१० दिनभित्र थप ‘स्वास्थ्य सामग्री’ नपाए न्यूर्योकको अवस्था अकल्पनीय हुन्छ: मेयर ब्लासिओ

अमेरिकाको न्यूर्योकमा कोरोना भाइरस अर्थात कोभिड–१९को संक्रमण थप खराब बन्ने चेतावनी शहरका मेयरले दिएका छन्।

 मेयर बिल डी ब्लासिओले अबको केही दिनभित्रै अत्यावश्यक मेडिकल इक्इप्मेन्ट (स्वास्थ्य सामग्री) को अभाव हुने र यसले शहरको अवस्था अकल्पनीय हुने जोखिम रहेको बताएका हुन्।

उनले भनेका छन्, ‘अब ठूलो अभाव सृजना हुन १० दिन मात्रै नजिक छ। हामीसँग १० दिनका लागि पुग्ने मात्रै स्वास्थ्य सामग्री छ, त्यसपछि ठूलो अभाव सिर्जना हुनेछ।’ उनले तत्काल थप भेन्टिलेटर प्राप्त नगरेमा मानिसहरु मर्ने बताएको बीबीसीले जनाएको छ।

न्यूर्योक राज्य अमेरिकामा कोरोना भाइरस संक्रमणको इपिसेन्टर बनेको छ। अमेरिकामा अहिलेसम्म ३२ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएकोमा झण्डै आधा न्यूर्योक राज्यमा छ। अमेरिकामा अहिलेसम्म चार सयजना भन्दा बढीको मृत्यु भएको छ।

न्यूर्योकमा शनिबारसम्म संक्रमितको संख्या चार हजार भन्दा बढी थियो, तर आइतबार यो संख्या बढेर १५ हजार १६८ भन्दा बढी पुगेको हो। विश्वमा संक्रिमत भएका मध्ये पाँच प्रतिशत न्यूर्योकमा छन्।

राष्ट्रपति डोनाल्ड ट्रम्पले मेजर डिजास्टरको घोषणा गरेका छन् राज्यका लागि र केन्द्र सरकारले अर्बौँ डलरको सहयोग प्रदान गर्ने भएको छ। तर केन्द्र सरकारले उपयुक्त सहयोग नगरेको भन्दै मेयर डी ब्लासिओले आलोचना गरेका छन्।

प्रकाशित मिति: : 2020-03-23 20:05:26

प्रतिकृया दिनुहोस्