अमेरिकामा सुपर टुज्डे-२ मा बाइडनको शानदार जीत: 'बर्नी-सपना'को अन्त

प्रदीप भट्टराई

कान्सास सिटी, अमेरिका

अमेरिकामा दोस्रो सुपर टुज्डेको परिणाम प्रक्षेपित भैरहदा 'बर्नी बेग' मा लगाम लागे जस्तो देखिएको छ। उम्मेद्वारी दौडमा कायमै रहने अन्तिम रणभूमि मानिएको मिचिगनमा पनि बर्नी पछि परेपछि अमेरिकामा उनले जगाएको सामाजिक न्यायको आशामाथि गम्भीर तुषारापात भएको छ।

डेमोक्रेट अब्रोड र ६ राज्यमा गरी ३६५ डेलिगेट्सका लागि भएको सुपर टुज्डे -२ मा अमेरिकी मूलधारका मिडियाहरूले बाइडनको डंका बज्ने परिणाम प्रक्षेपण गरेका छन्। सीएनएनले मिचिगन, मिजौरी र  मिसिसिपीमा बाइडनको जीत प्रक्षेपण गरेको छ। यही क्रम कायम रह्यो भने अन्य तीन राज्यमा पनि बर्नीको सम्भावना कम छ। 

मिचिगनमा ६९ प्रतिशत मत गणना हुँदा ५३.० प्रतिशत मतका साथ बाइडनले ठूलो अग्रता लिएका छन्। ३९.३ प्रतिशत मत पाएका बर्नी दुई अंकको मतान्तरमा पछि परिसकेका छन्। यसअघि सन् २०१६ को मिचिगन प्राइमरीमा बर्नीले शानदार जीत निकालेका थिए।

यसैगरी मिसिसिपीमा ६० प्रतिशत मत गणना हुँदा बाइडनले ८०.८ प्रतिशत मत प्राप्त् गरेका छन् भने बर्नीले  १५.१ प्रतिशत । सन् २०१६ मा पनि यो रातो राज्यमा बर्नीमाथि हिलारीले जीत निकालेकी थिइन्।  

उता, मिजौरीमा ६६ प्रतिशत मत गणना हुँदा बाइडनले ६०.८ प्रतिशत मत प्राप्त् गर्दा बर्नीको पक्षमा ३३.६ प्रतिशत मत गएको छ। सन् २०१६ मा पनि यो रातो राज्यमा बर्नी पराजित भएका थिए। 

इडाहो र नर्थ डकोटामा भने बर्नीले सुरूवाती अग्रता लिएका छन्। वासिङ्टनमा पनि बर्नी अगाडि हुने अनुमान गरिएको छ। यी तीनै राज्यमा सन् २०१६ मा बर्नी विजयी भएका थिए । 

सन् २०१६ को प्राइमरीमा आज निर्वाचन भएका सातमध्ये पाँचमा जीत निकाल्दै २२१ डेलिगेट्स जितेका थिए भने हिलारी दुई राज्यमा जीत निकाल्दै १७१ डेलिगेट्समा सिमीत भएकी थिइन्। तर, यसपटक त्यो परिणाम दोहोरिन सम्भावना लगभग सकिएजस्तो छ । 

आजको परिणामसँगै बर्नी बेगमा ब्रेक लागेजस्तो देखिएको छ। 

सन् २०१६ को प्राइमरीमा हिलारी क्लिन्टनसँग बर्नी स्याण्डर्सले प्रतिस्पर्धा गरेका थिए। त्यतिबेलाको निर्वाचनमा बर्नीले मिचिगन, इडाहो, वासिङ्टन, नर्थ डकोटा र डेमोक्रेट अब्रोड जितेका थिए भने हिलारीले मिस्सिसिपी र मिजौरी जितेकी थिइन् ।

बर्नीले मिचिगनबाट ६७, इडाहोबाट १८, वासिङ्टनबाट ७४, नर्थ डकोटाबाट १३, मिजौरीबाट ३५, मिस्सिसिपीबाट ५ र डेमोक्रेट अब्रोडबाट ९ गरी यो चरणमा २२१ डेलिगेट्स जितेका थिए भने हिलारीले मिजौरीबाट ३६, मिस्सिसिपीबाट ३१, मिचिगनबाट ६३, इडाहोबाट ५, वासिङ्टनबाट २७, नर्थ डकोटाबाट ५, र डेमोक्रेट अब्रोडबाट ४ गरी यो चरणमा १७१ डेलिगेट्स जितेकी थिइन् ।

यसपटक बर्नीको ठाउँमा उनी आफैं छन् भने हिलारीका ठाउँमा बाइडन छन्। समीकरण भने उही छ। बाइडन संस्थापनका उम्मेद्वार हुन् भने बर्नी आउटसाइडर। तर, संस्थापन पक्षमा उम्मेद्वारको लिङ्ग फरक छ। अमेरिकामा लिङ्ग पनि चुनावका लागि निर्णायक फ्याक्टर भएको सत्य स्थापित भैसकेको छ।

बर्नीका लागि सन् २०१६ को इतिहास दोहोर्याउन सजिलो छैन। उनी दोस्रोपटक उठ्नु, प्रतिस्पर्धामा पुरूष नै उम्मेद्वार हुनु र बाइडन नै ट्रम्पलाई हराउन सक्ने उम्मेद्वार हुन सक्ने वर्थ अफ माउथ बन्नु उनको पक्षमा छैनन्। 

प्रकाशित मिति: : 2020-03-11 21:22:18

प्रतिकृया दिनुहोस्