यो विश्लेषणको बेला होइन, संयम भई सबै मिलेर कोरोनासँग जुधौँ (भिडियाे)

अहिले संसार कोरोना भाइरस संक्रमणको महामारीमा फसेको छ। संसारका सबै शक्तिराष्ट्र कोरोनासँगको संघर्षमा छन्। नेपालको संघीय सरकारले पनि कोरोना फैलिन नदिन सबै शक्ति प्रयोग गरेको छ। यस्तो संकटका बेला स्थानीय तह त्यसमा पनि नगरपालिकाहरूको जिम्मेवारी विशेष हुन्छ। 

नेपाल संघीयताको अभ्यासमा छ। अहिले तीन तहका गरी ७६१ वटा सरकार छन्। यस्तो संकटको घडीमा संघीय सरकारले प्रदेश र स्थानीय तहलाई जिम्मेवार बनाउने होइन, आफैँ जनताप्रतिको उत्तरदायित्व कायम गर्नुपर्छ। 

नगरपालिकाहरु जनतासँग सबैभन्दा नजिक हुन्छन्। त्यसैले नगर सरकारको जिम्मेवारी बढी रहनुपर्छ। स्थानीय तहको एकल अधिकार रहेको विपद् व्यवस्थापनअन्तर्गतको नगरस्तरीय तथा वडास्तरीय विपद् व्यवस्थापन समितिले आफ्नो क्षेत्रमा आवश्यकता अनुसारका सतर्कता अपनाउनुपर्छ।

अहिलेसम्म कारोना भाइरस देखा परिसकेको छैन। समस्या आइहाल्यो भने त्यसलाई कसरी व्यवस्थापन गर्ने ? यसबारे अहिले नै सचेत हनुपर्छ। त्यसका लागि बजेट व्यवस्थापनमा काम गर्नुपर्छ। 

अर्को कुरा, स्थानीय तहले आफ्ना क्षेत्रमा रहेको स्वास्थ्य सेवा प्रदायक संस्थाहरुसँग पनि आवश्यक समन्वय गर्नुपर्छ। अहिले जनतामा एक किसिमको संत्राश छाएको छ।  नेपालभित्र भाइरस आएको छ कि छैन अर्को विषय हो तर देश महामारीको संत्राशमा डुबेको छ। यसमा पनि स्थानीय तहको महत्वपूर्ण भूमिका रहन्छ। 

जनतालाई ‘हामी तपाईंहरुको साथमा छौँ चिन्ता नगर्नुहोस्’ भन्ने जस्ता आवश्यक सान्त्वना दिने भन्ने जस्ता काम नजिकको सरकारको हैसियतले स्थानीय तहले प्रभावकारी ढंगले गर्न सक्दछ।   

यसैगरी, गाउँघरका बढी मानिस आवागमन हुने स्थानमा पनि स्वास्थ्यमा प्रचारात्मक सामग्री वितरण गर्न जरुरी छ। यो काम पनि संघीय सरकारभन्दा स्थानीय तहले अझै प्रभावकारी ढंगले गर्न सक्दछ। 

संघीय सरकारले सतर्कताका लागि २१ बुँदे निर्देशन जारी गरेको छ। त्यसका १६ वटा जति स्थानीय तहले गर्ने काम रहेका छन्। यसका लागि स्थानीय तहले बैठकहरु बस्ने केही तयारी गर्ने काम त गरिरहेका छन् तर, अहिलेको संकटको अवस्थामा तीव्र गतिमा फैलिरहेको अवस्थामा यत्तिले मात्रै पुग्दैन, जुनसुकै बेला पनि नेपालमा देखिन सक्छ।  अहिलेको अवस्थामा स्थानीय तहले विद्यार्थी, बालबालिकाको सवालमा आफ्नो समुदायका लागि जहाँ बृहत् मानिसहरुको आवतजावत हुन्छ, त्यस क्षेत्रको प्रारम्भिक रोगको पहिचान गर्ने कामहरु गर्नुपर्छ। 

अहिले हामी छैन भनेर बसेका छौँ तर आइसकेको हुनसक्छ भन्ने शंका पनि गर्नुपर्ने अवस्था देखिन्छ। यदि आइसकेको रहेछ भने यसले ठूलो संक्रमणको अवस्था ल्याउन सक्छ। एकैपटक ठूलो संक्रमण आउनुभन्दा पहिला आफ्नो क्षेत्रको प्रारम्भिक रोगको पहिचान गर्न जरुरी छ। यसकारण अब स्थानीय तहले तत्काल आफ्नो बजेट व्यवस्थापन गरी यी कामहरु गर्नुपर्छ। 

