सोमबार, २२ सेप्टेम्बर २०२५

विश्व शान्ति दिवसमा अशान्त मन!

दिपा धिताल

दिपा धिताल

रुकुम पूर्व
News Image
• • •

सेप्टेम्बर २१ अर्थात विश्व शान्ति दिवस। तर यतिबेला देश तनावको माहोलमा छ। व्यक्तिका मनहरू अशान्त र भयमा छन्। द्वन्द्वले भर्खरै तंग्रिन थालेको समाजमा तन्नेरी पुस्ताले चलाएको आन्दोलनपछि अन्यौलताको अवस्था छ। आन्दोलन प्रत्यक्ष देखेका अनि मानवीय संवेदनाको ख्याल नराखी ‘न्युज र भ्युज’का लागि सम्पादनविनै सामाजिक सञ्जालमा राखिएका दृष्यहरूले घटनास्थल भन्दा परकाहरूलाई पनि तर्साईरहेको छ।

नेपालमा १० वर्षसम्म चलेको माओवादी सशस्त्र द्वन्द्वले १७ हजार बढीको ज्यान लियो, सयौं बेपत्ता भए, घाईते अपाङ्ग गनिनसक्नुको भए, धेरै महिलाहरू बलात्कार जस्तो जघन्य अपराधको सिकार बन्नुपर्यो। 

उतिबेलाका हिंसात्मक असर पूर्ण रुपमा समाप्त भई अधिकांशले न्यायको अनुभुती गर्न नपाउदै सक्रमणकालिन अवस्थामै रहेको बेला फेरि देशले अर्को बिकराल क्षति भोग्नु परेको छ। 

भदौ २३ गते जेन–जी पुस्ताबाट भ्रष्टाचारको अन्त्य र सुशासनको मागसहित देशव्यापी शुरु भएको आन्दोलनका क्रममा ६ दर्जन बढी युवाहरूले सहादत प्राप्त गरे। सयौं घाइते छन। २४ गते राष्ट्रिय संरचनाहरू, देशभरका विभिन्न सरकारी संरचनाहरू, व्यापारिक प्रतिष्ठानहरू, व्यक्तिका घरहरूमा समेत भएको तोडफोड, आगजनी भएको छ।

२४ गते मध्याह्नबाट अनायास सुरु भएको अराजक गतिविधिले ठूलो धनजनको क्षति भएको छ। यति मात्र हैन आन्दोलनको नाममा देशका विभिन्न कारागारहरू कारागारबाट करीब १० हजार बढी कैदीहरू फरार भएका छन्। फरार अभियुक्त मध्ये धेरै बलात्कारी, मानव बेचबिखनमा संलग्न, हत्यारा अर्थात जघन्य अपराधमा संलग्न थिए। उनिहरू गाउँ छिरेपछि स्थानीयका मन त्रसित छन्। 

उनीहरू फरार भएपछि समुदाय तहमा गएर आफु विरुद्ध बोल्ने अथवा भनौं आफूमाथि भएको घटनाको विरुद्ध ठूलो आँट गरेर उजुरी गर्नेहरूलाई विभिन्न प्रकारले धम्क्याउन थालेका छन्। अप्ठ्यारोमा परेका महिला बालबालिकाहरूलाई तर्साउन थालेका छन्। त्यतिमात्र हैन आन्दोलन पछिका दिनहरूमा यौनहिंसाका खबर समेत आएका छन्।

अहिलेको परिस्थितीमा धेरैको मनमा त्रास फैलिएको छ। पहिलो दिन स्कुल पोसाकमै हत्या भएका किशोरकिशोरीको विभत्स दृष्यले भय सृजना गरेको छ। धेरैको कानमा गोली र तड्पाईको आवाज बजिरहेको छ। दोस्रो दिन सार्वजनिक र व्यक्तिगत सम्पतिमा दनदनी आगो र त्रासले मानिसहरूको मन छियाछिया भएको छ। हिजोको १० बर्षे माओवादी द्वन्द्वमा त्यसैगरि गोली लागेर संसार छोडेका परिवारहरूका घाउ आलो बनेका छन्।  

यस्तो परिस्थतिमा डर लाग्ने, मन आतिने, छटपटाहट हुने, निन्द्रामा समस्या हुने, रिस धेरै लाग्ने, झर्को लाग्ने, निरासा हुने, भोक नलाग्ने, थकित महसुस हुने जस्ता मानसिक सन्त्रासले धेरैलाई घेरेको छ। आन्दोलनका दौरानमा मारिने युवाहरूका परिवार, आमाहरू अत्यन्तै जटिल मानसिक पीडाबाट गुज्रिरहेको अवस्था एकातिर छ भने घटनालाई प्रत्यक्ष देख्ने वा सामाजिक संजालमा हेर्नेहरूको मनभित्र रहेको आघात अझै जटिल हुँदै गएको छ।

यस्तो परिस्थितिमा ध्यान दिनुपर्नेः

व्यायाम, योग ध्यान गर्ने र सक्दो सन्तुलित र प्राक्रितिक भोजन गर्ने। एक्लै नबस्ने, मन मिल्ने साथीभाइहरू संग रमाउन कोसिस गर्ने। परिवारसंगका सदस्यहरू संग समय बिताउने उनिहरू संग सँगै रहने वा टाढा भए फोन सम्पर्कमा रहिरहने। सामाजिक सन्जालबाट टाढै बस्ने।

