा सक्रिय सनमलाई पछाडि फर्केर हेर्नुपरेको छैन। प्रेमध्वज प्रधानदेखि, उदय मनिला सोताङ, सत्य–स्वरूप, शिव, प्रमोद अञ्जु, सीबी अधिकारीदेखि रवि ओडसम्मका गीतमा उनकै अभिनय देख्न सकिन्छ।

पछिल्लो पुस्ताका अधिकांश गायक गायीकासँग काम गरिसकेका सनम दर्शकले रुचाएका मोडल हुन्। उनले दुई दर्जनभन्दा बढी बेस्ट मोडलको उपाधिसमेत हात पारिसकेका छन्।

रहरै रहरमा अभिनय क्षेत्रमा लागेका सनम अहिले प्रोफेसनल मोडल भइसकेका छन्।

नरेन्द्र प्यासीको ‘अपार माया हाम्रो...’ बोलको गीत, ‘माया ए मेरी माया’ बोलको स्वरूपराज आचार्यले स्वर दिएको गीतमा उनको अभिनय दर्शकको रोजाइमा पर्‍यो। उनको अभिनय रहेको ‘अन्त माया लाको भए, ‘पहिलो माया’, ‘आफू दुःखी भएर’, ‘तिमीले साथ छाडे पनि’, ‘तिमीले भुल्न खोजे पनि’, ‘तिम्रै संसार’ लगायतका दर्जनौं गीत चर्चामा छन्।

आफूलाई छोडेर गएकी प्रेमिकाको यादमा बाँचेको अभिनय गर्नुपर्ने, माया गर्ने मान्छे गुमाउँदाको पललाई वास्तविक सम्झेर नाच्नुपर्ने जस्ता वियोगान्त गीतमा अभिनय गरेका उनलाई यसैमा रमाइलो लाग्न थालेको छ।

धोका खानेले फिल गर्ने अनुभव सदैव उस्तै हो। यसैले वियोगान्त गीतहरू अजर अमर बनेको देख्छन् उनी। ‘म सानैदेखि सुगम संगीतका ट्रेजेडी गीत सुनेर हुर्किएको हुँ। रेडियोमा पनि आधुनिक गीतकै कार्यक्रम चलाउँथेँ। यसले पछि अभिनयमा सहज बनायो,’ उनले भने।

अभिनय गर्दा शब्दको चरित्रअनुसार पात्रलाई न्याय गर्न सक्छु भन्ने आत्मविश्वास हुनैपर्ने उनले बताए। काम गर्दागर्दै कहिलेकाहीँ आफ्नो चरित्र नै लभर ब्वायजस्तो ठान्ने उनले आफूलाई सनम नभएर धोका पाएको कुनै प्रेमी भएको जस्तो ठान्छन्।

धेरै प्रेमिल गीतमा अनेकलाई मुटुमा सजाएका सनम वास्तविक जीवनमा भने सिंगल नै छन्। क्यामराका सिनहरूमा धेरै कलाकारसँग रोमान्स गरेका उनलाई अब भने विवाह गर्नुपर्ने महशुस हुन थालेको छ।

औपचारिक रूपमा कुनै तालिम नलिएका उनले पढाइ र कामको टाइट सेड्युअलले समय नमिलेको बताए।

पढाइबाट फुर्सद हुँदा अभिनय सम्बन्धि केही किताबहरू किनेर घरै अध्ययन गरेका सनमले नेपालमा पनि अब  म्युजिक भिडियोमा अभिनय गरेर बाँच्ने आधारहरू बनिसकेको बताए।

‘रहर भन्दा पनि पेशा सम्झिएर काम गर्‍यौं भने बाँच्ने आधार आफैं बन्छ’, उनले भने,‘ अहिले काम गर्नेले कमाउन सक्ने माहोल बनेको छ। म्युजिक भिडियोमा होस् या फिल्म या अन्य कुनै फिल्डमा होस् तत्कालै पैसा कमाउन नसकिए पनि कामको रिजल्ट राम्रो आउन थालेपछि पछाडि फर्कनु पर्दैन।’

यो क्षेत्रमा आउँदा लहलहैमा भन्दा केही बुझेर आउन उनले सुझाव दिए।

फरक परिवेशबाट आएका सनमलाई भिडियोमा अभिनय गर्नु, पर्दामा आउनु कल्पनाभन्दा बाहिरको विषय थियो। उनले कल्पना पनि गरेका थिएनन् आफू यसरी अभिनयमा जम्छु भनेर तर भइदियो त्यस्तै।

संगीतको बजार व्यवस्थित नभएको तर्फ गुनासो गर्दै उनले सम्बन्धीत निकायमै बेलैमा सोच्नुपर्ने औल्याए। ‘सुगम संगीतमा भित्रिएको विकृतिप्रति स्वयम् कलाकारहरू नै सचेत हुनुपर्छ’, उनले भने।

बाबा नवराज कठायत आमा लिला देविको कोखबाट जेठो छोराको रुपमा जन्मिएका कठायत भाइसँगैं काठमाडौंको अनामनगरमा बस्दै आएका छन्। एक बहिनी गाउँमै छन्।

मेडिकल माइक्रोबायोलोजीमा एमएस्सी गरेका सनम अभिनयका अलावा स्वास्थ्य क्षेत्रका संस्थाहरूमा पनि काम गर्छन्। दर्शक स्रोताको मायालाई सफलताको प्रतिक ठान्ने  उनलाई पिएचडी गर्ने धोको छ।

 

 

 

प्रकाशित मिति: : 2020-03-07 19:15:00

प्रतिकृया दिनुहोस्