इटालीले एक करोड ६० लाख मानिसलाई क्वारेन्टाइनमा राख्दै

एजेन्सी

काठमाडाैं

चीन बाहिर कोरोना भाइरस अर्थात कोभिड–१९का कारण प्रभावित भएको इटालीमा नयाँ संक्रमण दर तीव्र रुपमा बढेको छ। इटालीमा शनिबार एकै दिन संक्रमितको संख्या चार हजार भन्दा बढीले थपिएका छन्।

शनिबारसम्म इटालीमा संक्रमितको संख्या ५८ सय ८३ पुगेको छ। अघिल्लो दिनसम्म संक्रमितको संख्या १२ सय भन्दा केही बढी मात्रै थियो। यस्तै इटालीमा ज्यान गुमाउनेको संख्या २३० नाघेको छ।

इटालीले कोरोना भाइरसको संक्रमण नियन्त्रणमा लिने प्रयासका स्वरुप एक करोड ६० लाख मानिसको बसोबास रहेको क्षेत्रलाई पूर्ण रुपमा ‘लक डाउन’ (बन्द गर्ने) भएको छ ।

लोम्बार्डी क्षेत्र र उत्तर तथा पूर्वका ११ प्रान्तलाई लक डाउन गर्ने तयारी इटालीले गरेको हो। ती क्षेत्रमा लागु हुने अनिवार्य क्वारेन्टाइन अप्रिलको सुरुमा सकिने छ ।

तीव्र गतिमा फैलिरहेको कोरोनाको संक्रमण नियन्त्रणमा लिने प्रयासमा रहेको इटालीले जिम, स्वीमिङ्ग पुल, संग्रहालय र स्की रिसोर्ट बन्द गर्ने भएको हो।

सरकारले यो साता प्रकोप नियन्त्रण गर्न विभिन्न प्रयास गरिरहेका बेला यसै साता त्यहाँ १० दिनका लागि सबै विद्यालयहरू बन्द गर्न सरकारलाई निर्देशन दिएको  । सबै व्यवसायिक खेलहरू पनि महिना दिनसम्मका लागि बन्द कोठाभित्र खेलिने छ।

विश्व स्वास्थ्य सङ्गठनले विश्वव्यापी रूपमा कोरोनाभाइरसबाट करिब १ लाख मानिस सङ्क्रमित भएको जनाएको छ। शनिबार अपरान्ह्सम्म करिब तीन हजार ५०० मानिसको मृत्यु भएको छ जसमध्ये धेरै चीनको वुहानमा भएको छ।

कोरोना भाइरसको नयाँ सङ्क्रमण पछिल्ला दिनहरूमा चीनमा भन्दा विश्वका अन्य मुलुकहरू इटली, इरान, दक्षिण कोरिया, फ्रान्स, जर्मनी, अमेरिका, भारतलगायतका मुलुकमा समेत बढेको भन्दै स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रो एड्हानोम गेहब्रेयससले भाइरसको सङ्क्रमण ‘गहिरो चिन्ताको विषय’ भएको भन्दै यसको रोकथामलाई ‘उच्च प्राथमिकतामा राख्न’ सबै देशहरूलाई अपिल गरेका छन्।

प्रकाशित मिति: : 2020-03-08 21:27:54

प्रतिकृया दिनुहोस्