यस्तै मनमा धेरै कुरा नखेलाउने। गीत-संगीत सुन्ने। नकारात्मक प्रभावबाट सुरक्षित रहनेजस्ता विकल्प खोज्नुपर्छ। जीवनमा कुनै कुराप्रति वितृष्णा छ भने त्यसबाट टाढा रहने। यो परिस्थितिलाई स्वीकार गर्न समस्या भयो मनलाई स्वस्थ राख्न सकिएन भने हामीले समयमा नै नजिकको स्वास्थ्य सस्था, मनोबिमर्शकर्ता वा मनोचिकित्सकहरूको सहयोग लिनु पर्दछ। 

विश्व शान्ति दिवस

संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९८१ मा हरेक वर्ष सेप्टेम्बर २१ को दिनलाई विश्व शान्ति दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। 

त्यसपछि हरेक वर्ष संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रले यो दिवस मनाउँदै आएका छन्। नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज यो दिवस मनाइँदैछ। यस वर्षको विश्व शान्ति दिवसको नारा ‘एक्सन फर पिसः आवर एम्बिसिन फर द ग्लोबल गोल्स’ रहेको छ। 

शान्ति कायम गर्नु व्यक्तिगत र सामूहिक उत्तरदायित्व रहेको उल्लेख गर्दै संयुक्त राष्ट्र सङ्घले शान्ति प्रवद्र्धनबाटै दिगो विकास लक्ष्य प्राप्त गर्न मद्दत पुग्ने जनाएको छ। संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार सम्बन्धी घोषणा जारी भएको पनि ७५ वर्ष पुगेको छ।

१० बर्षे युद्धको सकिएसँगै २०६३ मंसिर ५ मा भएको विस्तृत शान्ति सम्झौताको भावना र मर्मलाई आत्मसात गर्दै नेपालले पछिल्लो समय यो दिवसलाई निरन्तरता दिँदै आएको छ। सशस्त्र द्वन्द्व भइसकेको देशमा पुनः द्वन्द्व नहोस् र शान्ति नखल्बलियोस् भन्नका लागि नेपालमा यो दिवस २०६५ देखि मनाउन सुरु गरिएको हो। 

देशमा १० वर्षसम्म चलेको सशस्त्र द्वन्द्वको विश्रामसँगै २०६३ मंसिर ५ मा भएको विस्तृत शान्ति सम्झौताको भावना र मर्मलाई आत्मसात गर्दै नेपालले पछिल्लो समय यो दिवसलाई निरन्तरता दिँदै आएको पाइन्छ।

नेपालमा हिंसा न्यूनीकरण हुन नसक्नुको मुख्य कारण हिंसा हुनुका कारणहरूको सम्बोधन हुन नसक्नु हो। आज अशान्ति रोक्ने जे/जति प्रयास भएका छन् ती हिंसालाई बलका भरमा रोक्नेतर्फ मात्र केन्द्रित छन्। हिंसा हुनका कारणहरूको सम्बोधनतर्फ देशको ध्यान केन्द्रित भएको छैन। 

शान्ति, अहिंसा, मानव अधिकार र लोकतन्त्र एकापसमा पृथक रहन नसक्ने भएकाले मानव अधिकार र प्रजातन्त्रको जगमा नै शान्ति स्थापना हुन्छ भन्ने कुरामा अझै पनि सरकारहरूको ध्यान पुगेको छैन। अहिले पनि विश्वको ठूलो शक्ति हिंसा दबाएर शान्ति स्थापना हुन्छ भन्नेमा विश्वास राख्छ।

मानिस एकातिर शान्ति चाहन्छ भने अर्कातिर हिंसा गर्छ। एउटै मानिसभित्र पनि शान्ति र हिंस्रक दुवै गुण हुन्छन्। द्वैधात्मक गुण भएको मानवलाई वातावरणले जता आकर्षित गर्छ ऊ त्यसैतर्फ मोडिन्छ। थुप्रै शान्तिप्रेमी युवा जेएन्जीको आन्दोलनमा हतियार बने।

शान्ति भनेको त संस्कृति हो, शान्ति खोज्न अन्त जानुपर्दैन। शान्ति मानवको मनमस्तिष्कमा हुनुपर्छ। त्यसैले हरेक मानवले मनमस्तिष्कबाट हिंसा हटाइ शान्तिलाई स्थान दिन सकेमात्र समाजमा शान्ति स्थापना हुन्छ। मानव मस्तिष्कमा यो वातावरण निर्माण गर्ने दायित्व राज्यको हुन्छ।

मानव अधिकारको सम्मानबाट शान्ति स्थापना हुन्छ र उल्लंघनबाट नै शान्ति खल्बलिन्छ भन्ने मूल मन्त्रलाई राज्यले आत्मसात गर्न सके समाजमा शान्ति स्थापना हुन्छ। अशान्त र विध्वंस भएको समाजलाई सबैको साथले उठाएर मानवीयताका साथ अगाडि बढेमा मात्र शान्त अनि नवीन नेपालको कल्पना गर्न सकिन्छ। 

लेखकः नेपाल महिला सामुदायिक सेवा केन्द्र रुकुम पूर्वका जिल्ला संयोजक हुन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!