के स्थानीय तहले यत्रो काम गर्न सक्ला त ? यो प्रश्न पनि उठ्न सक्छ। मलाई के लाग्छ भने– स्थानीय तह जनतासँग नजिक भएकाले आफ्नो बजेटअनुसार प्रारम्भिक तहको कामहरु गर्न सक्छ। रोग नै लागिसकेपछि उपचारको तयारी त केन्द्र सरकारले गर्नैपर्छ तर प्रारम्भिक तयारीको काम भने स्थानीय तहले सजिलै गर्न सक्छ। 

यसका लागि अहिलेको अवस्थामा केन्द्र सरकारले सीधै स्थानीय तहसँग समन्वय गर्नुपर्छ। तीनै तहका सरकारले मिलेर यो संकटको सामनागर्नुपर्नेछ। एक्लैले गर्छु भनेर गर्न थाल्यो भने यो गाह्रो विषय हो। अहिले उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा बनेको सतर्कता समितिमा सबै प्रदेशको सहभागिता छ।  संघीय सरकारका ७ जना मन्त्री पनि छन्। त्यो समितिले आवश्यक कामहरु गरिरहेका छन्। त्यसपछि हामीले पनि विभिन्न संघ, महासंघहरु मिलेर बृहत् राष्ट्रिय भेला गर्यौँ। त्यसपछि तीन तहका सरकार बीचमा पनि केही समन्वय भइरहेको छ। 

अहिलेको केही विषयहरु भ्रमित पनि भएका छन्। हामीले कुनै पनि विषयलाई वस्तुगत रुपमा बुझेरभन्दा पनि मनोगत भावनाबाट विश्लेषण गर्ने प्रवृत्तिले यस्तो संकटको बेला समस्या सृजना गर्छ। यस्ता मानिस पनि यति बेला संयमित हुनुपर्छ। अहिले विश्लेषण गर्ने समय होइन, संयमताअपनाउने हो, सबै मिलेर समस्यासँग जुध्ने हो। त्यसैले बाहिर यस्तो छ उस्तो छ भन्ने कुराको चर्चा बढी छ। त्योभन्दा पनि हामीसँग भएको स्रोत–साधनको उपयोग गर्दै समस्या समाधानका लागि जुटौँ। 

समस्या विश्वव्यापी छ। भर्खरै म भारतबाट फर्केको हुँ। भ्रमणका क्रममा म भारतका  ६ वटा विमानस्थलमा पुगेँ। त्यसमध्ये दिल्लीमा मात्रै फाराम भराएर ज्वरो नाप्ने काम गरिएको थियो। तर, हाम्रो एउटै मात्र अन्तर्राष्ट्रिय विमानस्थल छ। त्यस कारण पनि जोखिम अलि कम छ। विमानस्थलमा पनि केही सावधानी अपनाइएको छ। तर, हामीलाई डर कहाँबाट छ भने भारतमा भाइरसको संक्रमण बढिरहेको छ।  भारतसँगको सीमा खुल्ला छ। दैनिक हजारौँ मानिस आवतजावत पनि गरिरहेका छन्। सीमा क्षेत्रको व्यवस्थापन हाम्रो लागि सबैभन्दा चुनौती छ।  भाइरसको संक्रमण पनि त्यहीँबाट बढ्नसक्ने जोखिम छ।     

कोरोना भाइरसको संक्रमण संसारको समस्या हो। समस्या सबैतिर छन्। हामी सकेसम्म बच्नुपर्छ। अहिले त हामीले कोही व्यक्तिको विरोध गर्ने वा आलोचना गर्ने उचित समय हुँदै होइन। हाम्रा वैचारिक विमति होलान्, समस्या होलान् तर आरोप लगाएर होइन। सल्लाह दिएर समस्यासँग जुध्न सहयोग गरौँ। 

(धुलिखेल नगरपालिका मेयर व्यञ्जु नेपाल नगरपालिका संघका अध्यक्ष हुन्।)
प्रस्तुति : मनीषा अवस्थी

प्रकाशित मिति: : 2020-03-22 05:10:35

प्रतिकृया दिनुहोस्